२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

हात्तीवाङमा फस्टाउँदै घरबास व्यवसाय

चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीवाङमा घरबास व्यवसाय फस्टाउँदै गएको छ। सिराइचुलीमा पर्यटकको आगमन बढेसँगै हात्तीवाङमा घरबास व्यवसाय फस्टाएको हो।

सिराइचुली आउने पर्यटक बढ्दै गएपछि दैनिकजसो पर्यटक घरबासमा बास बस्न आउने गरेको सिराइचुली घरबास (होमस्टे) हात्तीवाङका सञ्चालक जगदिश्वर पुरीले बताए । उनले भने, ‘पाहुना दैनिकजसो बास बस्न आउनुहुन्छ, पछिल्लो समय यहाँ स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको छ।’

समुद्र सतहबाट एक हजार नौ सय ४५ मिटर उचाइमा रहेको सिराइचुलीबाट सूर्योदय अवलोकन गर्न पर्यटक आउने गरेका छन्। हात्तीवाङमा बास बसेर  बिहान सूर्योदय हेर्न पर्यटक सिराइचुली पुग्ने गर्छन्। हात्तीवाङबाट पनि समयको सडक यात्रापछि आधा घण्टाको पैदल यात्रापछि सिराइचुली पुग्न सकिन्छ।

घरबास सञ्चालकसमेत रहेका  इच्छाकामना–१ का वडाध्यक्ष सन्तबहादुर राना मगरले पछिल्लो समय पर्यटकको आगमनमा वृद्धि भएको बताए। उनले भने, ‘दैनिक आउने पर्यटकको तथ्याङ्क राख्ने गरिएको छैन, तर सिराइचुली आउने पाहसनाको सङ्ख्या बढ्दै गएको छ।’

सिराइचुली आउने पर्यटक बढेसँगै हात्तीवाङका घरबास व्यवसाय फस्टाउँदै गएको वडाध्यक्ष राना मगरको भनाइ छ। सिराइचुलीसम्म पुग्न सिँढीसहितको बाटो निर्माण गरिएको छ।

सिराइचुलीको फेदसम्मै सडक पुगेको छ। पैदल दूरी छोटिँदा पर्यटकलाई आवतजावत गर्न सहज भएको छ। हात्तीवाङमा हाल चार घरबास र एउटा होटल सञ्चालनमा छ। तर यहाँ आउने पाहुनाका लागि बास बस्न पर्याप्त नभएको घरबास सञ्चालक जगदिश्वर पुरी बताउछन्।

घरबासमा पाहुनाको रोजाइअनुसार स्थानीय परिकारसमेत खुवाउने गरिएको छ। गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पर्यटकको आगमन बढेसँगै घरबास सञ्चालन गर्न गाउँपालिकाले स्थानीयलाई प्रोत्साहन गर्न थालेको बताए। अनुदानसहित स्थानीयलाई तामिलसमेत प्रदान गरिँदै आएको उनको भनाइ छ।

गाउँपालिकाले पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको वडा नम्बर २ मायाटार आसपासमा रहेका घुर्केश, डाँडा गाउँलगायतका गाउँमा पनि घरबास सञ्चालनको तयारी गरिरहेको छ।

-रासस

प्रकाशित: २६ जेष्ठ २०८१ ०८:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App