७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

देशभरका निकुञ्ज र आरक्षणलाई प्लाष्टिक मुक्त बनाइने

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको राप्ती नदी तटीय सरसफाइ अभियानले देशभरका निकुञ्ज, आरक्षण र संरक्षित क्षेत्रमा प्लाष्टिक जन्य फोहोर न्यूनीकरणका लागि सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ।

संरक्षित क्षेत्रमा प्लाष्टिक मुक्त क्षेत्र बनाउने उद्देश्यका साथ चितवनबाट सचेतना कार्यक्रमको शुभारम्भ गरिएको राप्ती नदी तटीय सरसफाइ अभियानका संयोजक अपिल घिमिरेले जानकारी दिए।

उनका अनुसार, सन् २०२५ भित्र देशभरका राष्ट्रिय निकुञ्ज र आरक्षण गरी २० वटा संरक्षित क्षेत्रमा यो अभियान सञ्चालन गरिने छ। यस अभियानमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको प्रत्यक्ष सहभागिता रहने घिमिरेले जानकारी दिए।

‘अहिले वन, नदी, खोला र सिमसार क्षेत्रहरुमा प्लाष्टिक र सिसा जन्य फोहोरहरूका कारण हाम्रो वातावरण बिग्रँदै गएको छ’ घिमिरेले भने, ‘यस्ता फोहोर न्यूनीकरण गर्न हामीले निकुञ्ज विभागसँग मिलेर संरक्षित क्षेत्रका जनतालाई जनचेतना जगाउँदै छौं।’

नेपाली सेना, मध्यवर्ती उपभोक्ता समिति, विद्यार्थी, आमा समूहलाई सरसफाइ कार्यमा समावेश गर्ने उनले बताए। पहिलो चरणमा संरक्षित क्षेत्रका लागि समूह गठन गर्ने र त्यसले निरन्तर सरसफाइ गर्ने उनको भनाई छ। बर्दिया राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, शिवपुरी नार्गजुन निकुञ्ज क्षेत्रमा प्लाष्टिक अत्यधिक रहेको छ। यी क्षेत्रमा प्लाष्टिक मुक्त क्षेत्र बनाउने योजना रहेको उनले बताए।

चितवनमा राप्ती नदी तटीय सरसफाइ अभियान २०७२ सालमा गठन भएको थियो। यस कार्यमा हालसम्म १० हजार जना स्वयंसेवक खटिएका छन्। अहिले राप्ती तटीय क्षेत्रमा प्लाष्टिक कम हुँदै गएको उनले बताए। सरसफाइको क्रममा गैँडाको दिसामा प्लाष्टिक र घडियाल गोही तियारी जालोमा समेत फेला परेका थिए। त्यस्तै, सिकाले गैँडाको बच्चाका खुट्टा काटेका घट्नाहरु प्रशस्त रहेको संयोजक घिमिरेले जानकारी दिए।

प्लाष्टिक जन्य फोहोर न्यूनीकरणका लागि सचेतना कार्यक्रमको शुभारम्भ गर्दै चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डिलबहादुर पुर्जा पुनमगरले यस अभियानलाई निकुञ्ज विभागको तर्फबाट सहयोग गर्न तयार रहेको बताए।

उनले यस अभियानलाई विभागले सकारात्मक रुपमा लिएकाले देशभरका निकुञ्ज र आरक्षणका कार्यालयमा पत्रचार समेत भइसहेको जानकारी दिए। ‘संरक्षणमा सरकार मात्र लागेर हुँदैन, स्थानीय पनि लाग्नुपर्छ’ उनले भने ‘प्लाष्टिक मुक्त फोहोरको न्यूनीकरणमा हाम्रो साथ र समर्थन सधैँ रहन्छ।’

यस अभियानले नेपालका सबै राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र तथा मध्यवर्ती क्षेत्रका वन, नदी र सिमसार क्षेत्रहरुमा प्लाष्टिकजन्य फोहोरका असर र नियन्त्रणका बारे सबै समुदायमा सचेतना फैलाउने विश्वास लिएको बताए। अहिले निकुञ्जहरुमा प्लाष्टिको प्रयोग बढिरहेको बताउँदै उनले वन्यजन्तु र मानिसलाई समेत असर पारेको बताए।

प्रकाशित: ७ आश्विन २०८१ १९:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App