१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मालिका भगवती मन्दिर : पर्यटकीय गन्तव्य बन्दै

कर्णाली आफैंमा प्राकृतिक सौन्दर्यले भरिएको पर्यटकीय गन्तव्यका रुपमा प्रख्यात छ। त्यसमा पनि जुम्लाको भूगोल प्राकृतिक विविधताले उस्तै सुन्दर छ। यही प्राकृतिक सौन्दर्य तथा विविधताले जुम्ला प्रसिद्ध मानिन्छ। यहाँको प्राकृतिक सुन्दरता र धार्मिक सम्पदाको छुटै मौलिकता छ।

यही विशेषता र सुन्दरता भएको ठाउँ हो, जुम्लाको चिमारा मालिका। जुम्लास्थित मालिकाबाट जुम्ला जिल्ला मात्रै होइन अन्य छिमेकी जिल्ला र आँखाले भ्याउन नसकिने गरी गगनचुली हिमाल देख्न निहाल्न सकिन्छ।

यता हेर्‍याे सदरमुकाम टल्किन्छ, उता हेर्‍याे हिमालै हिमाल तल हेर्‍याे हिमा र तिला नदी सुस्केरा हाल्दै बगेको देखिन्छ। चिमारा मालिका जुम्लाको गुठिचौर गाँउपालिकामा-४ अवस्थित छ। मानव बस्तीबाट धेरै माथि, लेकैलेक हिँडेपछि मालिका भगवतीको मन्दिर भेटिन्छ।

ढुङ्गै–ढुङ्गाद्धारा निर्मित भगवती मन्दिर बाहेक यो क्षेत्रमा अन्य कुनै संरचनाहरू छैनन्। भदौ चतुर्दषीका दिन जुम्लाबासीहरु यहाँ भेला भएर मालिका भगवतीको पूजाआज गर्छन्।

परम्पराकालदेखि गुठीचौर गाउँपालिका-४ खल्लाबाडाका न्यौपाने परिवारले भगवतीको विशेष पूजा गर्ने गर्छन्। चतुर्दशीका दिनमा भगवतीको लिङ्गा खडा गरिन्छ।

रातभरी पूजा गरी बिहान झिसमिसेमा नयाँ लिङ्ग राखेर पूजा सम्पन्न गरिन्छ। यहाँबाट जुम्ला जिल्ला मात्र नभएर छिमेकी जिल्लाको समेत दृश्यावलोकन गर्न सकिन्छ। जिल्ला सदरमुकाम खलङ्गाबाट यहाँ पुग्न करिब ५ घण्टाभन्दा बढी लाग्ने गर्छ। जिल्लाको सबैभन्दा उच्च भूभाग रहेका कारण यहाँ नेपाल टेलिकम र केही इन्टरनेट प्रदायक संस्थाका टावरहरु छन्।

सुमन्द्र सतहदेखि करिब ४ हजार मिटर अग्लो स्थानमा पर्छ।चिमारा मालिका। त्यहाँसम्म पुग्नको लागि मोटरबाटो निर्माण भएको छ। तर, बाटो अलि अप्ठ्यारो छ। विभिन्न ठाउँमा खाल्डा खुल्डी भएकाले यात्रा अलि कठिनाइ छ। त्यहाँ पुगेपछि थकान र असहज यात्राको दुःख सबै हरण हुन्छ। मनोरम दृष्यले मनलाई एकाकार बनाईदिन्छ।डाँडामा पुग्ने वितिकै सबै भन्दा पहिले जो कोहिले मन्दिरको दर्शन गर्दछन्।

मन्दिरको दर्शनपछि समथर मैदानमाथि थरिथरिका बास्नादार फूलहरु र त्यसैमा उम्रिएका हरिया घाँसहरुले मोबाइलमा फोटो खिच्न सकिन्छ। यो क्षेत्रलाई आन्तरिक पर्यटकलाई घुम्न लायक स्थान बनाउन स्थानीय सरकारले बाटो मर्मत तथा मन्दिरको सुरक्षा गर्न लागि परेको छ।

चिमारा मालिका डाँडामा रहेको भगवतीको मन्दिर ढुङ्गैढुङ्गाले निर्माण गरेको छ। परम्परागत शैलीमा निर्माण भएको मन्दिरमा साउन पूर्णिमाका दिन जिल्लाभरिका भक्तजनहरु पुग्ने स्थान हो। यहीँ ठाउँलाई वडाले अहिले संरक्षण गर्न मन्दिर वरिपरि घेरबारको कार्य अगाडि बढाएको छ।

स्थानीय सरकारले घेरबार गर्दै मन्दिर र धर्मशाला संरक्षण गर्ने कार्य थालनी गरेको छ। गुठीचौर गाउँपालिका-४ ले चिमारा मालिका मन्दिरलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न लागि परेको छ। मन्दिर घेरबारका लागि वडाध्यक्ष टिकादत्त न्यौपानेले शिलान्यास गरे।

६ लाख रकममा १ सय ६१ मिटर घेरबार हुने वडाध्यक्ष न्यौपानेले बताए। चिमारा मालिकालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पहिलो चरणमा घेरबार लगाएका छन्।

भगवती माईको मन्दिर रहेको ठाउँलाई आन्तरिक तथा बाह्य पर्यटकहरु आउने वातावरण निर्माण गर्न खोजिएको छ। चिमारा मालिकासम्म जाने बाटोको अवस्था नाजुक भएकाले वडाको रकमबाट मर्मत गरिँदै छ। चिमारा मालिका मन्दिर घेरबार उपभोक्ता समितिका अध्यक्ष तुलराज अधिकारीले घेरबारले मन्दिर र धर्मशाला सुरक्षित हुने बताए।

यस्तै,फुलबारीबाट चिमारा डाँडामा रहेको भगवती मन्दिरसम्म जानका लागि रेलिङ्ग सहितको सिडि निर्माणका लागि संघ सरकारमा वडा सरकारले प्रस्ताव गरेको छ।

प्रकाशित: १६ जेष्ठ २०८१ ११:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App