१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

बकर इद-त्याग, समर्पण र बलिदानको प्रतीकः कार्यवाहक राष्ट्रपति

कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ‘इद-उल-अज्हा’ (बकर इद), २०८१ को अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

उनले खुसी, भाइचारा, सद्भाव, मेलमिलाप र सामूहिकतामा एकताको प्रतीकका रुपमा रहेको ‘इद–उल–अज्हा’, पर्वले सबैलाई एकापसमा मिलेर बस्न सन्देश दिनुका साथै गरिब र सहयोगको आवश्यकता रहेकालाई मद्दत गर्न उत्प्रेरित गर्ने उल्लेख गरेका छन्। यो पर्व त्याग, समर्पण र बलिदानको प्रतीकका रुपमा पनि मनाइन्छ।

कार्यवाहक राष्ट्रपति यादवले समाजमा समानताको भावनालाई पनि उत्तिकै बढावा दिने यो पर्व धार्मिकसँगै सामाजिक र सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको बताएका छन्। यसले समाजमा सामूहिकता, सहानुभूति र सहयोगको पवित्र भावनालाई प्रोत्साहित गर्ने उनको भनाइ छ। यो पर्वले हामीलाई आफ्नो सुख–दुःखलाई साझा गर्न र अभावमा रहेकालाई सहयोगका लागि सदैव तत्पर रहन पनि सिकाउने उनले बताएका छन्।

“आफ्नो धार्मिक, सामाजिक र सांस्कृतिक महत्त्वका कारण यो पर्वले हामीलाई एकजुटता र मानवताको उच्च मूल्यहरुलाई स्मरण पनि गराउँदछ। ‘इद–उल–अज्हा’ले हामीलाई यो पनि सिकाउँदछ कि सही बलिदान त्यही हो जुन निःस्वार्थ भावले गरिन्छ र जसमा सबैको कल्याण निहित हुन्छ”, कार्यवाहक राष्ट्रपति यादवले उल्लेख गरेका छन्।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएको र विविधतामा एकता हाम्रो मौलिक पहिचान र विशेषता हो। कार्यवाहक राष्ट्रपति यादवले नेपालमा मनाइने पर्वहरुले समुदाय, समाज र मुलुकमा एकता, सद्भाव, भाइचारा, मेलमिलाप, अपनत्वभावलाई प्रोत्साहन गर्दै यहाँको मौलिक संस्कृति र परम्पराको संरक्षण र सम्बर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

उनले ‘इद-उल-अज्हा’ पर्वले राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सबल र सुदृढ गर्दै सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गर्दै लोकतन्त्र, सामाजिक न्याय, स्वाधीनता, राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वासका साथ शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित: ३ असार २०८१ ०८:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App