१६ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा

नुवाकोटकी सीतामायाको उमेरले ९० काटिसक्यो। यो डाँडामाथिको जूनजस्तै ९० वर्षको उमेरमा सीता मायाको वरिपरि छोराछोरी, नातिनातिना हुुनुपर्ने हो। तर आफैँले जन्माएको छोराले आफूलाई वृद्धाश्रममा छोडेर अमेरिकामा रमाइरहेका छन्। “बुढाको पहिले नै स्वर्गवास भयो, सन्तानका नाममा त्यही एउटा छोरो थियो, त्यही छोराले बुढेसकालमा पाल्ला त नि भनेको उसले पनि मलाई यहाँ आश्रममा छोडेर आफ्नो श्रीमती र छोरो लिएर अमेरिका गाको छ रे”, लौरोको सहारा लिइरहेकी सीतामायाले भनिन्।

सीतामाया वृद्धाश्रममा बस्न थालेको पनि पाँच वर्ष भयो। यसबीचमा आफूलाई वृद्धाश्रममा छोडेर गएपछि एकपटक पनि फर्केर आएनन् सीतामायाका छोरा। छोराले बुहारी र आफ्नो छोरो लिएर अमेरिका गएको कुरा सीतामायाले आफूलाई वृद्धाश्रममा भेट्न आएका गाउँलेको मुखबाट सुनेकी थिइन्।

कुन आमाको चाहना हुँदैन र जिन्दगीको उत्तरार्द्ध डाँडामाथिको जूनजस्तै भएको बेला सन्तान साथमै नहोस्। आफ्नो ज्यान आफैंलाई भारी भएर घुडाँले बुढो शरीर धान्न नसकेको बेला घर, परिवार, छोराछोरी, नातिनातिना आफन्तको साहरा होस्। तर, उनले अहिले वृद्धाश्रममा मृत्यु पर्खेर बसेजस्तै भएको छ।

सीतामायाको मात्रै होइन, अहिले वृद्धाश्रममा बस्दै आएकी ७८ वर्षीया चन्द्राकुमारीको पनि एउटा छोरा अष्ट्रेलियामा बस्छन्। सिन्धुली घर बताउने चन्द्राकुमारीको अर्को छोरा आफ्नो परिवारसहित भारतमा बस्छन्। चन्द्राकुमारीको श्रीमानकाे मृत्युपछि आमालाई कसले पाल्ने भन्नेबारे दुई भाइ बीचमा किचलो सुरु भयो।

उनी भन्छिन्, “बुढा बितेपछि सम्पत्तिका लागि दुई भाइ झगडा गर्न थाले, भएको सबै सम्पत्ति आआफ्नो नाममा गरेर एउटा अष्ट्रेलिया गयो, अर्को पनि आफ्ना केटाकेटी लिएर भारततिर गयो, त्यसपछि म बूढीको सहारा कोही नभएपछि गाउँलेकै साथ लाएर वृद्धाश्रममा आएर बसेकी छु।”

चन्द्राकुमारीलाई कहिलेकाहीँ विरक्त लाग्छ। सन्तान हुनुभन्दा बरु नभएको भए हुन्थ्यो जस्तो लाग्छ। कहिलेकाहीँ उनी आफ्ना विगत सम्झेर रुने गर्छिन्। वृद्धाश्रममा आफूजस्तै अरूहरूकाे पनि अवस्था देख्दा चित्त बुझाउँछिन्।

संसार यस्तै हो, आफ्नो भाग्य जस्तो छ, त्यस्तै भोग्ने हो भनेर चित्त बुझाउँछिन् उनी। ‘म यता आएर बसेपछि बहिनीको छोराले मैले पाल्छु भन्दै लिन आएको पनि थियो, म गइन, जब आफैंले नौनौ महिना कोखमा राखेर, जन्माएर, हुर्काएर, पोलनपोषण गरेका आफ्ना छोराले त हेरेनन् भने बहिनीको छोराले म पाल्छु भनेर मात्रै भएन, मलाई पाल्न मसँग पैसा, सम्पति केही पनि छैन, यसलाई पनि किन दुःख दिने भनेर गइन’, चन्दाकुमारीले सुनाइन्। सन्तान भएर पनि बुढेसकालमा एक्लो जिन्दगी जिउनु पर्दा साह्रै विरक्त लाग्छ चन्द्राकुमारी जस्ता थुप्रै आमाहरूलाई।  

