१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

मल र सिंचाइ अभावले कपिलवस्तुमा पाँच प्रतिशत मात्र रोपाइँ

फाइल तस्वीर

लुम्बिनी प्रदेशको सबैभन्दा बढी धान खेती हुने कपिलवस्तुमा पनि २१औं राष्ट्रिय धान दिवसका अवसरमा जिल्लाका विभिन्न स्थानमा रोपाइँ महोत्सव गरिएको छ। कृषि ज्ञान केन्द्र, धान सुपर जोन कपिलवस्तु, बुद्धभूमि नगरपालिका, कालिका स्वावलम्बन सामाजिक केन्द्रलगायतले संयुक्त रूपमा रोपाइँ महोत्सव मनाएका हुन् ।

कपिलवस्तुमा कृषकले मलखादको अभावबीच रोपाइँ सुरु गरेका छन्। कृषि ज्ञान केन्द्रअनुसार मध्य असारमा जिल्लामा पाँच प्रतिशत मात्र रोपाइँ भएको छ। यस वर्ष सिँचाइ अभाव र मलखादको चरम अभाव रहेको कृषक बताउँछन्।

कृषक राका यादवले बिउ र मलको अभावबीच बल्लतल्ल रोपाइँ गरेको बताए। ‘मल र उन्नत बिउ दिने सरकारका नारा अहिलेसम्म पूरा भएका छैनन्,’ उनले भने। सहुलियतको सरकारी मल त कृषि सहकारीको हातमा मात्र जाने गरेको भन्दै उनले गुनासो गरे। जिल्लामा ६९ हजार चार सय ८० हेक्टरमा धान खेती गरिन्छ। प्रतिहेक्टर चार मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ। जिल्लामा राधा चार, सावित्री, सावा, मन्सुली, कालानमकलगायत प्रजातिका  धान लगाइन्छ ।

सुख्खापन, लगानीअनुसारको मूल्य नपाएकाले क्रमशः धानको उत्पादनसमेत घढ्दै गएको छ। विभिन्न समस्याका कारण धान उत्पादनमा खासै वृद्धि हुन नसेको कृषि ज्ञान केन्द्रका महेन्द्र ओझाले बताए।

६९ हजार हेक्टरमा धानखेती

लुम्बिनी प्रदेशमा गरिने तीन लाख ११ हजार ४४३ हेक्टरमध्ये कपिलवस्तुमा ६९ हजार ४८० हेक्टरमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। कृषि ज्ञान केन्द्र र साना किसान कृषि सहकारी संस्था लिमिटेड कपिलवस्तु नगरपालिका–९ को आयोजनामा गरिएको रोपाइँ महोत्सवमा कपिलवस्तु नगरपालिका–१० बिकुलीमा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले खाद्यान्नमा परनिर्भरता बढ्दै गएको प्रति चिन्ता व्यक्त गरे।

देशको श्रम शक्ति बिदेसिएको र मल तथा सिँचाइको असुविधाले धानलगायत अन्नबालीको उत्पादनमा ह्रास आउँदै गएकाले बेलैमा सचेत हुनुपर्ने उनले बताए। परम्परागत खेतीलाई त्यागेर आधुनिक तरिकाबाट खेती गरेर उत्पादन बढाउनुपर्ने बताए।

निर्वाहमुखी र परम्परागत खेतीलाई विस्थापित गरी उपकरणहरूको प्रयोग बढाउन जरुरी रहेको भन्दै ज्ञान केन्द्रका प्रमुख भास्कर पौडेलले ‘अपार अन्न भण्डारका रूपमा रहेका जिल्लाको प्रमुख बालीका रूपमा रहेको धान खेतीको स्तर अझ माथि उठाउनुपर्ने देखिन्छ, त्यसका लागि प्रविधिको प्रयोग बढाउँदै लागतमा कमी ल्याउनुपर्छ।’ 

प्रकाशित: १६ असार २०८१ ०९:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App