३ वैशाख २०८३ बिहीबार
image/svg+xml
समाज

उदयपुरमा सालकको खपेटासहित ३ जना पक्राउ

प्रहरीले लोपोन्मुख वन्यजन्तु सालकको खपेटासहित ३ जनालाई पक्राउ गरेको छ। जिल्लाको बेलका नगरपालिका ३ रामपुरको गिदेरी खोला बगरबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बेलका ३ का ४८ वर्षीय कृष्णराज मगर, बेलका ६ का ५६ वर्षीय डिकबहाुदर पर्वछाने मगर र स्पष्ट ठेगाना नखुलेका सप्तरीका ५५ वर्षीय उमेशप्रसाद चौधरी रहेको प्रहरीले जनाएको छ। बा ८२ प ८८०५ र को ११ प ७६२१ नं. को २ वटा मोटरसाईकल सहित प्रहरीले उनीहरुको साथबाट ३ किलो ७ सय १२ ग्राम सालकको खपेटा बरामद गरेको छ।

अघिल्लो दिन मोरङको कानेपोखरी गाउँपालिका ७ बाट पक्राउ परेका २ जनाको बयानका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

शनिबार दिउँसो बेलबारीबाट पथरीतर्फ प्रदेश १–०२–०५२ प ११६७ नं. को मोटरसाईकल कानेपोखरीमा चेकजाँच गर्ने क्रममा चालक रंगेली नगरपालिका १ का ४५ वर्षीय गगनकुमार गच्छेदार र पछाडि सवार सप्तरी कन्चनपुरका ३५ वर्षीय बासुदेव सरदार पक्राउ परेका थिए।

उनीहरुको साथबाट झोलाभित्र लुकाई छिपाई लाँदै गरेको ८ सय ५० ग्राम सालकको खपेटा बरामद भएको थियो। उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा संलग्नता देखिएपछि मगरद्वय र चौधरी पक्राउ परेका हुन्।

पक्राउ सबैलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी एसएसपी भीम दाहालले बताएका छन्। 

प्रकाशित: ४ भाद्र २०८१ ११:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App