२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

लुकाएर राखेको ३४ बोरा रासायनिक मल जफत

अर्घाखाँचीको सन्धिखर्कमा ३४ बोरा भन्दा धेरै अवैध रासायनिक मल जफत गरिएको छ।

चुत्राबेसी बजारमा कृषि सहकारीलाई वितरण गर्न ल्याएको मल अनाधिकृत रुपमा बिक्री गर्न लुकाइ राखेको साढे ३४ बोरा रासायनिक मल जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनालले बताए।

सन्धिखर्क नगरपालिका २, चुत्राबेसीको भुसाल एग्रोभेटबाट साढे १७ बोरा र बन्जाडे एग्रोभेटबाट १७ बोरा गरी जम्मा साढे ३४ बोरा डिएपी मल नियन्त्रणमा लिईएको हो। अवैध ढंगले मल लुकाउने र चर्को मुल्यमा बेच्ने उद्देश्यले मल राखेको सुचना पाएपछि जिल्लाको संयुक्त अनुगमन टोलीले खानतलासी गरेको थियो।

जिल्ला प्रशासन कार्यालय, सन्धिखर्क नगरपालिका, कृषि ज्ञान केन्द्र, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, नेपाल पत्रकार सहासंघको संयुक्त टोलीले खोजतलास गर्दा सो परिमाणमा अवैध ढंगले राखेको मल फेला परेको जिल्ला प्रहरी कार्यालयका सुचाना अधिकारी दिपेन्द्र रावलले जानकारी दिए।

नेपाल सरकारले भुमिकास्थान नगरपालिकाको सहकारीलाई अनुदानमा दिएको मल कमिसनको चलखेलमा एग्रोभेटहरुलाई बेच्न दिने गरेको पाइएको हो। कृत्रिम अभाव खडा गर्ने र चर्को मुल्यमा मल बिक्रीवितरण गर्ने गरेको गुनासो आएपछि जिल्लाका निकाय एक्सनमा उत्रिएका हुन्।

पछिल्लो समय जिल्लामा युरिया मलको अभाव देखिएको छ। मकै र धानमा मल राख्ने समय भएपनी प्रसस्त मल बजारमा छैन। विक्रेताहरुले कृत्रिम अभाव देखाउँदै मल नआएको बहाना बनाउने गरेको भुमिकास्थान ९, सुवर्णखालका राम प्रसाद भुसालले बताए। ‘मल राख्ने सिजनमा सँधै यस्तै हुन्छ,उनले भने,‘विक्रेताहरुले अभाव खडा गर्छन्। बढी पैसा तिर्दा मल पाईन्छ।’

खेतीपाती गर्ने सिजनमा युरीया मलको अभाव भएको गुनासो आएपछि सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य नेतृत्वको अनुगन टोलीले सन्धिखर्कमा रहेका शान्ति बगैंचा, फुदबाङ, मिडिया चोक र चुत्राबेसीमा रहेका एग्रोभेट तथा सहकारीहरुको अनुगमन गरेको छ।

कृत्रिम अभाव सृजना गर्ने र कालो बजारी गर्नेलाई कडा कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित: २० असार २०८१ ०९:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App