१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

रोजगारी नपाएपछि मौरीघार उद्योग सञ्चालन गरेका सूर्यप्रसाद वार्षिक २५ लाख कमाउँछन्

कास्कीको पोखरा महानगरपालिका ३१ बेगनासका सूर्यप्रसाद लामिछाने मौरीपालनमा जोडिएको १८ वर्ष बित्यो। विसं २०६३ मा  दस हजारको लगानीमा दुईवटा घारबाट सुरू भएको उनको मौरीपालन व्यवसाय अहिले ‘वेगनास मौरीघार उद्योग’ का रूपमा विस्तार भएको छ। सो उद्योगबाट घारसँगै मौरी, मह र मौरीजन्य सामग्री उत्पादन तथा बिक्री हुने गरेको छ।

‘मौरीको स्थानीय स्रोत केन्द्रका रूपमा उद्योगलाई विकास गरेका छौं, हालसम्म एक करोड बढी लगानी भइसकेको छ’, ४२ वर्षीय लामिछानेले भने, ‘उद्योगमा वार्षिक एक करोड बढीको कारोबार हुन्छ, झन्डै २४-२५ लाख जति आम्दानी छ।’ उद्योगमा ६ जनाले रोजगारी पाएका छन्। लामिछानेको परिवारका सदस्य पनि सोही व्यवसायमा तल्लीन छन्।

कतै रोजगारी नपाएपछि २४ वर्षको उमेरमा मौरीपालनमा होमिएका लामिछाने अहिले आफैं रोजगारदाता बन्न सफल भएका हुन्। ‘यहाँ उत्पादित मौरीघार पूर्वमा सिन्धुलीदेखि देशका विभिन्न जिल्ला र सहरमा पुग्छ, धेरैजसो खपत गण्डकी प्रदेशभित्रै छ’, उनले भने, ‘कुनै याममा त गोलासहितको मौरीघारको माग पु¥याउनै धौधौ हुन्छ, मौरीपालन व्यवसायबाट म सन्तुष्ट छु, उद्योगको कामले एकछिन फुर्सद हुँदैन।’

मौरीसहितको आधुनिक घारको बजार मूल्य दस हजार र घारको मात्र चार हजार तोकिएको उनले जानकारी दिए। ‘गोलासहित वर्षमा १२ सय जति घार उत्पादन र बिक्री हुँदै आएको छ, किसानहरूबाट घार लिने र त्यसको सट्टा किसानलाई मौरीको गोला पनि दिने गरिएको छ’, उनले भने। मह मात्रै बेचेर वर्षमा आठदेखि दस लाख रुपैयाँसम्म जति कमाइ हुने गरेको लामिछानेले सुनाए।

उद्योगबाट प्रतिकिलो एक हजार पाँच सयमा मह बिक्री हुने गरेको छ। स्वस्थ र स्वादिलो भएकाले महको माग बढी हुने गरेको उनको भनाइ छ। उनका अनुसार उद्योगमा अहिले तीन सय ५० घार मौरी छन्। वार्षिक १२ सय देखि १५ सय किलोसम्म मह उत्पादन हुँदै आएको छ। मौसम अनुकूल पर्दा मह उत्पादन अझ बढ्ने गरेको उनको भनाइ छ। वर्षको दुई याममा मह उत्पादन हुन्छ। उद्योगबाट मौरीपालनका लागि आवश्यक पञ्जा, झोला, टापीलगायत सामग्री पनि बेच्ने गरिएको छ।

लामिछानेले स्थानीय सेरेना जातको मौरीपालन गर्दै आएका छन्। स्वस्थ मह उत्पादनदेखि वातावरणीय सन्तुलन कायम राख्न पनि सेरेना जातको मौरी उत्कृष्ट मानिने उनको भनाइ छ। स्याउका बिरुवामा परागशेचनका लागि मुस्ताङका स्याउ किसानले पनि सोही उद्योगबाट मौरी लगेको उनले बताए। उनले मौरीपालन गर्न चाहने किसानलाई तालिम पनि दिन्छन्। उत्कृष्ट मौरीपालक किसानका रूपमा उनी देशविदेशमा सम्मानित भएका छन्।

२०७३ मा राष्ट्रिय युवा परिषद्ले ५० हजार नगदसहित उनलाई सम्मानित गरेको थियो। ‘सम्मान ग्रहणका लागि जापान पनि पुगें’, उनले भने, ‘महसम्बन्धी सम्मेलनमा भाग लिन अमेरिकालगायत युरोपका विभिन्न देश घुम्ने अवसर पाएँ।’ मौरीलाई शरीरमा राखेर पनि उनी बेलाबेलामा चचार्मा आउने गरेका छन्। उनको उद्योगले गत वर्ष मह खाने प्रतियोगिता पनि आयोजना गरेको थियो।

‘बेगनास मौरीघार उद्योग’ नमुना मौरी स्रोत केन्द्रका रूपमा विकास हुँदै गएको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए। ‘महानगरले पनि किसानलाई उनकै उद्योगबाट घार उपलब्ध गराउँदै आएको छ, यहीं स्रोत केन्द्र भएपछि अन्यत्रबाट ल्याउनुपर्ने बाध्यता हटेको छ’, उनले भने।

प्रमुख कडरियाले मौरीपालनमा लाग्न चाहने किसानका लागि लामिछाने प्रेरणाको स्रोत रहेको बताए। ‘उहाँ धेरै ठाउँमा पुरस्कृत र सम्मानित भइसक्नुभएको छ, उहाँ मौरीपालनसम्बन्धी तालिमका लागि पनि पोख्त हुनुहुन्छ’, प्रमुख कडरियाले भने, ‘मौरीपालन व्यवसाय प्रवद्र्धनका गतिविधिमा पनि उहाँको सक्रियता राम्रो छ।’

महानगरले विभिन्न वडालाई ‘मौरी पकेट क्षेत्र’ घोषणा गरेर घारलगायत मौरीजन्य सामग्रीमा किसानलाई अनुदान सहयोग गर्दै आएको उनको भनाइ छ। आधुनिक घारमा बढी र राम्रो मह उत्पादन हुने भएकाले मौरीपालनमा किसानको आकर्षण बढ्दै गएको प्रमुख कडरियाले बताए। –रासस

प्रकाशित: २५ जेष्ठ २०८१ १४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App