४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

उपत्यकाका चार ट्रायल सेन्टर बन्द

फाइल तस्वीर

उपत्यकाका चार वटा ट्रायल सेन्टरहरूले बिहीबारदेखि सवारीचालक अनुमति पत्रका लागि लिने प्रयोगात्मक परीक्षा (ट्रायल)को सेवा बन्द गरेका छन्। राष्ट्रिय सतर्कता केन्द्रका अनुसार केन्द्रको निर्देशनपछि इजी वे ट्रायल सेन्टर राधेराधे भक्तपुर, भेइकल एकेडेमी तथा रिसर्च सेन्टर प्रालि गुर्जुधारा, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालि गोकर्णेश्वर, सुजुकी ड्राइभिङ स्कुल प्रालि, एकान्तकुनाले बिहीबारदेखि ट्रायल परीक्षा बन्द गरेका छन्।

ट्रायल सेन्टर बन्द हुँदा लिखित परीक्षा पास भई प्रयोगात्मक परीक्षाको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन्। बिहीबार उपत्यकाका चारवटा सेन्टरबाट दुई हजार परीक्षार्थीको प्रयोगात्मक परीक्षा लिने तयारी थियो। तर प्रयोगात्मक परीक्षा लिन उपत्यका ट्राफिक कार्यालयले आफ्ना प्रतिनिधि नपठाएपछि ट्रायल सेन्टरहरूले अकस्मात् प्रयोगात्मक परीक्षा बन्द गरेका थिए।

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाले राष्ट्रिय सतर्कता कन्द्रको निर्देशनअनुसार अर्को सूचना प्रकाशित नभएसम्म उपत्यकाका ती सेन्टर बन्द गरिएको बताए। ‘केन्द्रले हामीलाई पठाएको चिठीअनुसार हामीले प्राविधिक टोली बनाएर सेन्टरहरूको जाँच गर्दै छौं। टोलीले प्रतिवेदन नदिएसम्म परीक्षा बन्द गरका छौं,’ निरौलाले भने, ‘टोलीले मापदण्डअनुसार ट्रायल सेन्टरले मापदण्ड पूरा गरेको/नगरेको विषयमा जाँच गर्नेछ। त्यसपछि केन्द्रसँग समन्वय गरेर ट्रायल खोल्नेछौं।’

केन्द्रले यसअघि तोकिएको निर्देशिकाविपरीत सञ्चालन भइरहेका ट्रायल सेन्टरहरूलाई तोकिएको मापदण्डअनुसार हुबहु सञ्चालन गर्न या बन्द गर्न निर्देशन दिएको थियो।

साथै, केन्द्रले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, बागमती प्रदेश मुख्यमन्त्री कार्यालय, श्रम रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेश, यातायात व्यवस्था विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथ, जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरलाई बोधार्थ दिएको थियो।

केन्द्रले उपत्यकामा सञ्चालित केही ट्रायल सेन्टर (प्रयोगात्मक परीक्षा केन्द्र)हरूले तोकिएको मापदण्डअनुसार प्रयोगात्मक परीक्षा नलिई जानीजानी परीक्षार्थीलाई फेल गराएको निष्कर्ष निकालेको छ। सतर्कताले गत चैत महिना एउटा टोली बनाएर उपत्यकाका सञ्चालन भइरहेका ट्रायल सेन्टहरूको विषयमा विस्तृत अध्ययन तथा अनुगमन गरेको थियो।

टोलीमा रहेका सदस्यहरूले ट्रायल सेन्टरमै गएर अध्ययन गरेका थिए जसअनुसार उपत्यकाका ट्रायल सेन्टरहरूले निर्देशिकाविपरीत प्रयोगात्मक परीक्षा लिएको केन्द्रले तयार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। ती ट्रायल सेन्टरहरूले सवारीचालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ ले तोकेको मापदण्डअनुसार परीक्षा नलिएको प्रतिवेदनमा जनाएको छ।

सतर्कताले ट्रायल दिँदा सवारी चालकले आफ्नै सावरी प्रयोग गर्न पाउने गरी व्यवस्था मिलाउन प्रदेश यातायात मन्त्रालयलाई चिठी लेखेर निर्देशन दिएको छ। यस विषयमा प्रदेश यातायात मन्त्रालयले सतर्कतालाई चिठी लेखेर जवाफ पठाएको छ तर यसबारे प्रष्ट पारेको छैन। ट्रायल सेन्टर प्रदेश यातायात मन्त्रालयमातहत रहने व्यवस्था छ।

प्रकाशित: ६ जेष्ठ २०८१ ०७:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App