१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

दुई सय वर्ष पुरानो रानीपौवाको धर्मशाला जीर्ण

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथमा दुई दशकअघिसम्म यातायात, होटल तथा लजको सुविधा थिएन।

तीर्थयात्रामा जाँदा खाने र बस्ने सामानसँगै लैजानुपर्दथ्यो। दिनभरि पैदलयात्रा गर्ने तीर्थयात्री साँझ–बिहान धर्मशालामा खाना पकाएर खाने र बस्ने गर्दथे। तत्कालीन राजा गिर्वाणयुद्ध विक्रम शाहले आफ्नी रानीको इच्छाअनुसार वि.सं. १८६३ मा मुक्तिनाथ मन्दिर नजिकै धर्मशाला बनाउन लगाएका थिए।

रानीको नामबाट धर्मशाला निर्माण भएकाले सो ठाउँ रानीपौवाको नामले परिचय बनाएको छ। राजा गिर्वाणयुद्धले म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका वसन्त बोगटीलाई मुक्तिनाथमा धर्मशाला निर्माणको जिम्मेवारी दिएका थिए।

बोगटीले पर्वतको कुश्मा नजिकैको छमर्केको जङ्गलबाट सालको काठ म्याग्दीको हिस्तान घराम्दीका भरिया लगाएर मुक्तिनाथ लगेको इतिहास छ। रानीपौवा निर्माण गर्ने जिम्मेवारी पूरा गरेबापत गिर्वाणयुद्धले वसन्त बोगटीलाई म्याग्दीको राखु पिप्लेमा तीन सय एक रोपनी जग्गा बक्सिस दिएका थिए।

सो जग्गामा तुलफूल लगाएर मुक्तिनाथ जाने आउने तीर्थयात्रीलाई खुवाउने र उत्पादित खाद्यान्न हरेक वर्षको जेष्ठी पूर्णिमाका गायत्री मन्दिरमा साधुसन्तलाई भोजन गराउने चलन अझै पनि छ। दुई सय १८ वर्षअघि ढुङ्गा, माटो र काठको प्रयोग गरेर निर्माण भएको दुईतले सो धर्मशालामा दैनिक पाँच सय जना बास बस्न सक्ने क्षमता रहेको हेरचाहकर्ता गोविन्द आचार्यले बताए।

‘होटलमा बस्न सक्ने क्षमता र इच्छा नभएका तीर्थयात्रीहरू अझै पनि धर्मशालामा बास बस्न आउनुहुन्छ’, उनले भने, ‘मर्मत अभावका कारण धर्मशालाको भवनमा पानी चुहिन थालेपछि समस्या भएको छ।’ बडादसैँ र चैतेदसैँको सोह्र श्राद्धको समयमा तीर्थयात्रीको धर्मशालामा भीड हुन्छ। अन्य समयमा साधुहरूले धर्मशालामा आश्रय लिन्छन्।

पानी धेरै पर्न थालेकाले माटोको छाना चुहिन थालेको र वि.सं. २०७२ को भूकम्पले पर्खाल चर्किएकाले धर्मशालाको भवन जीर्ण बनेको आचार्यले बताए। रानीपौवाको धर्मशालामा गत भदौसम्म प्रहरी चौकी पनि थियो। नयाँ भवन निर्माण भएपछि प्रहरी चौकीको कार्यालय धर्मशालाबाट सारिएको छ।

स्वामी कमलनयनाचार्यले संरक्षण गरेको धर्मशालामा निःशुल्क भोजन र आवास सुविधा छ। मुक्तिनाथ र दामोदरकुण्डका तीर्थयात्रीका लागि दाताबाट दाल, चामल, तरकारी सहयोग जुटाएर मुस्ताङको रानीपौवाको साथै यारा, कागबेनी, जोमसोम, म्याग्दीको गलेश्वर, बागलुङको कुडुले, पञ्चकोट, पोखराको रामघाट, नवलपुरको त्रिवेणी र काठमाडौँमा धर्मशाला सञ्चालन भएको छ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले रानीपौवाको धर्मशाला मर्मतका लागि सङ्घीय सरकारबाट चालु आर्थिक वर्ष २०८०/८१ मा रु ९० लाख बजेट प्राप्त भएको बतए। सो बजेटबाट धर्मशालाको ऐतिहासिक र मौलिकता ननासिने गरी मर्मतको काम गर्ने तयारी भएको उनले बताए। माटोको छानोमाथि जस्तापाता राख्ने र पानी चुहिनबाट बचाउने योजना रहेको अध्यक्ष गुरुङले बताए। रासस

प्रकाशित: १५ आश्विन २०८१ ०९:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App