जुम्लाको सिंजा गाउँपालिका-५ गोरा गाउँका स्याउ किसान रामसिंह रावलले यस वर्ष ८ लाख रुपैयाँ बराबरको स्याउ बेचे। उनको यसवर्ष स्याउ उत्पादन र बजारीकरण विगतका वर्षमा भन्दा उत्साहजनक भयो।
यो सिजनमात्र रावलले अहिलेसम्म झण्डै ७० सय कार्टुन स्याउ बिक्री गरेको बताए। अझै साढे ३ सय कार्टुन बिक्री हुन बाँकी छ। उनी जस्तै दर्जनौं स्याउ किसानले लाखौ रुपैयाँ आम्दानी गरिरहेका छन्।
कृषि कार्यालयमा ७ सय ९१ जना व्यापारीले स्याउ ढुवानी गर्न नाम दर्ता गरेका थिए। जुम्लाको चन्दननाथ नगरपालिका- ३ का स्याउ किसान रतन भण्डारीले पनि यो वर्ष पनि राम्रै आम्दानी गरे। उनले भने, 'खडेरीले गर्दा थोरै नोक्सान भयो। आफूले ४३ क्विन्टल झण्डै ३ लाखको आम्दानी गरेँ।'
जुम्लामा स्याउबाटै करिब १० लाखसम्म आम्दानी गर्ने किसान पनि छन्। जिल्ला कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा पाँच हजार आठ सय ६२ टन स्याउ निर्यात भएको छ। कार्यालयले वार्षिक समीक्षा कार्यक्रम राखेर स्याउ निर्यातको प्रतिवेदनसमेत सार्वजनिक गरेको हो।
कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को प्रगति र आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रमका विषयमा सार्वजनिकीकरण कार्यक्रम सम्पन्न गरेको हो। कार्यालयले ढुवानीबाट ५ हजार ५ सय ५० मेट्रिक टन, हवाई जहाजबाट २४ मेट्रिक टन, हाईस र जिपबाट २ सय ५८ मेट्रिक टन, बसबाट सिधैं काठमाडौं ३० टन स्याउ निर्यात भएको बताएको छ। यो तथ्यांक अनुसार स्याउबाट मात्रै ४३ दिनमा जुम्लाले ३८ करोड १० लाख ३० हजार आम्दानी गरेको छ।
जिल्ला कृषि विकास कार्यालयका वागवानी अधिकृत राज्यलक्ष्मी खत्रीका अनुसार यस वर्ष १५ हजार मेट्रिक टन स्याउ उत्पादन हुने लक्ष्य छ। केही स्याउ भने किसानले घरमै खाने तथा विभिन्न परिकार तयार गर्ने गरेका छन्। अग्लो स्थानको स्याउ, फुजी स्याउ र गोल्डेन निर्यात भइरहेको छ। अझ फुजी स्याउ तीन सय टन उत्पादन हुने अनुमान छ।
फस्टाउँदै साना व्यापारी:
जुम्लाको गुठिचौर गाउँपालिका-४ गोविन्दप्रसाद पाण्डे र मित्रप्रसाद अधिकारीले संयुक्तरुपमा ११ गाडी स्याउ विक्री गरेका छन्। ७ गाडी कैलाली टिकापुरमा र ४ गाडी सुर्खेतमा विक्री गरेका हुन्। एक गाडी स्याउको मूल्य करिब ८ देखि १० लाखसम्म पर्छ।
जुम्लाबाट ५० देखि ६५ रुपैयाँमा खरिद गरेको स्याउ ८० देखि १ सय १० रुपैयाँमा विक्री व्यापार गरेको पाण्डेले बताए। उनका अनुसार झण्डै एक करोड बढिको कारोबार गरिएको छ। यो पटक मात्रै उनले करिब ३५ लाख बढीको स्याउ बेचेको सुनाए।
यसवर्ष गुठिचौर-४ कै किसान मदनराज न्यौपानेको समेत ६ गाडी स्याउ बिक्री गरे। पाण्डेले ४ गाडी सुर्खेत र २ गाडी धनगढीमा लिएर बिक्री गरेका थिए। उनले पनि हरेक गाडीबाट ५ देखि ७ लाख आम्दानी गरेको बताए।
घरघरमा आम्दानी:
स्याउ सिजनमा सानो तिनो आम्दानी नभएको जुम्लामा घर कमै छन्। स्याउ रोपेका हरेक घरले यसबेला १० हजारदेखि १० लाख रुपैयाँसम्मको आम्दानी गर्ने गरेका छन्।
कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा जनगणना २०७८ अनुसार १ लाख १९ हजार ३ सय ७७ जनसंख्या छ। ३८ हजार ४ सय ८६ हेक्टर ख्यातियोग्य जमिनमा दुई हजार ६ सय ६७ हेक्टर स्याउ खेती छ।
कृषिले २०६४ सालमा एक घर एक बगैँचाको अवधारणा ल्याएपछि जग्गा हुने धेरैजसोकोका घरमा स्याउबाट आम्दानी हुने गरेको छ। यस्तै कृषि विकास कार्यालय जुम्लाले आर्थिक वर्ष २०८०-०८१ मा कृषक प्रोत्साहन कार्यक्रम १६ वटा, ११ मध्ये ६ वटा सम्झौता भई काम सकेको छ। व्यवसायिक फलफूल प्रवर्धन कार्यक्रम १८ वटा छन्।
कार्यालय प्रमुख वालाकराम देवकोटाका अनुसार, सिँचाइमा २६ वटा ४ हजार ८ सय मिटर आरसिसि क्यानल निर्माण, २२ वटा आरसीसी ट्यांकी निर्माण, १ सय १५ वटा हिउँदे बगैँचा काँटछाँट अभियान, ६ जना प्रांगारिक सिँचाइ गर्ने किसानलाई साना सिँचाई, ६ वटा समूहलाई सामग्री वितरण, तातोपानी गाउँपालिका-५ मा स्याउवालीमा कृषक पाठशाला स्थापना गरिएको छ। भने पातारासी-३ छुमचौरमा मार्सीधानको ब्लग स्थापना गरिएको छ।
कार्यालय प्रमुख देवकोटाका अनुसार उच्च घनत्वका स्याउका बिरुवा खरिद गर्न भने टेण्डर परेन। ५० प्रतिशत अनुदानमा २० लाख बजेटको उच्च घनत्व जातका स्याउका बिरुवा आयत गर्ने कार्यक्रममा २ पटक सूचना प्रकाशन गर्दा पनि टेण्डर नपरेपछि काम हुन सकेको छैन।
स्याउ कृषक रामसिंह रावलले कृषिमा अनुसन्धान शून्य भएकाले यसमा जोड दिनुपर्ने बताए। योजना छनौटमा ध्यान दिनुपर्नेमा जोड दिए। स्याउ किसान गोपाल रोकायाले किसानलाई आएका कार्यक्रमहरु फ्रिज नजाने गरि काम गर्न सुझाव दिए। स्थानीय तहले पनि कृषि क्षेत्रमा बजेट प्राथमिकता दिनुपर्ने किसान बताउँछन्।
प्रकाशित: १५ आश्विन २०८१ १५:५८ मंगलबार