५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

ताप्लेजुङ पहिरोमा गम्भीर घाइते बालिकालाई अस्पताल पठाइयो, ४० भन्दा बढी बाख्रा मरे

पहिरोले एकै परिवारका ४ जनाको मृत्यु भएको पहिरो स्थल ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं २ खेजेनिममा घाइते भएकी ३ बर्षिया बालिकालाई थप उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालतर्फ पठाइएको छ।

पहिरोले ४० वटा बाख्रा समेत मरेका छन्। करिव तीन दर्जन जति कुखुरा समेत मरेको फक्ताङलुङ गाउँपालिका वडा नं २ खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौंलागाईले जानकारी दिए। 

पहिरोमा परी सख्त घाइते स्थानीय युगेन लिम्बूकी ३ वर्षिया छोरी सख्त घाइते भएकी थिइन्। बिहीबार सडक र पुल समेत बगाएकाले सिस्ने खोलासम्म एउटा सवारी र त्यसपछि सदरमुकाम फुङलिङबाट अर्को सवारी मगाई ताप्लेजुङ जिल्लातर्फ पठाइएको वडाध्यक्ष चौंलागाईले जानकारी दिए। 

खेजेनिम तिङ्दुमा गएको पहिरोमा परी ७० वर्षिय रामबहादुर साम्रा लिम्बू,उनकी श्रीमति ४८ वर्षिय जसयमाया लिवाङ साम्रा लिम्बू उनीहरूका जुम्ल्याहा छोरी १० वर्षिय गंगा र जमुनाको मृत्यु भइसकेको छ। उनीहरूको शव घरभन्दा करिव ५० मिटर तल पुरिएको अवस्थामा फेला पारिएको थियो। जिल्ला प्रहरी प्रमुख (डिएसपी) रवि रावलले प्रहरी टोली घटनास्थलमा पुगिसकेको बताए।

मृतक रामबहादुर बाख्रापालन व्यवसायमा रहेका थिए। उनको गोठमा करिव ७० वटा बाख्रा रहेको वडाध्यक्ष चौंलागाईले बताए। उनका अनुसार खेजेनिमको चावाखु सहितका क्षेत्रहरूमा समेत पहिरो गएको छ। तर त्यहाँ मानवीय क्षति भएको जानकारी नआएको उनले बताए। 

बिहीबार मात्र यहाँ पहिरो तथा बाढीले पुल,ग्रामीण सडक र नदी तथा खोला तटिय क्षेत्रमा निर्माण भइरहेका पूर्वाधार बगाएको थियो। पानी पर्ने क्रम जारी रहेकोले सतर्क रहन भन्दै जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एव्म प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले सावधानीका लागि सबैलाई आग्रह गरेका छन्। 

प्रकाशित: ३२ जेष्ठ २०८१ ०८:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App