वीरगन्ज– पर्साको बहदुरमाई नगरपालिकाको भौराटारमा ९ बर्षीय नाबालिकालाई बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी मुद्दा चलाएको छ। सो नगरपालिका वडा नम्बर ५ का २० बर्षे मणीभुषण पाण्डेयले आफ्नो घरभित्र लगी बालिकासंग जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले दिएको जानकारी अनुसार बालिकालाई ‘तिम्रो बाख्राले मेरो बाली नोक्सानी गर्यो’ भन्दै पाण्डेले बाख्रा आफ्नो नियन्त्रणमा रहेको र फिर्ता गरिदिने भन्दै आफ्नो घरभित्र लगेर बलात्कार गरेका थिए। जबरजस्ती गर्दा मुख थुन्न प्रयास गरेपनि बालिका चिच्याएको आवाज बाहिरिएपछि छिमेकका महिलाहरुले हल्लाखल्ला मचाएका थिए। प्रहरीका अनुसार भाग्दै गरेका पाण्डेलाई स्थानीयले समातेर प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई ल्याएर जबरजस्ती करणी मुद्दा चलाएको प्रहरी उपरीक्षक गणेश रेग्मीले बताए। पर्सा जिल्लामा यस आर्थिक बर्षमा ९ वटा बलात्कारका घट्ना भएको बताउँदै रेग्मीले ८ वटामा आरोपीलाई सफलता पूर्वक कानूनको दायरामा ल्याउन सकेको जानकारी गराए। अर्को एउटा मुद्दामा केही आरोपी फरार रहेको र आफूहरुले खोजतलास गरिरहेको उनले बताए।
प्रकाशित: १५ चैत्र २०७४ १४:१५ बिहीबार