७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

कान्ति तालका दुर्लभ चराको वासस्थान सङ्कटमा

नेपालगन्जमा रहेको कान्ति तालमा रमाइरहेका चराहरू । तस्बिर सौजन्य :अमित रावल <br>

नेपालगन्जको ‘प्राकृतिक सिमसार’ कान्ति तालको अस्तित्व नै मेटिने गरी मोटर बोट सञ्चालनको तयारीले दुर्लभ चराको वासस्थान सङ्कटमा परेको छ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ र २२ अन्तर्गत २५ बिघा क्षेत्रफलमा फैलिएको उक्त तालमा ठेकेदारले मोटर बोट चलाउने तयारी गरेपछि चराको वासस्थान नै सङ्कटमा परेको हो। 

तालमा माछा पालन लगायत गतिविधि गर्नका लागि उपमहानगरपालिका कार्यालयले २०७८ सालमा स्थानीय ठेकेदार फनबहादुर गुरुङलाई १० वर्षका लागि जिम्मा दिएको थियो । ठेकेदारले यसअघि तालमा माछा पालन गर्दै आएकोमा यस वर्षबाट भने मोटर बोट चलाउन खोजेपछि तालमै आश्रय लिइरहेका दुर्लभ प्रजातिका चराको वासस्थान सङ्कटमा परेको यहाँका संरक्षणकर्मी बताउँछन् ।

मोटर बोट सञ्चालनमा आएपछि प्राकृतिक सिमसारका रुपमा रहेको तालमा आश्रय लिइरहेका चराको वासस्थान नरहने निश्चित रहेको उनीहरूको जिकिर छ । तालमा अहिले विभिन्न प्रजातिका स्थानीय र विदेशबाट बसाई सरेर आएका चराको उल्लेख्य मात्रामा बसोबास रहेको छ । यसका साथै विभिन्न प्रजातिका जलचर र वनस्पति पनि यहाँ उपलब्ध छन्।

‘फ्रेन्ड्स फर वाइल्ड लाइफ कन्जरभेसन’का अध्यक्ष आशिष चौधरी इन्धनबाट चल्ने मोटर बोटले चराको प्राकृतिक वासस्थान स्वतः नष्ट हुने बताउँछन् । ‘प्राकृतिक सिमसार कान्ति तालमा मोटर बोट चलाउन लागेको कुरा सुनिँदै छ, यसले तालबाट आश्रित दुर्लभ चराको प्राकृतिक वासस्थान स्वतः नष्ट हुने निश्चित छ,’ उनले नागरिकसँग भने ‘शान्त ठाउँमा बस्न रुचाउने धेरै प्रजातिका चरा यहाँ छन्, उनीहरूको वासस्थान नै कान्ति ताल हो ।’ मोटर बोट चलाउन अनुमति दिने नेपालगन्ज उपमहानगरपालिका र चलाउन खोज्ने ठेकेदारको कदमप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको संरक्षणकर्मी चौधरीले सुनाए। 

उक्त तालमा आश्रय लिइरहेका चराको हरेक वर्ष गणना हुँदै आएको छ । विगत दुई वर्ष देखी सुरु गरिएको गणना अनुसार पहिलो वर्ष यहाँ २५ प्रजातिका चरा फेला परेका थिए। यस्तै दोस्रो वर्ष घटेर २२ प्रजातिका मात्रै चरा फेला परेका छन् । आगामी हिउँद सिजनमा पनि चरा गणना गर्ने संरक्षणकर्मीको योजना छ। तालमा दुर्लभ पक्षी सारस, अन्य रैथाने चरा, विभिन्न प्रजातिका सरीसृप, दुर्लभ प्रजातिको मलाहा बिरालो(फिसिङ क्याट) लगायतको वासस्थान रहेको छ। 

यहाँ गर्मी याममा युरोप, मध्य पूर्वी एसिया, इन्डोनेसियाबाट आएका चराले वासस्थान बनाउँछन् भने जाडो याममा साइबेरिया, उत्तरी चिन लगायत देशबाट चराहरू आउँछन् । बसाई सरेर आउने आगन्तुक चराले पनि तालमै बच्चा उत्पादन गर्ने गर्छन् । यस्तै दुर्लभ पक्षी सारसले पनि कान्ति ताललाई प्रजनन स्थल बनाउँदै आएको छ । ‘दुर्लभ सारसको प्रजनन स्थल पनि हो कान्ति ताल,’ चौधरीले भने ‘कान्ति ताल सारसका लागि बाँके र बर्दियाकै राम्रो वासस्थान मानिन्छ ।’

