२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सुत्केरी आमाहरूलाई ‘उपाध्यक्षको पोषण कोसेली’

सुत्केरी आमा र बच्चाको सबल स्वास्थ्यका लागि सल्यानको छत्रेश्वरी गाउँपालिकाले सुत्केरी आमाहरूलाई ‘उपाध्यक्षको पोषण कोसेली’ उपलब्ध गराएको छ । गाउँपालिकाको ७ वटै वडा स्थित स्वास्थ्य संस्थासम्म पुगेर ३५७ जना आमाहरूलाई पोषण कोसेली उपहार झोला वितरण गरेको गाउँपालिकाले जनाएको छ । 

‘आमा र बच्चालाई स्वस्थ राख्न सकेमा मात्रै परिवार, समाज, समुदाय र सिङ्गो देशको विकास एवम् समृद्धिमा टेवा पुग्न सक्छ, यही मान्यतालाई आत्मसाथ गर्दै हामीले सुत्केरी हुनुभएका आमाहरूलाई पोषणयुक्त खाना र सरसफाई सामग्री सहितको झोला कोसेली स्वरूप वितरण गरेका हौँ’, छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले भनिन् । सुनौलो हजार दिनको अवधिमा पोषण तथा सरसफाइको महत्व बुझाउन, स्वास्थ्य संस्थामा सुत्केरी हुनका लागि प्रोत्साहन गर्न एवम बालबालिकाको वृद्धि विकासमा सहयोग पुराउनका लागि ।।।उपाध्यक्षको पोषण कोसेली’ कार्यक्रम मार्फत आवश्यक सचेतनाका क्रियाकलापहरू सञ्चालन गरिएको हो ।

२०८० साउन देखि २०८१ असार सम्म सुत्केरी भएका आमाहरूलाई पोषण कोसेली वितरण गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । वडा नं १ स्थित दमाचौर स्वास्थ्य चौकीबाट ३७ जना, वडा नं २ को दह खोला आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट ५१ जना, वडा नं ३ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र दोहलीबाट ४७ जना सुत्केरी आमाहरूलाई पोषण झोला वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख केशरीदेवी भट्टराईले जानकारी दिइन् । यस्तै वडा नं ४ स्थित कोर्वाङ झिम्पे स्वास्थ्य चौकी जय चौरबाट ४९ जना, वडा नं ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र लेख पोखराबाट ५६ जना, वडा नं ६ स्थित छायाँछेत्र स्वास्थ्य चौकीबाट ७० जना र वडा नं ७ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र जामुनेखोलाबाट ४७ जना सुत्केरी भएका आमाहरूलाई पोषण कोसेली वितरण गरिएको उनले जनाइन् ।

उपाध्यक्षको पोषण कोसेलीको झोलामा चना, केराउ, सिमी लगायतका गेडागुडीहरू एक किलो, सर्वोत्तम पिठो १ किलो र एक एक पिस साबुन र नङकट रहेको छ । पोषण कोसेली जिल्लामै उत्पादन भएको हो । ‘सुत्केरी आमाहरूलाई वितरण गरिएको पोषण कोसेली उहाँहरूलाई पुग्ने गरी दिइएको होइन, उहाँहरूलाई पोषणको महत्व बुझाउन र घरमा आफै पोसिलो खानेकुराहरू तयार गर्न सकिन्छ भनेर सिकाउनका लागि यस प्रकारको कार्यक्रम सञ्चालन गरिएको हो’, स्वास्थ्य शाखा प्रमुख भट्टराईले भनिन् ।

स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाहरूले पोषणका लागि २ हजार ५ सय रुपैयाँ, यातायात खर्च बापत २ हजार रुपैयाँ र मापदण्ड अनुसार ४ पटक गर्भ जाँच गरेमा उत्प्रेरणा स्वरूप ८ सय रुपैयाँ प्राप्त गर्ने गरेको उनको भनाई छ ।

मातृ, नवजात शिशु तथा नाबालकको पोषण मार्फत होचोपन, पुड्कोपन र ख्याउटेपन न्यूनीकरण गर्ने र गम्भीर कुपोषणको व्यवस्थापन गर्ने उद्देश्य अनुरूप गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । विशेष गरि बालबालिकाको सुरुवाती वर्षहरूमा पोषणमा गरिने लगानीले उनीहरू, उनीहरूका परिवार र समग्र समुदायलाई नै दीर्घकालीन प्रतिफल दिने भएकाले छत्रेश्वरी गाउँपालिकाले ‘उपाध्यक्षको पोषण कोसेली’ कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य शाखाको भनाई छ ।

प्रकाशित: ५ श्रावण २०८१ १६:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App