६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

भवन बन्यो, बोरिङ छैन

चुरे क्षेत्रस्थित खानेपानी आयोजना स्थलमा उपभोक्ता समितिले ९ महिनामै बनाएको ६ कोठे कार्यालय भवन। तस्बिर : टंक/नागरिक

सर्लाही – जिल्लाको उत्तरी चुरे क्षेत्रस्थित अत्रौलीको खानेपानी आयोजनाअन्तर्गत ठेकेदारले डिप बोरिङ नगाड्दा स्थानीय उपभोक्ता चिन्तित बनेका छन्।

‘हामीले समितिका लागि ६ कोठे सानदार घर बनाइसक्यौं। तर, ठेकेदारले डिप बोरिङ नै गाडेका छैनन्,’ समितिका अध्यक्ष टमबहादुर घिसिङले गुनासो गरे, ‘म्याद सकिएको पनि ५ महिना भन्दा बढी भइसक्यो, खानेपानीको हाहाकार हुने ठाउँमा ठेकेदारले समयमै काम नगर्दा गाउँले चिन्तित भएका छन्।’

डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयबाट प्राप्त बजेटअनुसार उपभोक्ता समितिले ६ कोठे कार्यालय भवन गत पुसमै निर्माण गरेको सचिव बुद्धिमान बलले जानकारी दिए। ‘हामीले अहोरात्र खटिएर ९ महिनामै घर बनाइसक्यौं,’उनले भने, ‘तर, ठेकेदारलाई दिइएको डिप बोरिङ गाड्ने काम भने सुरु नै नभई म्यादसमेत सकिएको छ।’ खानेपानी कार्यालयबाट प्राप्त ५० लाख रुपैयाँबाट उपभोक्ता समितिले ६ कोठे एकतले पक्की घर निर्माण गरेको हो।

हरिवन नगरपालिका–१ अन्तर्गत पर्ने साबिक अत्रौली गाविस–२, ३ र ४ का ५६३ घरधुरीका लागि निर्माण सुरु भएको आयोजनाको कार्यालय भवन बने पनि डिप बोरिङ गाड्ने काम नै नभएपछि स्थानीय उपभोक्ता समस्यामा परेका छन्। ‘डिप बोरिङ गाडेपछि मात्र ओभरहेड ट्यांकी निर्माण सुरु हुन्छ’, अध्यक्ष घिसिङले भने, ‘बोरिङ गाड्ने काम समयमा हुन सकेन, ओभरहेड ट्यांकीको काम त झन् के होला र?’

हाल डाँडाकाँडाका विभिन्न ठाउँमा रसाएको पानी जम्मा पारेर दिनमा दुईपटक बिहान र बेलुकामात्र पानी भर्ने गरिएको सचिव बलले बताए। ‘अहिले त पानीको हाहाकार छ, यसो डाँडाकाँडामा रसाएको पानी परम्परागत विधिबाट जम्मा पारेर गाउँलेलाई भाँडामा थाप्ने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘थोरै पानी हुने भएकाले बिहान र बेलुकामात्र गाउँलेले पानी भर्न पाउँछन्।’

चुरे क्षेत्र भएकाले सर्वसाधारणले निजी स्यालो ट्युबेल गाड्न खोजे पनि पानी नआउने तथा नगरपालिकालगायत सरोकारवाला सरकारी कार्यालयबाट आएको बजेटले खनेको इनारसमेत सुकेको स्थानीयले गुनासो गरेका छन्। ‘डेढ वर्षअघि खानेपानी आयोजना प-यो रे भन्ने सुन्दा गाउँले निकै खुसी भएका थिए,’ अध्यक्ष घिसिङले भने, ‘समितिले पाएको काम पनि फटाफट सम्पन्न ग-यौं तर डिप बोरिङ नै गाड्ने काम सुरु नहुँदा गाउँले अहिले निराश भएका छन्।’

खानेपानी कार्यालयका प्रमुख जगन्नाथ पूर्वेले डिप बोरिङ गाड्ने ठेकेदारले बेइमानी गरेको बताए। ‘समयावधि सकिइसक्यो, जतिसुकै लिखित र मौखिक ताकेता गर्दा पनि ठेकेदार पक्षबाट काम नै सुरु भएन,’उनले भने, ‘अब बैंक ग्यारेन्टी जफतलगायत आवश्यक कार्बाही अगाडिबढाउने तरखरमा छौं।’ ११ वटा डिप बोरिङ गाड्ने टेन्डरमा विराटनगरको कम्पनीले लिएको ४ तथा काठमाडौंको कम्पनीले लिएको ३ वटा काम सकिने चरणमा रहेपनि सर्लाही निवासी गोमा विष्ट प्रतिनिधि रहेको कम्पनीले लिएको ४ वटा काम हुनै नसकेको खानेपानी प्रमुख पूर्वेले जानकारी दिए। ठेकेदारलाई ताकेताको चिट्ठी हुलाकबाट पठाउँदासमेत फिर्ता आउने गरेको उल्लेख गर्दै प्रमुख पूर्वे टेन्डर सकार गर्ने कम्पनीलाई कालोसूचीमा राख्नेलगायत कानुनी कार्बाही अगाडि बढाइने बताए।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले पनि ठेकेदार पक्षको लापारबाही देखिएकाले आवश्यक कार्बाही अगाडि बढाउन आफूले सम्बन्धित कार्यालयलाई निर्देशन दिएको जानकारी दिए। ‘गाउँलेले राम्रो घर बनाएका छन्’, उनले भने, ‘तर, ठेकेदार पक्षबाट साह्रै लापारबाही देखियो, आवश्यक कार्बाहीका लागि सम्बन्धित कार्यालयलाई भनिसकेको छु।’

प्रकाशित: २२ चैत्र २०७४ ०२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App