१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

अब मैवाखोलाका शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा

घोषणापत्र जारी गर्दै पालिका अध्यक्ष विजयप्रकाश वनेम। तस्बिर: नागरिक

ताप्लेजुङको मैवाखोला गाउँपालिकाका शिक्षक, कर्मचारी र जनप्रतिनिधिले आफुसँगै भएको अवस्थामा आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमै भर्ना गर्ने संकल्प गरेका छन्। 

यस्तै, विद्यालयमा दलगत राजनीति प्रवेश गर्न नदिने तथा धार्मिक र साम्प्रदायिक आधारमा विद्यालयमा विभेद हुन नदिने संकल्पसमेत गरेका हुन्।

सार्वजनिक शिक्षाको रुपान्तरणका लागि मैवाखोला गाउँपालिकाले आयोजना गरेको दुईदिने बृहत् शैक्षिक सम्मेलनमार्फत ४२ बुँदे मैवाखोला घोषणापत्र, विद्यालय व्यवस्थापन समितिले र शिक्षक अभिभावककातर्फबाट १७ बुँदे र सामुदायिक विद्यालय सुधारका लागि १० बुँदे संकल्प पत्र पारित भएको छ। 

पालिकाको सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि कक्षा ९ देखि माथि ‘पढ्दै कमाउँदै’ कार्यक्रम सुरु गर्ने संकल्प गरिएको छ। विद्यालयमा मातृ भाषाको संरक्षण तथा प्रवद्र्धन गर्ने र राष्ट्रिय माध्यम भाषा नेपालीमा पारङगत बनाउँदै अन्य विषयमा अंग्रेजी माध्यमबाट पठनपाठनको प्रवन्ध गर्ने, पूर्ण वालमैत्री वातावरणमा आधारित शिक्षण सिकाई अवलम्बन गर्ने, विद्यालयमा अतिरिक्त क्रियाकलाप तथा विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्ने संकल्प गरिएको छ।

कमजोर सिकाई उपलब्ध भएका बिद्यार्थीहरुका लागि पठनसीप कार्यक्रम र बिशेष उपचारात्मक कक्षा सञ्चालन गर्ने साझा संकल्प गरिएको छ। यस्तै, व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका तर्फबाट जारी भएको संकल्प पत्रमा स्थानीय सरकारबाट खटिएको शिक्षकलाई कुनै प्रकारको दुःख नदिई विद्यालयमा हाजिर गराउने, शिक्षाको गुणस्तर कायम गर्न शिक्षक अभिभावक संघ गठन गर्ने, विद्यालयलाई समुदायसंग जोड्ने कार्यक्रममा प्रधानाध्यापकलाई सहयोग गर्ने, विद्यार्थीको नियमित उपस्थिति बढाउन अभिभावकसंग निरन्तर समन्वय गर्ने, अभिभावक शिक्षा,अभिभावक सचेतना कार्यक्रम सञ्चालन गर्ने,बिद्यार्थी,शिक्षक तथा बिद्यार्थीलाई बिद्यालयको विकास तथा पठनपाठनमा उत्प्रेरित गर्ने उल्लेख छ।

यस्तै,अभिभावकको पलहमा सामुदायिक सामुदायिक विद्यालयको सवलीकरणका लागि ‘हामी सुधार गर्छौं, हाम्रो विद्यालय’ अभियान सञ्चालन गर्ने संकल्प गरिएको छ। गाउँ कार्यपालिकाको तर्फबाट अध्यक्ष विजयप्रकाश वनेमले ‘सार्वजनिक शिक्षाको रुपान्तरणका लागि मैवाखोला गाउँपालिकाको घोषणापत्र २०८१ लाई गाउँपालिकाको मार्गचित्रको रुपमा आत्मसाथ गरी कार्यान्वयन गरिने छ’भन्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन्।

अध्यक्ष वनेमको प्रतिबद्धतामा गाउँपालिका उपाध्यक्ष कलमकुमारी लिम्बू, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देन तथा कार्यपालिका सदस्यहरुले समर्थन गरेका छन्। बृहत् शैक्षिक सम्मेलनका सहजकर्ता अभिषेक घिमिरेले पालिकाका पदाधिकारीले सर्वसम्मत रुपमा प्रतिबद्धता जारी गर्नेमा मैवाखोला सम्भवत देशभरकै पहिलो पालिका भएको दाबी गरे। 

शैक्षिक सम्मेलनमा घिमिरेका साथ शैक्षिक योजना निर्माणका अगुवा आरके ढुङ्गाना,बिमल फुयाँल र राजेन्द्रप्रसाद पन्तले सहजीकरण गरेका थिए। शैक्षिक सम्मेलनपछि पालिकाले जारी गरेको ४२ बुँदे घोषणापत्रमा मैवाखोला गाउँपालिकालाई शिक्षामा नमूना पालिका बनाईने, सार्वजनिक शिक्षाको सुदृढीकरण तथा नवप्रवर्तनको पक्षमा व्यापक जनमत निर्माणका साथै सम्वन्धित पक्षसँग सहकार्य गर्ने, शिक्षाको विकासका लागि २५ वर्षको सोचपत्र तथा हरेक ५ बर्षमा पुनरावलोकन हुने गरी रणनीतिक योजना निर्माण गर्ने र कार्यान्वयन गर्ने घोषणा गरिएको छ। 

यस्तै,विद्यालयमा कुनै पनि प्रकारको दलगत राजनीतिक प्रवेश नगराउने, विद्यालयलाई शान्ति क्षेत्रको रुपमा विकास गरिने,हरेक विद्यालयमा बाल संरक्षण नीति अवलम्बन, बाल क्लव गठन तथा परिचालन र हिंसामुक्त विद्यालय बनाउने, पालिका स्तरीय परीक्षा बोर्ड गठन गरी मूल्याङकन तथा परीक्षा प्रणालीलाई वैज्ञानिक बनाउँदै विश्वसनीयता र स्तरीयताको प्रवद्र्धन गर्ने घोषणा गरिएको छ। 

यस्तै,विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रमका लागि पालिका सापेक्ष नीति तयार गर्ने,समुदायको परिवेश, आवश्यकता र मापदण्डका आधारमा विद्यालयमा ग्रेड बृद्धि वा घटाउने,गाभ्ने र पुर्न:नक्साङ्कन गरिने,स्थानीय पाठ्यक्रममा स्थानीय भूगोल,इतिहाँस र संस्कृतिका साथै परम्परागत सीप, प्रविधि र कलाको खोज तथा अनुन्धानलाई समावेश गर्ने भनिएको छ। 

पालिका भरिका विद्यालयमा महिला शिक्षकको अनुपातमा अभिबृद्धि गर्ने नीति बनाईने, विद्यालयबाट जंक फुड (पत्रु खाना) लाई पूर्ण विस्थापन गरी दिवाखाजामा स्थानीय उत्पादनको उपभोगलाई अनिवार्य गर्ने, सबै सरोकारवालाका निम्ति शिक्षा क्षेत्रको आचार संहिता निर्माण गरी कार्यान्वयनमा ल्याउने, शिक्षक अभावको विद्यमान समस्या समाधानका लागि सम्वन्धित विषयको शिक्षक उत्पादन गर्ने कार्यक्रम ल्याउने घोषणा गरिएको छ।

प्रकाशित: २० जेष्ठ २०८१ ११:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App