२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

माटोसुहाउँदो खेतीप्रति किसान आकर्षित गर्दै मेरिङदेन गाउँपालिका

माटोको अवस्था पहिचानपछि मात्र किसानलाई खेतीबाली लगाउन प्रोत्साहित गर्न ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले पालिकाको केन्द्रमै माटो परीक्षण मिनी ल्याव स्थापना गरेको छ।

कुन माटोमा कस्तो प्रकृतिको खेतिबाली लगाउने,माटोमा अम्लियपनको अवस्था कस्तो छ भनी पहिचान गर्न गाउँपालिकाले चालू आर्थिक बर्ष २०८०।८१ को बार्षिक स्वीकृत कार्यक्रममार्फत मिनी ल्याव स्थापना गरेको हो।

अबदेखि गाउँपालिकाको कृषि शाखामार्फत पालिकाभरिका किसानको माटो परीक्षण गरिने गाउँपालिका अध्यक्ष युकहाङवीर (डम्बर) हाङगामले बताए।

यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर सुब्बाका अनुसार कुनै बाली लगाउनुपूर्व किसानले माटो खेतियोग्य छ की छैन भनेर माटोको नमुना परीक्षण गर्न पाउने छन्।

किसानले पालिकाको कृषि विकास शाखामा माटोको नमुना संकलन गरी संकलन मिति, जग्गाको प्रकार, अब लगाउने बाली, सिँचाइ अवस्था र पहिले लगाईएको बाली तथा प्रयोग गरिएको प्राङ्गारिक तथा रसायनिक मल तथा कृषि चुन प्रयोग गरेको त्यसको मात्रा सहितको विवरण पेस गर्नुपर्ने हुन्छ।

किसानलाई माटोसुहाउँदो खेती प्रणालीप्रति आर्कषित गर्न तथा उत्पादन र उत्पादकत्व बृद्धि गर्न पालिकाले यस्तो योजना अघि बढाएको पालिका उपाध्यक्ष दुर्गाहाङ श्रेङचोङ बताउँछिन्।

माटो तथा मल परीक्षण प्रयोगशाला सुनसरीका अनुसार उन्नत तथा तरकारी बालीका लागि एकै प्रकारको माटो (जस्तैः रंग, वनावट, भिरालोपना आदि) भएको जमिनबाट एकवटा नमुना माटो संकलन गर्नुपर्छ। एउटा माटोको नमूना तयार गर्न एक रोपनीबाट कम्तिमा ५–६ ठाउँको माटो नमूनाका रुपमा लिनुपर्छ। 

माटोको नमूना संकलन गर्दा प्रत्येक ठाउँमा १५ देखि २० सेन्टीमिटर गहिरो ‘भी’ आकारको खाल्डोको एक भित्ताबाट माथि देखि तल सम्म एकै मोटाइको माटो लिनुपर्छ।

सबै खाल्डोबाट संकलन गरिएको माटोको नमूनालाई एकठाउँमा जम्मा गरेर राम्रोसँग मिसाउने र जम्मा भएको माटोबाट ढुङ्गा,झारपात जस्ता अनावश्यक चीज वस्तु हटाई चार बराबर भागमा बाँडी आमने सामनेको दुई भाग हटाउनुपर्छ।

बाँकी रहेको दुई भाग माटोलाई फेरि राम्रोसँग मिसाएर पुनः ४ भाग लगाएर दुई भाग राखी दुई भाग हटाउनुपर्छ। त्यो क्रम माटोको नमूना १–२ किलोग्राम नभए सम्म जारी राख्नुपर्छ भने बढीमा आधा केजी माटोलाई परीक्षणमा पठाउन सकिन्छ।

यस्तै, फलफूल बालीका लागि फरक किसिमका माटाे (जस्तै रंग, वनावट, भिरालोपना आदि) भएको जमिनबाट छुुट्टाछुट्टै नमूना संकलन गर्नुपर्छ।

फलफूल बालीका लागि माटो संकलन गर्दा छनौट गरिएको जमिनबाट एक रोपनी जमिनबाट कम्तीमा एकवटा तीन फिट गहिरो खाडल खनी माटोको नमुना लिने खाडलको एकतर्फको भित्तामा माथिबाट तलतर्फ एक, दुई र तीन फिट गहिराइमा चिन्न लगाउनुपर्छ। यसरी चिनो लगाईएको भित्ताबाट छुुट्टाछुट्टै भाँडामा ०–१,१–२ र २–३ फिटसम्मको माटो नमुना संकलन गर्नुपर्छ। 

यसरी छुुट्टाछुट्टै संकलन भएको माटो प्रत्येकलाई छुुट्टाछुट्टै चार भागमा लगाई आमनेसामनेको दुई भाग हटाई बाँकी दुई भाग राख्ने र सो क्रम माटो १–२ केजी नभएसम्म कायम राख्नुपर्छ। यसरी तयार भएको माटोलाई सफा प्लाष्टिकको थैलोमा राखी नमुना परीक्षणमा पठाउनुपर्छ।

प्रकाशित: २८ जेष्ठ २०८१ ०८:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App