९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

हराउँदै मौलिक घर, रंगीन बन्दै बस्ती

जुम्लाको पातारासी गाउँपालिका- ३ स्थित छुमचौर गाउँ। तस्बिर : नागरिक

ताँती (लाइन) लागेका घर। ढुंगा, काठ र माटाले लिपेर चिटिक्क पारिएका। घरअगाडि झुन्ड्याइएका काष्ठकलाको प्रदर्शन गरेर बनाइएका दलान (बार्दली)।

समयक्रमसँगै गाउँको परिचयसँग जोडिएका यस्ता चिनारी मेटिने क्रम बढ्दो छ। परम्परागत सिप, साधन र प्रविधि प्रयोग गरी बनाइएका घरलाई एकपछि अर्को गर्दै सिमेन्ट प्रयोग गरिएका, रंगीन जस्तापाताले लगाइएका घरले विस्थापन गरिरहेका छन्।

लान र जस्ताले छाउन थालेपछि गाउँको स्वरूप परिवर्तन हुन र मौलिकता हराउन थालेको छ। नजिकको खोलाको बगर वा ढुंगाखानीबाट ढुंगा जम्मा गर्ने, आवश्यकताअनुसार कुँदेर आकार निकाल्ने र त्यसपछि माटो मुछेर ढुंगा जडान गर्ने तरिका अपनाई यस्ता छाना बनाइन्थे।

स्थानीय स्तरमै उपलब्ध बलिया काठको प्रयोग गरेर झ्यालढोका बनाउने, दलिन राख्ने र पातला सिलिक्क परेका ढुंगाका छपनीले छाएर यस्ता घर तयार गरिन्थे । ‘अचेल गाउँहरू गाउँजस्ता देखिन छाडिसके,’ गाउँघरले मौलिकता गुमाउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै जुम्लाको पातारासी गाउँपालिकाका- ३ छुमचौर गाउँका लालबहादुर रावतले भने, ‘सबैलाई सिमेन्टद्वारा ढलानवाला घर बनाउने रहर जागेको छ। यस्तै हो भने छोरानातिले पुराना शैलीका घर फोटोमा मात्र देख्न पाउनेछन्।’

परम्परागत घरहरूलाई आधुनिक संरचनाले विस्थापन गर्ने प्रतिस्पर्धा सदरमुकामदेखि सहरीकरणबाट सुरुआत हुँदै परम्परागत शैलीका घर विस्थापित हुने अवस्थामा पुगेका छन्। यो प्रतिस्पर्धा अहिले जुम्लाका सबै गाउँतिर चल्दै छ।

‘हामी त पुरानै शैलीको घरमा हुर्किएका हौं, अहिले त्यस्ता घर देखिनै छोडे। अब त भुल्न पनि थालिसक्यौं, सबैले पुराना घर भत्काए। जुम्लामा माटाको छानो भएका घर बिरलै भेटिन्छन्। पहिले पहिले १५ देखि २० वटा घर सँगै जोडिएका हुन्थे, जसलाई बाडा भनिन्थ्यो। ‘नयाँ बनाउनेले अहिलेकै शैलीका बनाउँछन्,’ जुम्ला सदरमुकाम खलंगाकी लक्ष्मी खत्रीले भनिन्, ‘अहिलेका घर बलिया त होलान् तर पहिलेका जस्ता सुन्दर लाग्दैनन्। यस्ता छानाको प्रचलन हराउन थालेकामा स्थानीय खुसी छैनन्।’

‘सडक पुगेर गाडी गुड्न थालेपछि यहाँ पुराना शैलीका घर भत्काएर नयाँ बनाउने प्रतिस्पर्धा नै चलेको छ,’ उक्त गाउँपालिकाका- ३ छुमचौर गाउँका धनकृष्ण बोहराले भने, ‘सक्नेले ढलान हालेर घर बनाएका छन्। नसक्नेले छानामा टिन (जस्तापाता) हालेका छन्।

‘पहिले सडक पुगेको थिएन। माटाको छानो हाल्नुको विकल्प थिएन। त्यसले गर्दा गाउँ एकैनासको देखिन्थ्यो। अहिले सम्पन्न मानिसले जस्तापाता हालेर घर बनाउने गर्छन्। पुराना शैलीका घर त अब गाउँमै छैनन्भन्दा पनि हुन्छ।’

एकाएक गाउँभरीका मान्छे आधुनिक घरमा आकर्षित हुनुको कारण एकअर्काको देखासिकी भएको स्थानीय बताउँछन्। ‘अब त आधुनिक घर नबनाए लाज हुने अवस्था भइसक्यो,’ बोहराले भने, ‘वरिपरिका सबैले पक्की घर बनाए पनि बीचमा माटाले छाएको एक्लै घर नसुहाउँदो जस्तो देखिने रैछ। त्यसैले पनि भत्काएर ढलान र रङ्गीन जस्ताको घर बनाउनुपर्छ।’

आधुनिक घरको फेसनका कारण पुराना शैलीका घर लोप हुँदै गए पनि स्वास्थ्यका हिसाबले पुराना शैलीका घरै गुनिला हुने गरेको स्थानीयको अनुभव छ । ‘माटाको छाना हुँदा गर्मीमा शीतल हुन्थ्यो, जाडामा न्यानो हुन्थ्यो,’ माटाका घर वातावरणीय रूपमा पनि निकै अनुकूल र व्यावहारिक मानिन्छ,’ बोहराले भने, ‘के फेसन आयो कुन्नि, ढलान घरमा त जाडामा भित्र बसिनसक्नु हुन्छ।’

उनले जस्तापाताले छाएको घरमा पनि गर्मीमा तातेर दिउँसो भित्र पस्न नसकिने र हिउँदमा जाडाले सताउने गरेको बताए। बलियो हुने र हेर्दा आकर्षक देखिने भएकाले यहाँका स्थानीय आधुनिक शैलीका घरप्रति आकर्षण बढेको बताउँछन्।

‘माटाको घर हाम्रा पुर्खाको चिनारी हो। घरमा उनीहरूको सीप र कला प्रयोग भएको छ। बलियोको हिसाबले पनि निकै बलियो र हेर्दा पनि उत्तिकै राम्रो छ। किन जस्ताको छाना हालेर घरलाई कुरूप बनाउने काम भइरहेको छ। ‘विकास र समृद्धिका नाममा मौलिकतामाथि भइरहेको अतिक्रमण राम्रो नभएको बुढापाका बताउँछन् ।

परम्परागत शैलीका घर पर्यटकीय दृष्टिकोणमा महत्वपूर्ण र आकर्षक मानिन्छन्, माटाको छाना भएको घर भूकम्पप्रतिरोधी भएको पनि उनीहरू बताउँछन्। ‘अब त्यो विस्तारै लोप हुन थालेको छ । गाउँले मौलिकता गुमाउनु राम्रो होइन,’ उनीहरूको भनाइ छ।

प्रकाशित: १३ जेष्ठ २०८१ ०६:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App