१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

गण्डकी आउने पर्यटकको प्रमुख गन्तव्य मनाङ

फाइल तस्वीर

गण्डकी प्रदेशमा पर्यटकको औषत बसाइ अवधि १२ दिन रहेको पाइएको छ। नेपाल राष्ट्र बैंक, पोखरा कार्यालय अन्तर्गतको अनुसन्धान एकाइले गरेको अध्ययन प्रतिवेदन अनुसार गण्डकी प्रदेश भ्रमणमा आउने विदेशी पर्यटकको नेपाल बसाइ अवधि कुल २२ दिन भए पनि गण्डकीमा भने १२ दिन हुने गरेको पाइएको हो। घुम्न आउने पर्यटकमध्ये पुरुषको भन्दा महिलाको बसाइ अवधि बढी हुनेगरेको पनि देखिएको छ।

नेपाल भ्रमणमा आउने पर्यटकमध्ये पुरुषको बसाइ अवधि २० दिन हुँदा महिलाको २५ दिन पाइएको छ भने गण्डकीमा पुरुषको बसाइ अवधि ११ दिन हुँदा महिलाको १३ दिन हुने गरेको पाइएको छ।

ती पर्यटकले दैनिक ६२.८९ अमेरिकी डलर अर्थात् आठ हजार तीन सय ५५ रूपैयाँ २९ पैसा नेपाली रूपैयाँ खर्च गर्नेगरेको पाइएको छ। गण्डकी आउने पर्यटकमध्ये अधिकांशले नगदको माध्यमबाट भुक्तानी गर्नेगरेको तथ्यांकले देखाएको छ। प्रतिवेदनमा ९४.९३ प्रतिशतले नगदको माध्यमबाट र कार्डको माध्यमबाट ४.९७ प्रतिशतले र ०.१० प्रतिशतले मोवाइल वालेटको माध्यमबाट भुक्तानी गर्नेगरेको उल्लेख छ।

गण्डकी प्रदेशमा गत आर्थिक वर्षमा ४१ देशका पर्यटक आएको देखिएको छ। तीमध्ये सबैभन्दा धेरै भारत, फ्रान्स, अमेरिका, बेलायत र अस्ट्रेलियाका पर्यटक आएको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै महादेशका आधारमा युरोपबाट सबैभन्दा धेरै ४६.२५ प्रतिशत र सबैभन्दा कम दक्षिण अमेरिकाबाट ०.७५ प्रतिशत पर्यटक आएको पाइएको छ। अफ्रिकाबाट भने कुनै पनि पर्यटक गण्डकी प्रदेशमा नआएको पाइएको छ।

उमेरगत आधारमा गण्डकीमा आउने विदेशी पर्यटकमध्ये ३१ देखि ४५ वर्ष उमेर समूहका सबैभन्दा धेरै ३३ प्रतिशत र सबैभन्दा कम २० वर्षसम्म उमेर समूहका १.५ प्रतिशत रहेका छन्।

गण्डकीमा आएका पर्यटक फरक÷फरक उद्देश्य लिएर आउने गरेको जनाइएको छ। आएकामध्ये साहसिक क्रियाकलापमा संलग्न हुन आउने सबैभन्दा धेरै ४०.१८ प्रतिशत र सबैभन्दा कम व्यापारिक प्रयोजनका लागि आउने पर्यटक २.९८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। ३१ देखि ४५ वर्ष उमेर समूहका पर्यटक बढी साहसिक क्रियाकलाप, मनोरञ्जन र सांस्कृतिक क्रियाकलापमा संलग्न हुने गरेको र ४६ देखि ५५ वर्ष उमेर समूहका पर्यटक धार्मिक कार्यका लागि आउने गरेको पाइएको छ।

गण्डकीमा गत आर्थिक वर्षमा पहिलो पटक भ्रमणमा आउने पर्यटक ६८ प्रतिशत पाइयो भने एक वा सो भन्दा बढी आएका पर्यटकको संख्या ३२ प्रतिशत रहेको तथ्यांकले देखाएको छ। यहाँ आउने पर्यटकमध्ये ३४.७५ प्रतिशत पर्यटक एकल रूपमा भ्रमणमा आउने गरेको, २८.७५ साथीसँग २२.५० प्रतिशत पर्यटक परिवारसँग र १४ प्रतिशत पर्यटक समूह बनाएर आएको पाइएको प्रतिवेदनमा उल्लेख छ।

गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकको प्रमुख गन्तव्य मनाङ र दोस्रो रोजाइ म्याग्दी भएको पाइएको छ। उनीहरूको बसाइ अवधि मनाङमा सर्वाधिक १८.१३ दिन र म्याग्दीमा १३.६२ दिन पाइएको छ। सबैभन्दा कम गोरखामा ४.३७ दिन बसाइ पाएको छ भने कास्कीमा १०.६७, नवलपरासी पूर्वमा सात दिन पाइएको प्रतिवेदनमा उल्लेख छ।

गण्डकी प्रदेश भ्रमणमा आउने पर्यटकले भाषागत समस्या, पर्यटन सूचनाको कमी, यातायातको समस्या, सुरक्षा लगायतका समस्या भोगेको बताएका छन्। गण्डकी आएका पर्यटकमध्ये २८.४१ प्रतिशत पर्यटकले कुनै पनि समस्या अनुभव गर्नु नपरेको बताएका छन् तर ७१.५९ प्रतिशत पर्यटकले समस्या भोग्नुपरेको बताएका छन्।

प्रतिवेदन अनुसार यातायातको समस्या भोगेका २३.११ प्रतिशत, भुक्तानीको समस्या भोगेका १५.३४ प्रतिशत र भाषागत समस्या भोगेका १२.३१ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ। गण्डकी भ्रमणमा आउने विदेशी पर्यटकले सबैभन्दा धेरै खानपिनमा खर्च गर्ने गरेको जनाइएको छ।

उनीहरूले खानपिनमा २८.२२ प्रतिशत, बसोबासमा २७.६ प्रतिशत, यातायातमा २१.७, मनोरञ्जनका लागि १२.३, किनमेलमा ५.७७, करबापत २.२४, धार्मिक खर्चमा १.११ र अन्य खर्चमा १.०६ प्रतिशत रकम खर्च गरेको प्रतिवेदनमा उल्लेख छ।

गत वर्ष आएका पर्यटकहरूमध्ये ८७ प्रतिशतले गण्डकी प्रदेशबाट प्राप्त गर्नसकिने सम्पूर्ण आनन्द लिन पाएको बताएका छन् भने १३ प्रतिशतले पूर्ण आनन्दका लागि थप दिन आवश्यक पर्ने बताएको प्रतिवेदनमा जनाइएको छ। उनीहरूले औषत बसाइ अवधिमा २३ दिन थप गर्न सके मात्र पूर्ण आनन्द लिन पाइने बताएको उल्लेख छ।

प्रकाशित: १५ श्रावण २०८१ ०८:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App