१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

राईड सेयरिङको विरोधमा यातायात व्यावसायीले गाडी चलाएनन्

राईड सेयरिङको विरोधमा यातायात व्यवसायी आन्दोलनमा उत्रिएपछि गण्डकी प्रदेशको सार्वजनिक यातायात ठप्प भएको छ। गण्डकी प्रदेश सरकारले राईड सेयरिङलाई वैधानिकता दिनेगरी कार्यविधी ल्याउन लागेको विरोधमा यातायात व्यवसायीहरुले आ–आफ्ना सवारी साधन नचलाउँदा गण्डकी प्रदेशका सबै जिल्लाहरुमा सार्वजनिक यातायात ठप्प भएका हुन्।

यातायात व्यवसायीहरुले आज विहानैदेखि आफ्ना सवारी साधन घरघरमै थन्क्याएका छन्। जसका कारण सडकमा लामा तथा छोटा दुरिका बस, माईक्रो बस, ट्याक्सीलगायतका सवारी साधन चलेका छैनन्। जसले गर्दा यात्रुहरुले सास्ती भोग्नुपरेको छ। नीजि सवारी साधन चल्न पाउने भएपनि सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुले सास्ती भोग्नु परेको हो।

गण्डकी प्रदेश सरकारले नीजि सवारी साधनमा यात्रु बोक्न दिनेगरी राईड सेयरिङलाई वैधानिकता दिन लागेकोको विरोधमा यातायात व्यवसायीले विहीबार ४८ घण्टाको अल्टिमेटम दिदै माग पूरा गर्न चेतावनी दिएका थिए। तर गण्डकी सरकारले सो माग सम्बोधन नगरेपछि आफूहरुले आजदेखि सवारी साधन घरमै थन्क्याएर आन्दोलन शुरु गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश अध्यक्ष केदार पौडेलले बताए।  

यसअघि विहीबारपनि मुख्यमन्त्री कार्यालय र जिल्ला प्रशासन कार्यालय कास्की अगाडि गाडी तेर्साएर विरोध जनाएका उनीहरुले आजदेखि अनिश्चितकालसम्म सवारी साधन नचलाउने घोषणा गरेका छन्। व्यवसायीले ‘राईड सेयरिङलाई वैधानिकता दिने निर्णय खारेज गर्नुपर्ने, सडक सुरक्षा योजना लागु गर्नुपर्ने, श्रम आयोग गठन गर्नुपर्ने, वैज्ञानिक भाडादर कायम गर्नुपर्ने’लगायतका माग राखेका छन्।  

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश अध्यक्ष केदार पौडेलले राईड सेयरिङलाई गैरकानूनी रुपमा वैधानिकता दिन खोजिएकाले आन्दोलन गर्नुपरेको बताए। आफूहरुसँग परामर्श नगरी एकलौटी रुपमा नीजि सवारीलाई यात्रु ओसारपसार गर्न दिन लागिएकोप्रति आपत्ति जनाउँदै उनले यो निर्णय खारेज हुनुपर्ने बताए। राईड सेयरिङलाई मान्यता दिने ऐनमा प्रावधान नरहेको दाबी गर्दै उनले भने,‘ऐनमा नै नरहेको प्रावधान कसरी बनाउन मिल्छ ? यो सरासर सवारी ऐन २०४९ को दफा ८ को उपदफा १ र दफा १२ को उपदफा १ को वर्खिलाप छ।’

उनले सार्वजनिक सवारी साधन सरह नीजि सवारी साधनलाईपनि यात्रु ओसारपसार गर्न दिने हो भने सवारी साधनमा रहेको प्लेट वर्गिकरण खारेज गर्नुपर्ने बताए। रातो प्लेटलाईपनि यात्रु ओसारपसार गर्न दिने हो भने प्लेट वर्गिकरण किन गर्नुप¥यो ? उनले भने,‘हामीलाई कर लिने, वीमा गर्न लगाउने, दुर्घटना भएमा सबै जिम्मेवारी लिन लगाउने ? अनि नीजिले केहि नगरी कारोबार गर्न पाउने ? यो मान्य छैन।’  

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले राईड सेयरिङलाई मान्यता दिने हो भने अबदेखि सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिक, एकल महिला, विद्यार्थी, जनयुद्धका घाईते, अपाङ्गता भएकाहरुलाई छुट दिन नसकिने चेतावनी दिए। बरु त्यसवापत राज्यले दिएको ३३ प्रतिशत कर छुटपनि खारेज गर्न तयार रहेको उनले बताए।  

‘राईड सेयरिङ र सार्वजनिक सवारी साधन एउटै भएपछि हामीलेचाहिं किन छुट दिनुप¥यो ? यो खारेज गर्छौं, ’उनले भने। यातायात व्यवसायीले अर्बौं रुपैयाँ लगानी गरेको तर नीजि सवारीलाई वैधानिकता दिएर तहस्नहस् पार्न लागिएको उनको आरोप छ। उनले भने,‘नागरिकको सम्पतीको सुरक्षा गर्ने जिम्मेवारी राज्यको हो तर राज्य नै नागरिकको सम्पती तहस्नहस् गर्न लागिपरेको छ।’

प्रकाशित: १३ श्रावण २०८१ १७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App