१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

रंगेलीमा नगर प्रहरीमाथि आक्रमण गर्ने ६ जना पक्राउ

विद्यार्थीको प्रदर्शनले विराटनगरमा राजमार्ग अवरुद्ध

पक्राउ परेका विद्यार्थीको बिना सर्त रिहाईको माग गर्दै कोशी राजमार्गमा प्रदर्शनमा उत्रिएका मोरङ क्याम्पसका विद्यार्थी । तस्बिर: चुमन बस्नेत/ नागरिक

मोरङको रंगेली नगरपालिकाका नगर रक्षक (नगर प्रहरी) माथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जना पक्राउ गरेको छ ।  

घटनामा संलग्न रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्रलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।  

पक्राउ परेकाहरुको समूहले आक्रमण गर्दा ४ जना नगर प्रहरी घाइते भएका छन् । नगर प्रहरीहरु सुनीता पौडेल, प्रमोद पासवान, पदमबहादुर थापा र ज्योति घिमिरे सामान्य घाइते बताउँदै, डिएसपी बस्नेतले भने, ‘नगर प्रहरीहरुको शरीरका विभिन्न भागमा चोटपटक लागेको र रंगेली अस्पतालमै उपचार भइरहेको छ ।’  

पक्राउ परेका विद्यार्थीको बिना सर्त रिहाईको माग गर्दै कोशी राजमार्गमा प्रदर्शनमा उत्रिएका मोरङ क्याम्पसका विद्यार्थी । तस्बिर: चुमन बस्नेत/ नागरिक

पक्राउ परेको समूहले नगरपालिकाका कार्यवाहक प्रमुख एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुव्र्यवहार गरेको बताउँदै, डिएसपी बस्नेतले भने, ‘६ जनाको समूहले कार्य कक्षभित्रै प्रवेश गरेर आचार्य र न्यौपानेलाई दुव्र्यवहार एवं हातपात गर्दै नगर प्रहरीमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ पक्राउ परेकाविरुद्ध अभद्र व्यवहार मुद्दा चलाइने उनले बताए ।  

विद्यार्थी समूहले निजी विद्यालयहरुले आफूखुसी कानुन विपरीत शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गर्दै विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाए भन्दै जेष्ठ १३ गते नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो ।  

निजी विद्यालय लिँदै गरेको शुल्क कम हुनुपर्ने र शिक्षक नियुक्ति नियम अनुसार हुनुपर्ने माग राख्दै आन्दोलन थालेको विद्यार्थी समूहको नेतृत्व विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको नेपाल विद्यार्थी संघका सदस्य दीपक यादवले गरेका थिए । रंगेली जनता बहुमुखी क्याम्पस र पब्लिक माध्यमिक विद्यालयका विद्यार्थीले बुधबार नगरपालिका अगाडि नाराबाजी गरेका थिए ।  

पक्राउ परेका विद्यार्थीको बिना सर्त रिहाईको माग गर्दै कोशी राजमार्गमा प्रदर्शनमा उत्रिएका मोरङ क्याम्पसका विद्यार्थी । तस्बिर: चुमन बस्नेत/ नागरिक

यादवको नेतृत्वमा ६ जना पुनः बिहीबार दिउँसो साढे ३ बजेतिर नगरपालिका पुगेर नाराबाजी गरे । त्यतिबेलै जबरजस्ती कार्यकक्षमा प्रवेश गरेर उनीहरुले कार्यवाहक प्रमुख र प्रमुख प्रशासकीयमाथि दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।  रोक्न खोज्दा नगर प्रहरीलाई समेत आक्रमण गर्दै उनी कार्यकक्षमा प्रवेश गरेको बताइएको छ ।  

कोशी राजमार्ग बन्द

कोशी राजमार्गअन्तर्गत विराटनगरको रोडशेष चोकमा महेन्द्र मोरङका विद्यार्थीहरुले सडक अवरुद्ध पारेका छन् । उनीहरु पक्राउ परेका यादवसहित सबै जनालाई विना शर्त रिहाई गर्नुपर्ने माग राख्दै सडक अवरुद्ध पारेका हुन् ।  

 

प्रकाशित: २५ जेष्ठ २०८१ १५:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App