काठमाडौं – चालू आर्थिक वर्षको पछिल्लो चार महिनाभित्र बालबालिकाविरुद्धको घटनाहरू बढ्दै गएका छन्। केन्द्रीय बालकल्याण समितिको अध्ययनअनुसार गत चार महिनाको अवधिमा बालबालिकाविरुद्धका हिंसा दोब्बर बढेको हो।
समितिले प्रकाशन गरेको अध्ययन सर्वेक्षणमा गत मंसिरदेखि फागुनसम्मको चार महिनामा देशभर भएका घटना समेटिएको तथ्यांकमा अघिल्लो चौमासिक अवधिमा २ सय ११ बालबालिकाविरुद्ध हिंसाका घटना भएका थिए भने पछिल्लो चार महिनाको अवधिमा ४ सय ३ बालबालिकाविरुद्ध हिंसा भएका देखिएका छन्।
हिंसाहरुमध्ये पहिलोमा बालश्रम रहेको छ। चार महिनाको अवधिमा १ सय ४० बालबालिकामाथि बालश्रम शोषण भएको छ भने ७८ जनामा यौनदुव्र्यवहार तथा बलात्कारका घटना भएका छन्। त्यस्तै, कुपोषण, शारीरिक तथा मानसिक सजाय, अपरहणलगयातका घटना पनि भएका छन्।
बालश्रम ऐन २०५६ ले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन बन्देज गरेको छ भने १४ वर्षमुनिका बालबालिकालाई श्रमिकका रुपमा राख्न नपाइने व्यवस्था छ। कानुनमा यस्तो व्यवस्था भए पनि बालबालिकालाई जोखिमपूर्ण काममा लगाइने प्रवृत्तिमा कमी आउन सकेको भने छैन।
गत फागुनमा मात्र ९६ बालबालिकालाई बालश्रमिकका रुपमा काम गराइएको पाइएको थियो। माघमा भने ३० जनालाई बालश्रमिकका रुपमा काम गराइएको पाइएको छ। घरेलु तथा होटेलका श्रमिक, इँटाभट्टामा काम गर्ने बालबालिकाले पढाइ खर्च जुटाउनका लागि बालबालिकाले काम गरेको पाइएको छ।
बालश्रमिकमध्ये घरेलु तथा होटेल श्रमिमका रुपमा सबैभन्दा बढी ४३ प्रतिशत, इँट्टाउद्योगमा २६ प्रतिशत र पढाइ खर्च जुटाउन ३१ प्रतिशत बालबालिका श्रमिक बनेको पाइएको छ।
यस अवधिमा काठमाडौंमा पढाइदिन्छु भनी घरेलु कामदार बनाइएको बालबालिका बझाङ जिल्लाका अत्यधिक रहेको पाइएको छ समितिको अध्ययनले देखाएको छ। यसैगरी, बाँके जिल्ला बालकल्याण समितिको समन्वयमा पढाई खर्च जुटाउन काम गरिरहेका १६ बालक र ४ बालिकालाई उद्धार गरिएको पनि जनाइएको छ।
पछिल्लो चार महिनामा बलात्कार तथा यौनदुव्र्यवहारजन्य घटना पनि उल्लेख्य रुपमा बढेको छ। जसअनुसार ७८ बालबालिका बलात्कार तथा यौनदुव्र्यवहारको सिकार भए। जसमा ७४ बालिका र ४ बालक छन् । पीडित हुनेहरूमा सबैभन्दा बढी १५ वर्षमुनिका ६२ प्रतिशत र १० वर्षमुनिका ३१ प्रतिशत र १६ देखि १८ वर्षमुनिका ७ प्रतिशत बालबालिका छन्।
त्यसै गरी यसै अवधिमा ७८ बालबालिका मृत्युजन्य घटनामा परेका छन्। तीमध्ये पानीमा डुबेर र सडक दुर्घटनामा ६८ जना बालबालिकाको मृत्यु भएको छ भने ६ बालिकाको बलात्कारपछि हत्याबाट भएको हो । यसैगरी १० नवजात शिशुको हत्या अवैध सम्बन्धबाट जन्मेको कारण भएको समितिको विश्लेषण छ।
यो अवधिमा ३५ जना बालबालिकाको बेचबिखनको घटना परेका छन्। ती मध्येमा २४ बालिका र ९ बालकलाई चिनजानको व्यक्तिबाट भारततर्फ बेचबिखन गर्न लैजाँदा प्रहरीले पक्राउ गरेको हो। यी सँगै बालबालिकामाथि विभिन्न किसिमका यातना तथा सजायका घटना पनि बढिरहेको समितिले जनाएको छ।
बालबालिकामाथि भएका हिंसामध्ये पछिल्लो अवधिमा बलात्कारको घटना उल्लेख्य रहेको केन्द्रीय बालकल्याण समितिका अध्यक्ष तारक धितालले बताए। यो हिंसासहित सबै हिंसा बढ्नुमा उजुरी गर्ने चलन बढ्नु र हिंसा भइराख्नु दुवै कारण रहेको अध्यक्ष धितालले बताए। यसको कारणका बारेमा समाजशास्त्रीय, मनोचिकित्सकीय दृष्टिकोणबाट अध्ययन हुनुपर्ने उनले बताए। ‘बालबालिकालाई सम्भावित जोखिमबाट बचाउन परिवार, अविभावक, बालबालिका स्वयं र समाज सचेत हुन आवश्यक छ,’ धितालले बताए, ‘अविभावक, बालबालिका र समाज सबैलाई सचेतना गराउनुपर्ने देखिन्छ।’ हिंसा घटाउनको लागि सुरक्षा निकायले पनि विशेष भूमिका निर्वाह गर्नुपर्ने धितालले सुझाए।
प्रकाशित: २२ चैत्र २०७४ ०२:२८ बिहीबार