९ असार २०८१ आइतबार
image/svg+xml
समाज

होटलबाटै मानव बेचबिखन!

दुई नाबालिकासहित तीन महिलालाई जबर्जस्ती यौनकार्यमा लगाएको आरोपमा प्रहरीले चितवनको एक गेस्टहाउसबाट दुई जनालाई पक्राउ गर्‍यो। जेठ १२ गते भरतपुर महानगरपालिका–७ स्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल गेटअगाडि सञ्चालनमा रहेको ‘न्यु फेमिली होटल एन्ड लज’का सञ्चालक अप्सरा ढकाल र होटलकी सहजकर्ता कुमारी गुरुङलाई पक्राउ गरेको थियो। अर्का सञ्चालक भक्तविलास घिमिरे फरार छन्।

१५ वर्षका दुई बालिका र ३० वर्षीया युवतीलाई निरन्तर जबर्जस्ती यौन कार्यमा लगाएको आरोपमा उनीहरू पक्राउ परेका हुन्। अहिले उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत मुद्दा दायर गरी अनुसन्धान भइरहेको छ। चितवनमा प्रहरीले यौन कार्यमा लगाउने व्यक्तिलाई मानव ओसारप्रसारसम्बन्धी मुद्दा दर्ता गराउन थालेको छ।

महिला तथा बालबालिकालाई जबर्जस्ती करणी गराउने भरतपुर महानगरपालिका–२९ स्थित खोटाङ सगरमाथा होटल एन्ड गेस्ट हाउस सञ्चालक जंगबहादुर क्षेत्री, निर्मला थापा क्षेत्रीले मानव बेचबिखन तथा ओसारपसारको सजाय भोगिरहेका छन्। उनीहरूलाई १० वर्षको कैद सजाय तोकिएको छ। जबरजस्ती करणीमा सहयोग गर्ने धरानकी जसमाया राईलाई समेत ११ वर्षको कैद सजाय तोकिएको छ।

यसैगरी चितवनका केही होटेलमा मानव बेचबिखनका गतिविधि हुने गरेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले पछिल्लो तीन वर्षमा जबर्जस्ती यौन कार्य गराएको आरोपमा १३ वटा मुद्दा दायर गरेको छ।

यो अवधिमा जिल्लामा मानव बेचबिखनसम्बन्धी १५ वटा मुद्दा दर्ता भएका थिए। त्यसमध्ये सबैभन्दा धेरै होटलमा यौन कार्य भएका मुद्दा छन्। बाँकी दुईवटा मुद्दा वैदेशिक रोजगारीको प्रलोभन देखाएर बिक्री गर्न भारततर्फ लैजान लागेको चितवन प्रहरीको तथ्यांकमा उल्लेख छ।

आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म २० जनाविरुद्ध मानव बेचबिखनसम्बन्धी मुद्दा परेका छन्। जसमा महिला र पुरुष १०/१० जना छन्। एक जना प्रतिवादी फरार छन्। आव २०७९/८० मा चितवनमा मानवबेचबिखनका सातवटा मुद्दा दर्ता भएका थिए। सातमध्ये चार मुद्दा होटल व्यवसायीसँग सम्बन्धित थिए। चालु आवमा होटल व्यवसायीसम्बन्धी एउटा मुद्दा दर्ता भएको छ। जसमा तीनजना प्रतिवादी छन्।

वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाईफकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, जबर्जस्ती गरी, कुनै स्थानमा राख्ने अथवा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा लैजाने कार्यलाई कानुनले मानव बेचबिखन भन्ने गरेको छ। यस्ता गतिविधि चितवनमा भइरहेको जलदेवी क्यान्सर टोल सुधार समितिका अध्यक्ष दीपक ढकालले बताए।

 बालबालिका तथा महिलालाई यौन व्यवसायमा यहाँका होटलले लगाएको पाइन्छ। ‘यस्तो कार्य गर्ने क्यान्सर अस्पताल वरपरका पाँचवटा होटललाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालयमा समेत उजुरी दिएका थियौं,’ उनले भने, ‘हामीले उजुरी हाल्न नपाउँदै होटल सञ्चालकलाई प्रहरीभित्रैबाट सूचना पुग्छ।’

 उनले कृष्णपुर वरपर नियमित अनुगमन गर्नसमेत प्रहरीलाई अनुरोध गरेका छन्।

कलाकार आयुश्मा केसीले दोहोरी साँझमा काम गर्ने महिलामाथि यौन दुव्र्यवहार हुने गरेको बताइन्। ‘आफ्नो समस्या राख्दा रोजगारीको जोखिम हुन्छ,’ उनले भनिन्, ‘हामीले दोहोरी साँझमा  यौन दुव्र्यवहार भोगेका छौं ।’

डान्सबार, होटल तथा रेस्टुरेन्टलगायत ठाउँमा महिलामाथि यौन शोषण हुने गरेको बताइएको छ।

सामरी उत्थान सेवाले २०७८ मा चितवनको राप्ती, माडी र भरतपुर क्षेत्रका ४२० घरधुरीमा गरेको सर्वेक्षणअनुसार ती घरका ९.४ प्रतिशत महिला तथा बालबालिका मनोरञ्जनका क्षेत्रमा कार्यरत थिए। उनीहरूमध्ये ८५.५ प्रतिशतले आफूमाथि शोषण हुने गरेको बताएका छन्। जसमध्ये १३.६ प्रतिशत १० देखि १४ वर्षका बालबालिका रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

होटल व्यवसायी संघका अध्यक्ष ऋषिकेश अर्यालले यस्ता गतिविधि गर्ने होटलमाथि कारबाही गर्नुपर्ने बताए। ‘होटलमा दिदीभाइ तथा पतिपत्नी भनेर बस्न आउँछन्। उनीहरूलाई नबस्नु भन्न भएन,’ उनले भने, ‘होटल अनुगमन गरौं नराम्रो क्रियाकलाप गर्नेलाई कारबाही गरौं।’ उनले होटल व्यवसायीलाई मात्र आरोप नलगाउन अनुरोधसमेत गरे।

मानव बेचबिखनपछि लगाइने काममा शारीरिक श्रम, यौन गतिविधि, अवैध काम, दासीको रूपमा गर्ने काम, वेश्यालयहरू र सडक वेश्यावृत्ति हुन्। यौन गतिविधिका कार्यालयलाई मानव बेचबिखन तथा ओसारपसार ऐन २०४३ ले पनि समेटेको छ। अहिले आएको मानव बेचबिखन तथा ओसारप्रसारसम्बन्धी ऐन २०६४ मा पनि यो विषयवस्तु समावेश भएको छ। 

प्रकाशित: २ असार २०८१ ०७:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App