२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पर्वमा परिवार खोजिरहेका आँखाहरुसँग तीज

काठमाडौ‌को मीनभवनमा रहेको निःसहाय सेवा सदनमा तीजको गीत बज्न थालेपछि त्यहाँ रहेका ज्येष्ठ नागरिकहरु कोही फुरफुर गर्न र कोही टोल्हाउन थाले।

सधैँ जस्तै बिहानको खाना खाने समय उनीहरुका लागि अन्य दिनभन्दा फरक रहेको थियो जहाँ हालै मात्र हरितालिका तीज पर्वलाई ध्यानमा राखेर सार्वजनिक गरिएको ‘यसपालिको तीज रमाइलो’गीत बजिरहेको थियो।

गीतकार निर्मलराज पौडेलले यसपटकको तीजलाई भिन्न ढङ्गले मनाउने सन्दर्भमा बुधबार उक्त सेवा सदनका ज्येष्ठ नागरिकहरुसँग तीज मनाउन पुगेका थिए। 

त्यस अवसरमा पौडेलले ज्येष्ठ नागरिकलाई आफू र गायिका शान्तिश्री परियारको स्वरबद्ध तीज गीत सुनाउँदै दरमा सामेल भएका थिए। ‘चेलीबेटी ज्यान माया माइतमै हाँसेर, तीज आयो ज्यान माया छमछमी नाचेर’ बोलको गीत सुनेर ज्येष्ठ नागरिकहरुको मुहारमा खुसी छचल्किएको थियो।

त्यस अवसरमा काठमाडौ‌ महानगर–३१ का वडाध्यक्ष सरोज ढकालले पनि ज्येष्ठ नागरिकहरुका लागि वडाले सक्दो सहयोग गरिरहेको बताए। उनले भने, ‘निःसहाय सेवा सदनले ज्येष्ठ नागरिकहरुलाई आफ्ना परिवारको अभाव हुन दिइरहेको छैन, यो ज्यादै खुसीको कुरा हो र यहाँको व्यवस्थापन निकै लोभलाग्दो छ।’

सेवा सदनका सह–प्रशासकीय अधिकृत योगेश अधिकारीका अनुसार सदनमा ६५ देखि १०० वर्षसम्मका ३९ जना ज्येष्ठ नागरिकहरु रहेका छन्। अधिकारीले भने, ‘यो अवस्थामा उहाँहरुलाई सबैभन्दा खड्किने कुरा भनेकै परिवार रहेछ। हामीले सक्दो गरिरहेका हुन्छौँ तर पनि नौलो मान्छे र केटाकेटी देख्नेबित्तिकै टोल्हाउने, झ्यामिने गर्नुहुन्छ। आँखाबाट बरर आँसु झार्नुहुन्छ।’

गीतकार पौडेलको शब्द र चर्चित गायिका शान्तीश्री परियार र सङ्गीतकार मोहित मुनालको सृजनामा ‘यसपालिको तीज रमाइलो’ नामक गीत केही समयअघि सार्वजनिक भएको थियो।-रासस

प्रकाशित: १२ भाद्र २०८१ १३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App