उनका अनुसार सारसको वासस्थान बाँकेस्थित राप्ती नदीको तटीय क्षेत्र, कान्ति ताल र मानखोला रहेको छ । तर, यी मध्ये सबैभन्दा राम्रो वासस्थान कान्ति ताल रहेको चरा विद बताउँछन् । चरा विदका अनुसार सारस पाइने जिल्ला रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया र कैलाली हो । यसअघि गणना गर्दा बाँकेमा ३३ वटा मात्रै सारस फेला परेका थिए ।

चरा विज्ञ समेत रहेका बाँके राष्ट्रिय निकुञ्जका रेन्जर यम रावत कान्ति तालमा मोटर बोट सञ्चालन भएपछि दुर्लभ चरासहित यहाँ आश्रित जीव, जन्तुको वासस्थान हराएर जाने हुँदा यसबाट ‘इको सिस्टम’ नै नष्ट हुने बताउँछन् । ‘कान्ति तालमा स्थानीय दुर्लभ प्रजातिका चराको वासस्थान त छ नै, बाहिरबाट सिजन अनुसार आउने आगन्तुक चरा पनि हराएर जान्छन्, यसले इको सिस्टम नै नष्ट हुन्छ,’ रावतले चिन्तित हुँदै भने ‘कुनै चराहरू एकान्त ठाउँमा बस्न मन पराउने हुन्छन्, मोटरबोेटको आवाजले उनीहरूलाई डिस्र्टव हुन्छ ।’ 

उपमहानगरपालिका र ठेकेदारले मोटर बोट चलाएर मात्रै आम्दानी गर्न सकिन्छ भन्ने भ्रम हटाउनुपर्ने उनको सुझाव छ । रावतले थपे, ‘बोटिङ भन्दा पनि ताललाई नै व्यवस्थित गरियो र इको सिस्टम राम्रो गराएर प्रवेश शुल्कबाट पनि राम्रो आम्दानी लिन सकिन्छ ।’

प्राकृतिक सिमसार क्षेत्रको अस्तित्व नै मेटाउने गरी कान्ति तालमा मोटर बोट सञ्चालन भएमा दुर्लभ चरासहित जीव, जन्तुको वासस्थान लोप हुने निश्चित रहेको यहाँका संरक्षणकर्मीहरूले जिकिर गर्दै आएका छन् । नेपालगन्जका अभियन्ता डा. विनोद कर्ण तालमा बोट चलाउने प्रयास गरिए त्यो घातक हुने बताए । ‘हामीले अनुरोध गर्दा गर्दै पनि मोटर बोट चलाउन खोजियो भने त्यो घातक हुनेछ,’ उनले भने । 

अर्का अभियन्ता हेमन्तराज काफ्लेले कान्ति ताल जस्तो प्राकृतिक सुन्दरताले भरिएको तालमा मोटर बोट चलाएर कुरूप नबनाउन चेतावनी दिएका छन् । ताल वरिपरि वृक्षारोपण गर्न अगुवाइ गरेका अभियन्ता काफ्लेले आम्दानी गर्ने नाममा उपमहानगरपालिकाले कान्ति तालको अस्तित्व मेटाउन नहुने बताए । उपमहानगरपालिकाले ठेक्का तोडेर भए पनि ताललाई संरक्षण गर्नुपर्ने संरक्षणकर्मीहरूको सुझाव छ । 

तालको ठेक्का लिएका व्यवसायी गुरुङले भने २०७८ सालमा उपमहानगरपालिकासँग सम्झौता गरेर १० वर्षका लागि आफूहरूले जिम्मा लिएको बताए । उपमहानगरपालिकाले सम्झौता अनुसार माछा पालनसहित पर्यटन प्रवद्र्धन, बोटिङ लगायत कामहरू गरेर शुल्क उठाउन अनुमति दिएको उनले दाबी गरे । ‘माछा पालन गरेर मात्रै वार्षिक रुपमा उपमहानगरपालिकालाई शुल्क बुझाउन समस्या भएपछि यस वर्षबाट बोटिङको काम पनि सुरु गर्न खोजेका हौँ,’ उनले नागरिकसँग भने । तालमा सञ्चालन गर्ने तयारी स्वरूप २ वटा मोटर बोट समेत खरिद गरिसकेको व्यवसायी गुरुङले सुनाए । उपमहानगरपालिकाको राजश्व शाखाका अनुसार कान्ति तालको ठेक्का लिए बापत गुरुङले वार्षिक रुपमा २२ लाख ५० हजार रुपैयाँ बुझाउँछन् ।

प्रकाशित: ३२ श्रावण २०८१ २०:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App