मानव सेवा आश्रममा आश्रय लिइरहकी ९० वर्षिया लक्ष्मी भट्टको पनि सीतामाया र चन्दाकुमारीको जस्तै मनभरि पीडा छन्। बाबुको मृत्युपछि दुई  छोराले भएको सबै सम्पत्ति कुम्ल्याए र आमालाई सडकमा बेवारिसे छाडे। बुढेसकालमा आफ्नै छोराहरूको आखाँको कसिङ्गर भएपछि उनी आश्रमको आड लागेको पनि वर्ष दिन भयो। अहिलेसम्म न छोरा न त कोही आफन्त नै खोजी गर्न आए। बुढेसकालमा पाल्ने एक मात्र छोराले सडकमै छाडेपछि टोखास्थित पवित्र समाज सेवा नेपालमा आश्रित हुनुपरेको छ ६० वर्षीया सुन्तली आमालाई। उनको पीडा पनि आश्रममा रहेका अन्य वृद्धाको भन्दा फरक छैन।

पछिल्लो समयमा बुढा भएका आफ्ना बाबुआमालाई बेवारिसे वा वृद्धाश्रममा लगेर छोड्ने र आफू विदेश पलायन हुने संस्कार बढ्दै गएको छ। धेरै आमा सन्तान भएर पनि निभ्ने बेलाको जिन्दगीलाई वृद्धाश्रमको सहारामा जवरजस्त धकेलिरहेका छन्। सन्तान भएर पनि वृद्धाश्रमको आड लिनुपर्ने बाउ (बाबु) हरू पनि उत्तिकै छन्। पशुपति वृद्धाश्रमलगायत देशका विभिन्न स्थानमा आश्रय लिने अधिकांश वृद्धवृद्धाको सन्तान छन्, तर हेर्दैनन्।

एकातिर सन्तान भएर पनि आश्रममा आश्रित जीवन बाँच्नु पर्दाको पीडा छ भने अर्कातिर शारीरिक अस्वस्थता, मानसिक तथा मनोवैज्ञानिक पीडा, एक्लोपना उदासिनता र हिनताबोधको पीडा। वृद्धाश्रममा बस्ने अधिकाश वृद्धवृद्धामध्ये धेरैका छोराबुहारी अमेरिका, अष्टेलिया, बेलायत लगायतका मुलुकमा डाक्टर, इन्जिनियर छन्। कतिपय राजनीतिक दलका नेता तथा व्यापारी समेत छन्। तर पनि आफ्ना आमाबाबुलाई वृद्धाश्रममा लगेर थन्काएका छन्।

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदनदास श्रेष्ठले सम्पत्तिका कारण वृद्धवृद्धाहरू बुढेसकालमा आफ्ना सन्तानबाट एक्लिनुपरेको बताउँछन्।  नयाँ पुस्तामा देखिएको व्यक्तिवादी सोचसँगै मौलाएको एकल परिवार (श्रीमान, श्रीमती, छोराछोरी) को संरचनाभित्र जन्म दिने बाबुआमा नअटाएको देखिन्छ। ज्येष्ठ नागरिक अधिकारकर्मी सीताराम ढकाल सम्पत्ति खाने छोराछोरीले नै आफ्ना बाबुआमालाई पाल्नुपर्ने बाध्यकारी ऐनकानून बनाएर व्यावहारिक रूपमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने तर्क गर्छन्।

ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ मा यातायात र स्वास्थ्य उपचारमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने भनिए पनि त्यसको अहिलेसम्म पनि पूर्ण कार्यान्वयन हुन सकेको छैन। ज्येष्ठ नागरिक, दलित, महिला, लोपोन्मुख जाति, आदिवासी जनजाति, कर्णालीवासी र एकल महिलाले ६० वर्ष र अन्य ज्येष्ठ नागरिकले ६५ वर्ष पुगेपछि सामाजिक सुरक्षाभत्ता पाउने भनिए पनि नागरिकता नभएका कारण वृद्धाश्रमको आश्रय लिने ज्येष्ठ नागरिक त्यसबाट वञ्चित हुँदै आएका छन्।

सर्वोच्च अदालतको २०६७ चैत २४ गतेको फैसलालले ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा भाडामा ५० प्रतिशत छुट दिन, सरकारी अस्पतालमा निःशुल्क र निजी अस्पतालमा ५० प्रतिशत छुटलाई कार्यान्वयन गर्न सरकारको नाममा आदेश जारी गरेको थियो। तर त्यसको अहिलेसम्म पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।

२०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसङ्ख्या (६० वर्ष पुगेका) २५ लाख अर्थात कुल जनसङ्ख्याको ८.१३ प्रतिशत छ। हाल विश्वमा ६० वर्ष नाघेका ज्येष्ठ नागरिक करिव ८० करोड छन्। यो सङ्ख्या सन् २०५० सम्ममा २ अर्ब (दुई अर्ब) नाग्ने अनुमान गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रलयका अनुसार हाल  करिब ८० वटा वृद्धाश्रम सञ्चालनमा छन्।

पछिल्लो समयमा संयुक्तभन्दा पनि एकल परिवारको संस्कृति झन्-झन् मौलाइरहेको सन्दर्भमा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनी संविधानमा उल्लेख अधिकारका आधारमा जति सक्दो चाँडो ऐनकानून निर्माण गरी कार्यान्वयन गर्न आवश्यक देखिन्छ।

नेपालको संविधान (धारा ४१) मा “ज्येष्ठ नागरिकको मौलिक हकमा ज्येष्ठ  नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ” भनिएको छ।

त्यसैगरी राज्यका नीतिहरू (धारा ५१, (ञ) “सामाजिक न्याय र समावेशीकरणसम्बन्धी नीति” (१२) मा सामाजिक सुरक्षा र सामाजिक न्याय प्रदान गर्दा सबै लिङ्ग, क्षेत्र र समुदायभित्रका आर्थिक रूपले विपन्नलाई प्राथमिकता प्रदान गर्ने भनिएको छ।

ज्येष्ठ नागरिकले विगत लामो समयदेखि स्वास्थ्य उपचार, यातायात भाडामा छूटको व्यवस्था र सिटको व्यवस्थालगायतका माग गर्दै आएका छन्। बजार भाउ र महँगीलाई मध्यनजर राखेर ज्येष्ठ नागरिकले पाउँदै भएको वृद्धाभत्ता कम्तीमा पाँच हजार रुपैयाँ पुरयाउनुपर्ने ज्येष्ठ नागरिक महासङ्घको माग छ।

२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले एक सय रुपैयाँबाट सुरु गरेको वृद्धाभत्ता स्वास्थ्य उपचार खर्चसहित अहिले दुई हजार रुपैयाँ पुगेको छ। ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिँदै आए पनि ज्येष्ठ नागरिकहरूले ६० वर्षदेखि नै दिनुपर्ने माग समेत गरेका छन्।

पैतृक सम्पत्तिमा छोराछोरीको हकदाबी नलाग्ने, आमाबाबु जीवित रहुञ्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बाबुआमाका विरुद्धमा कुनै बहानामा उजरी गर्न नपाइने विषयलाई कानूनमा कडाइका साथ उल्लेख गर्नुपर्ने देखिन्छ। कानुनी आधारमा मात्र नभई छोराछोरीलाई आफ्ना बाबुआमाप्रति उत्तरदायी बनाउन सकिएमा यो समस्या धेरै हदसम्म कम गर्न सकिन्छ।

प्रकाशित: ११ आश्विन २०८१ १३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App