१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मनसुनी कहर: काभ्रेमा बढी क्षति

असोज १० पछिको मनसुनी कहरमा ज्यान गुमाउनेको संख्या १९२ पुगेको छ। गृह मन्त्रालयले आइतबार साँझ जारी गरेको प्रेस विज्ञप्तिअनुसार ४२ जना सम्पर्कविहीन छन्। यस्तै १११ जना घाइते भएका छन्। सशस्त्र प्रहरी बलको तथ्यांकअनुसार मानवीय क्षति चार प्रदेशका २८ जिल्लामा भएको छ।

जिल्लागत रूपमा सबैभन्दा बढी मानवीय क्षति काभ्रेमा भएको छ। जहाँ २६ घरमा क्षति भएको छ र ३५ जनाको ज्यान गएको छ। काभ्रेमा १९ जना हराइरहेको र ४२ जना घाइते भएको जनाइएको छ। काभ्रे प्रहरीका अनुसार बाढीपहिरोबाट धुलिखेल, बनेपा, पनौती र नमोबुद्ध नगरपालिका, भुम्लु, रोसी र तेमाल गाउँपालिकामा मानवीय क्षति भएको छ। क्षतिको संख्या अझै बढी हुन सक्ने बताइएको छ। विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा क्षतिको पूर्ण विवरण आउन सकेको छैन।

काभ्रेपछि मानवीय क्षति ललितपुरमा बढी भएको छ। जहाँ २२ जनाको मृत्यु भएको र १४ जना हराइरहेको जनाइएको छ। ललितपुरमा १० जना घाइते उपचारपछि घर फर्किएको सशस्त्र प्रहरीले जनाएको छ। राजधानी काठमाडौंमा १७ जनाको ज्यान गएको, ६ जना हराइरहेको र १० जना घाइते भएका छन्। भक्तपुरमा पाँचजनाले ज्यान गुमाएका छन्।

धादिङको धुनिबेंसी–९ स्थित झ्याप्लेखोलामा तीनवटा बस पहिरोले पुर्दा ३५ जनाको मृत्यु भएको छ। त्यहाँ शनिबार रातिबाट थालिएको उद्धार आइतबार साँझ मात्रै सकिएको छ। ती बस बुटवल, गोरखा र नारायणघाटबाट काठमाडौं आउँदै थिए। धादिङमा खोलाले बगाएर दुईजनाको मृत्यु भएको छ भने दुईजना सम्पर्कविहीन छन्।

बागमती प्रदेशकै सिन्धुपाल्चोकमा नौजनाको मृत्यु भएको छ। त्यहाँ तीनजना सम्पर्कविहीन छन्। सिन्धुलीमा बाढीमा परी चारजनाको मृत्यु भएको छ। मकवानपुरमा पहिरोमा पुरिएर एन्फा एकेडेमीका ६ जना फुटबल खेलाडीसहित सात जनाले ज्यान गुमाएका छन्। दोलखामा पहिरोमा परी पाँचजनाको मृत्यु र दुईजना हराइरहेको सशस्त्र प्रहरीले जनाएको छ। यस्तै मनसुनी कहरमा नुवाकोट र रामेछापमा एक÷एक जनाको ज्यान गएको छ।

बागमतीपछि मानवीय क्षति धेरै हुनेमा कोसी प्रदेश छ। कोसीमा १७ जनाको ज्यान गएको छ भने आठजना सम्पर्कविहीन छन्। कोसीको पाँचथरमा पाँच, सोलुखुम्बुमा पाँच, धनकुटामा तीन, झापामा दुई, सुनसरी र उदयपुरमा एकएक जनाको मृत्यु भएको छ। पाँचथरमा पाँचजना सम्पर्कविहीन छन्। लुम्बिनी प्रदेशको रूपन्देहीमा दुईजनालाई बाढीले बगाएको छ। सशस्त्र प्रहरीका अनुसार पछिल्ला तीन दिनमा बाढीपहिरो र डुबानका कारण ३२२ घरमा पूर्ण रूपमा क्षति पुगेको छ। यस्तै बाढीपहिरोले १६ वटा पुल बगाएको छ।

‘चार हजारजनाको सकुशल उद्धार’

गृह मन्त्रालयले चार हजारजनाको सकुशल उद्धार गरिएको जनाएको छ। ‘गृह मन्त्रालय मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्छ,’ आइतबार साँझ जारी विज्ञप्तिमा लेखिएको छ, ‘खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार विपद् प्रभावितको उद्धार गरिएको छ।’

काभ्रे, सिन्धुली, ललितपुरलगायतका जिल्लाबाट आइतबार घाइते र अलपत्र १६२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ। घाइतेको निःशुल्क उपचारको भइरहेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १४ आश्विन २०८१ ०८:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App