२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

गण्डकीमा मनसुनको मारः १५ दिनमा ३९ जनाको ज्यान गयो

विहीबार मात्र कास्कीमा ११ जनाको ज्यान गयो

पोखरा–१९मा विहीबार राती खसेको पहिरोले बगेको घर। तस्बिरः नागरिक

पछिल्लो १५ दिनमा गण्डकी प्रदेशका विभिन्न जिल्लामा बाढी पहिरोमा परेर ३९ जनाको ज्यान गएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी मानवीय क्षति कास्कीमा भएको छ। प्रदेशभित्रका गोरखा तथा हिमाली जिल्ला मनाङ र मुस्ताङबाहेक प्रदेशका अरु सबै जिल्लामा  बाढीपहिरोले मानवीय क्षति भएको प्रहरीले बताएको छ।  

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका एसएसपी रवीन्द्र रेग्मीका अनुसार बाढी पहिरोले १५ दिन अवधिमा गण्डकी प्रदेशमा ३९ जनाको ज्यान गएको हो। बाढी पहिरोबाट यो वर्ष अहिलेसम्म सबैभन्दा बढी मानवीय क्षति गण्डकी प्रदेशमा भएको उनले बताए। रेग्मीका अनुसार तीमध्ये सबैभन्दा बढी कास्कीमा मात्र १४ जनाको मृत्यु भएको छ। कास्कीका १४ जना मध्ये ११ जनाको विहीबार रातीको अविरल वर्षापछिको पहिरोले घर पुरिँदा ज्यान गएको थियो।  

रेग्मीका अनुसार स्याङजामा मात्र ७ जनाको ज्यान गएको छ। त्यस्तै लम्जुङमा ५, तनहुँमा ४ जनाको ज्यान गएको छ। वर्षापछिको पहिरोले घर पुरिँदा बागलुङमा ३, पर्वत, नवलपुर र म्याग्दीमा २–२ जनाको ज्यान गएको पनि उनले बताए। ‘मनसुन भित्रिएपछिको पछिल्लो १५ दिन अवधिमा गण्डकी प्रदेशमा मात्र ३९ जनाको बाढीपहिरोमा परेर ज्यान गएको छ,’ रेग्मीले भने, ‘गण्डकी प्रदेशले बाढिपहिरोबाट यो वर्ष अहिलेसम्मकै बढी मानवीय क्षति बेहोरेको छ।’

विज्ञले योवर्ष मनसुनमा बढी वर्षा हुने भन्दै सचेतना अपनाउन भनेपनि त्यो अनुसार हुन नसक्दा मानवीय क्षति रोक्न नसकिएको उनले बताए। ‘यो वर्ष बढी मानवीय क्षति भोग्नुपरेको छ । यसबारे सचेतना आवश्यक छ,’ उनले भने।

एकैरात कास्कीमा ११ जनाको ज्यान गयो

कास्कीमा पहिरोले पुरिएर विहीबार राती ११ जनाको ज्यान गएको छ। अविरल बर्षापछि आएको पहिरोले पोखराका फरकफरक ३ ठाउँमा घर पुरिँदा ११ जनाको ज्यान गएको प्रहरीले बताएको छ। घटनामा दुइजना घाइते भएको कास्की प्रहरीले जनाएको छ।

कास्की प्रहरी प्रवक्ता डिएसपी बसन्तकुमार शर्माका अनुसार अविरल वर्षापछि विहीबार राती करिब ११ बजेतिर पहिरो खस्दा पोखरा–१९ तल्लाकोटस्थित टारीमा पहिरोले घर पुरिदा एकै घरका ६ जना सहित ७ जनाको मृत्यु भएको छ। टारीस्थित कुलबहादुर परियारको घर बगाउँदा उनको परिवारका ६ सहित ७ जनाको ज्यान गएको हो। सातजना मृतक मध्ये माइती आएकी छोरी र छिमेकी समेत रहेका छन्।

डिएसपी शर्माका अनुसार पहिरो पुरिदा घरमुली ४६ वर्षिय कुलबहादुर परियार, उनकी श्रीमती ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षीमा परियार, छोरी १५ वर्षीया प्रशना परियारको मृत्यु भएको छ। त्यस्तै चितवन घर भई माइती आएकी अर्की छोरी २० वर्षीया प्रभा परियार, ज्वाई २५ वर्षिय अस्मित परियार र ५६ वर्षीया राधिका परियारको मृत्यु भएको शर्माले बताए। घर पुरिएको ठाउँबाट उनीहरुको शव निकालिएको उनले बताए। मृतक राधिकाको भने घटनास्थलमा उद्धारको क्रममा लडेर ज्यान गएको प्रहरीले बताएको छ। राधिका कुलबहादुरकी छिमेकी हुन्।

पहिरोले मृतक राधिका परियारका छोरा ३१ वर्षिय कुमार परियार तथा अर्का मृतक कुलबहादुर परियारका १७ वर्षिय छोरा पवन परियार घाइते भएका छन्। कुमारको हात भाँचिएको र पवनको ढाडमा चोट लागेको उनले बताए। दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार  भइरहेको छ।  

त्यस्तै पोखरा–३२ चैनपुरमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ। अविरल वर्षापछि विहीबार राती आएको पहिरोले स्थानीय आरती ओझाको घर पुरिँदा उनकी १८ वर्षीया छोरी अनिता ओझा, अर्की ११ वर्षीया छोरी अनुष्का ओझा र आरतिका दाजुका छोरा ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको हो।  पहिरोले पुरिएर घरमूली आरती ओझा पनि घाइते भएकी कास्की प्रहरीले जनाएको छ। उनको उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता शर्माले जानकारी दिए।

यस्तै मादी गाउँपालिका–११ तल्लो ताप्लेस्थित  पहिरोमा घर पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङको पनि मृत्यु भएको कास्की प्रहरीले जनाएको छ। उक्त पहिरोमा पुरिएका ओमबहादुर गुरुङलाई भने सकुसल उद्धार गरिएको डिएसपी शर्माले जानकारी दिए।

प्रकाशित: २८ असार २०८१ १५:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App