२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

भारतीय धम्की सहन बाध्य गुलरियावासी

भारतीय वनरक्षकले असार १ गते नियन्त्रणमा लिएर खुट्टा भाँचिदिएको अवस्थामा गुलरिया नगरपालिका–९ का खगेन्द्र सुनारको रिहाइ गराउने सीमावासी नेपाली अहिले भारतीय पक्षको ‘जे पनि हुन सक्ने’ धम्कीको सामना गर्न बाध्य छन्।

५० हजार रूपैयाँ बुझाउने सर्तमा खगेन्द्रको रिहा गराएका नेपालीलाई भारतीय वनरक्षक अनिलले फोनमार्फत धम्की दिइरहेको खुलेको छ। पैसा नबुझाए गोली ठोक्नेसम्मको धम्की उनले दिएको पीडितले बताएका छन्।

भारतीय वनरक्षक अनिलको नेतृत्वको टोलीले सीमावासी खगेन्द्रलाई मरणासन्न हुने गरी कुटपिट गरेर रिहाइ गर्दा ५० हजार बुझाउनुपर्ने सर्त राखेको थियो। विपन्नताका कारण भारतीयलाई बुझाउनुपर्ने पैसाको जोहो घाइते खगेन्द्रको परिवारले गर्न नसक्दा सीमावासी दिनरात त्रासमा बाँच्नुपरिरहेको बताइएको छ। सीमावासीको भारतमा समेत नातागोता भएकाले आवागमन गर्नुपर्ने बाध्यताले जिउज्यानको सुरक्षामा जोखिम रहेको पीडितको भनाइ छ।

उता भारतीयको कुटाइबाट खुट्टा भाँचिएका खगेन्द्रको थप उपचार हुन सकेको छैन। खुट्टाको शल्यक्रिया गर्न एकदेखि डेढ लाखसम्म लाग्ने भएपछि उनी मलमपट्टीको भरमा घरमा बसिरहेका छन्। 

विगतदेखि नै भारतीयहरूले नेपाली भूमिमा आएर मानिस नियन्त्रणमा लिने, विभिन्न झुटा आरोपमा जेल पठाउने र रकम असुल्ने गतिविधिलाई निरन्तरता दिइरहेका छन्। पछिल्लो समय प्रहरी र प्रशासनले सीमावर्ती नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउन नसकेको गुनासो आइरहेको छ।

‘सीमावर्ती क्षेत्रमा प्रहरीले गस्ती पठाए पनि हामी सुत्न पाउँथ्यौं,’ खगेन्द्रले भने, ‘प्रहरी घटना भए मात्र सीमाक्षेत्रमा पुग्ने हुनाले हामी सधैं भारतीयको त्रासमा बाँच्नुपर्छ।’ भारतीयहरूले जति बेला आएर घरबाटै उठाएर लैजान सक्ने पीडित घाइते खगेन्द्रकी आमा कलावतीले बताइन्। ‘भारतीयको आक्रमणको त्रासमा गाउँले रातभरि जाग्राम बस्नुपर्ने स्थितिको सिर्जना भयो,’ उनले भनिन्। छोराको थप उपचार गाराउन नसक्दा आफू चिन्तित रहेको उनले सुनाइन्।

सीमावर्ती गाउँबाट भारतीयले बेपत्ता बनाएका ५० भन्दा बढी नेपाली बहराइचस्थित कारागारमा जेलजीवन बिताइरहेका छन्। तिनीहरूमध्ये अधिकतर काठ तस्करी, वन्यजन्तु अपराध, चरेस तस्करी मुद्दाका आरोपी हुन्। तर विपन्नताका कारण र कानुनी अनभिज्ञता कारण वर्षौं अघिदेखि कारागारमा रहेका नेपालीको उद्धारको पहल राज्य पक्षले नगरेको गुनासो व्याप्त छ।  

भारतीय एसएसीबसँगको समन्वयमा नेपालीको संरक्षण सशस्त्र प्रहरीले काम गरिरहेको ३१ नम्बर गण सशस्त्र प्रहरी बलका एसपी चित्रांग दाहालले बताए। ‘भारतीय सशस्त्र बलको समन्वयमा राम्रा काम पनि भएका छन्,’ उनले भने, ‘भारतीय वनरक्षक टोलीबाट बेलाबेलामा अराजक गतिविधि पनि हुने गरेका छन्।’ 

प्रकाशित: ९ असार २०८१ ०६:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App