९ असार २०८१ आइतबार
image/svg+xml
समाज

आज गङ्गा दशहारा पर्व मनाइँदै

आज गङ्गा दशहारा पर्व मनाइँदै छ। पुराणअनुसार सत्ययुगमा सूर्यवंशी राजा सगरका छोराहरूको मुक्तिका निम्ति भगीरथले तपस्याद्वारा गङ्गालाई पृथ्वीमा ल्याएको मानिने ज्येष्ठ शुक्ल दशमीका दिन मिथिला क्षेत्रमा यो पर्व मनाइने परम्परा छ।

गङ्गा स्नान गर्न नसक्नेले नजिकका नदी तथा तलाउमा स्नान गरी यो पर्व मनाउने गरिन्छ। सूर्योदयअघि स्नान गरेर आफू नुहाएको जलाशयलाई गङ्गा रूप मानेर पूजाअर्चना गर्ने चलन रहेको छ।

यसैगरी शिवजीलाई जलाभिषेक गरेर यो दिन उपवास बसे कायिक (शरीरबाट हुने), वाचिक (बोलीबाट हुने) र मानसिक (चेतनाबाट जानाजान हुने) १० प्रकारका महापाप यस दिनको स्नान र उपवासले नास हुने जनविश्वास छ।

जेष्ठ शुक्ल दशमीका दिन गङ्गा स्नान गरेर व्रत बसी अन्न, द्रव्य दान दिनाले महापातक पाप नास हुने हिन्दू मैथिल जनविश्वास रहेको जलेश्वर–५ पतैलीका मैथिल लोकपरम्पराका जानकार प्राध्यापक ध्रुव राय बताउँछन्।

आज बिहानैदेखि महोत्तरीका रातु, मरहा, अङ्कुशी र जङ्घासहितका नदी र लक्ष्मीसागर, भार्गव, वरुण, पुरन्दर र ध्रुवकुण्डमा स्नान गर्नेको भीड लागेको छ। रासस

प्रकाशित: २ असार २०८१ ०८:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App