३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

धराप बन्यो लुमको काठे पुल

जुम्लाको सदरमुकाम खलंगादेखि पातारासी गाउँपालिका– २ तल्फीगाउँतिर जाँदै गरेको मोटरसाइकल बुधबार चिप्लिएर लुमस्थित काठको पुलबाट खस्दा हरिकृष्ण बुढा बेपत्ता भए । उनको खोजी कार्य जारी छ। बिहानै क १ प १८२० नम्बरको मोटरसाइकल काठको पुलबाट जवा नदीमा खसेको थियो। नदीमा बाढी आएकाले खोजी कार्यमा समस्या आएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

काठको पुलबाट मोटरसाइकल खसेर मान्छे बेपत्ता भएको यो पहिलो घटना हो। पुलबाट खस्ने र नदीबाट निस्केर बाँच्नेहरू धेरै भइसके। यो संख्या अझ बढ्नेवाला छ किनभने तत्काल पुल बन्ने सम्भावना छैन। आफ्नै आँखैअगाडि चारभन्दा बढी दुर्घटना देखेका पातारासी गाउँपालिका– ४ का कमानसिंह नेपाली पुलमा सवारीसाधन आइरहेको हेर्न चाहँदैनन्।

सवारी साधन आउजाउ गर्दा पुल हल्लिन्छ। फड्केहरू च्यातिन्छन्। अधिकांश सवारी साधनका टायर प्वालमा पस्दा उकास्न कठिन हुने गरेको छ। उनी भन्छन्, ‘यो काठको पुल होइन, धराप हो। पातारासीका बासिन्दाका लागि बनाइएको धराप हो । हामीले कुनै दिन ठूलै दुर्घटनाको सामना गर्नुपर्ने हो कि भन्ने चिन्ता छ।’

पुलमा बारसमेत छैन। अचम्म त के छ भने छेउतिर बनाइनुपर्ने ब्रेकरहरू बीचमा बनाइएको छ, जसले तीव्र गतिमा आएका सवारी साधन ब्रेकरमा ठोक्किएर दुर्घटनामा पर्छन्। उनका अनुसार लुमको यो काठेपुल हरेक वर्ष फेरिन्छ। 

एकै वर्षमा काठ काम नलाग्ने भइसक्छ। कमान सिंहका अनुसार पुलनजिकै हरेक वर्ष पहिरो आउनु र माथितिरबाट सधैंभरि भेल आइरहनुले सधैंजसो त्रासैत्रासको यात्रा गर्न विवश गराउँछ। 

पर्यटक यही पुल हुँदै पातारासी हिमालको आधार शिविर जान्छन्। संसारकै अग्लो स्थानमा फल्ने कालीमार्सीका फाँट अवलोकन गर्नेहरू पनि यही पुल भएर जाने गर्छन्। शंकर झरनाको मनोरम दृश्य नियाल्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरूले पनि यही पुलबाट आउजाउ गर्नुपर्छ।

उनीहरू जिप, बस र बाइकहरू लैजाने गर्छन्। कतिपय पर्यटक त सवारी साधनबाट बाहिर निस्केर हिँडिरहेका हुन्छन्। किनकि लोडगाडीले जतिबेला पनि पुल भाँचिने खतरा छ।

अहिलेसम्म तीनवटा ठूला दुर्घटना भइसकेका छन्। पहिलेका दुई घटनामा सबै मानिस सकुशल निस्किए, तर यसपटक निस्कन सकेनन्, बेपत्ता भए। यसपटक न मान्छेको उद्धार हुन सक्यो, न त शव नै भेटियो। स्थानीय छविराज खड्काले भने, ‘धेरै मन्त्री, सांसदहरूदेखि जिल्लाका सरकारी अधिकारीसमेत यही पुल भएर यात्रा गरिहन्छन्। पक्की पुल बनाउनुपर्ने माग पनि स्थानीयले राखिरहन्छन्। फूलमाला लगाइरहँदासम्म उनीहरूले पुल बनाउने प्रतिबद्धता जनाइरहेका हुन्छन्।’

मन्त्री तथा सांसदले यहाँ आउँदा पुल बनाउने आश्वासन दिने मात्र गरेको खड्काले बताए। उनले भने, ‘जब गाउँ छाड्छन् तब मन्त्री र सांसदको प्राथमिकतामा यो पुल पर्दैन। जनताको सास्ती जस्ताको तस्तै। सरकारले चासो नदिँदा जोखिममा यात्रा गर्नु परिरहेको छ।

’हरेक निर्वाचनमा लुममा पक्की पुल बनाउने दलका उम्मेदवारहरूको घोषणापत्र सार्वजनिक हुन्छ। स्थानीयहरू पनि पुल जसले बनाइने प्रतिबद्धता जनाएको हुन्छ, उसलाई मतदान गर्ने गरिरहेका छन्। अहिलेसम्म यही पुल बनाउने भनेकै कारण मत खसालेको छविराजको अनुभव छ। उनले भने, ‘न पुल बन्ने अहिलेसम्म बजेट नै आयो। न त जिताएका प्रतिनिधि नै फर्किए। यो विडम्बना हरेक चुनावमा स्थानीयले खेप्नु परिरहेको छ।

यता पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोरा वर्षौंदेखि पक्की पुलको माग भइरहे पनि बजेट नपरेका कारण पुल बनाउन नसकिएको बताउँछन्। उनले भने, ‘भेट्दा पुल बनाउन बजेट हालिदिने भन्छन्, छुट्दा बिर्सन्छन्। यो धेरै वर्षदेखिको रोग हो।’ स्थानीय सरकारले पक्की पुल बनाउन बजेट व्यवस्थापन गर्न नसक्दा पातारासीका जनता यो दीर्घ रोगबाट मुक्त हुन सकेका छैनन्।

प्रकाशित: १४ भाद्र २०८१ ०७:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App