७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार: पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार भएको बताएका छन्।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले १० वर्षसम्म आधारभूत कानून नबनाउने अनि संविधान संशोधन हुनु हुँदैन भन्नेकुरा गलत भएको तर्क गरे।

संविधान जतिसुकै राम्रो भयो भएपनि कार्यान्वयन नभए अर्थ नहुने उनले धारणा राखे।

"संविधान जतिसुकै राम्रो भयो भने पनि संविधान कार्यान्वयन भएन भने त्यो राम्रोको अर्थ हुँदैन। कार्यान्वयनको चरणमा जहाँसम्म प्रश्न छ, सबैजसो वक्ता मान्यहरुले के भन्नुभयो भने यो कार्यान्वयन भएकै छैन, अल्पकार्यान्वयन भएको छ। कार्यान्वयन नै नभईकन के समीक्षा गर्ने ? भन्ने दृष्टिकोण एउटा हो।" उनले भने।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संघीयताको कार्यान्वयन, क्षत-विक्षत हुन्छ भने वा यसको आधारभूत उद्देश्य हासिल हुनमा नै व्यवधानकारी हुन्छ भने कार्यान्वयन नहुनु आफैँमा पनि संविधान पुनरावलोकनको एउटा आधार भएको उल्लेख गरे।

उनले संविधान कार्यान्वयन गर्ने माहोल खडा गर्नका लागि यसका समस्याको पहिचान जरुरी रहेको औँल्याए।

प्रकाशित: ७ आश्विन २०८१ २०:३९ सोमबार