नेपाल पछिल्लो दशकमा बुढ्यौली समाजतर्फ अग्रसर भइरहेको छ। जनगणना नतिजाले विगत ७ दशकमा वृद्धवृद्धाको जनसंख्यामा क्रमिक रूपमा बढ्दै गएको देखाएको छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार बालबालिका (१४ वर्षसम्म) को जनसंख्या २८ प्रतिशत, काम गर्ने उमेर समूह (१५ देखि ६४ वर्ष ) को ६५ प्रतिशत र वृद्धवृद्धा (६५ वर्षदेखि माथि) को जनसंख्या ७ प्रतिशत छ।
२०४८ सालदेखि बालबालिकाको संख्या घट्दै गएको तथ्यांकले देखाएको छ। २०४८ सालमा बालबालिकाको संख्या ४२.४ प्रतिशत थियो। यो प्रतिशत घटेर २०५८ सालमा ३८.७, २०६८ सालमा ३४.९ र २०७८ मा आएर २७.८ मा आएको छ।
काम गर्ने उमेर समूह (१५ देखि ६४ वर्ष ) को जनसंख्या भने बढ्दै गएको छ। २०४८ सालमा काम गर्ने उमेर समूहको जनसंख्या ५४.१ प्रतिशत रहेकोमा २०५८ सालमा बढेर ५५.४ प्रतिशत पुग्यो। त्यस्तै २०६८ सालमा ५९.९ प्रतिशत रहेको काम गर्ने उमेर समूहको जनसंख्या २०७८ मा बढेर ६५.२ प्रतिशत पुगेको छ।
वृद्धवृद्धाको जनसंख्या पनि बढ्दो क्रममा छ। २०११ सालमा २.७ प्रतिशत रहेको वृद्धवृद्धाको संख्या त्यसपछि क्रमशः बढ्दै गएर २०२८ सालमा ३.१ प्रतिशत, २०३८ सालमा ३.३ प्रतिशत, २०४८ सालमा ३.५ प्रतिशत, २०५८ सालमा ४.१ प्रतिशत, २०६८ सालमा ५.२ प्रतिशत र २०७८ सालमा ६.९ प्रतिशत पुगेको तथ्यांक कार्यालयले सार्वजनिक गरेको नतिजामा उल्लेख छ।
वृद्धवृद्धाको यो तथ्यांक बढ्दै जाने, प्रजननदर र मृत्युदर घट्दै जाने तथा आयुमा वृद्धि भएमा अबको केही दशकमा नेपाली समाजमा बुढ्यौली उमेरको जनसंख्या अधिक हुने देखिन्छ। यस्तो चुनौतीको सामना गर्न राज्य तयार हुनुपर्ने देखिन्छ।
अहिले वृद्धवृद्धाको संख्या सानो प्रतिशतमा भए पनि केही दशकभित्र यो संख्या बढ्नेछ। जनसंख्याको उमेरगत संरचना परिवर्तनका कारण उत्पन्न हुने चुनौती समाना वा व्यवस्थापन गर्न राज्य आजैदेखि तयार हुुनुपर्ने केन्द्रीय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले बताए।
‘प्रजननदर र मृत्युदर घट्दो क्रममा र बाँच्ने आयु (उमेर) बढ्दो क्रममा भएका कारणले यसरी जनसंख्याको संरचनामा परिवर्तन आएको हामीले भन्न सक्छौं,’ निर्देशक लामिछानेले भने। देशको जनसंख्या नियन्त्रणमा राख्न ६० वर्षदेखि गरेका प्रयासका कारण अहिले वार्षिक ०.९२ प्रतिशत जनसंंख्या वृद्धिदर हासिल गर्न सफलता मिलेको उनले बताए।
नेपालमा हालको जनसंख्या वृद्धिदर विश्व र एसियाको तुलनामा अलि बढी छ। विश्वव्यापी जनसंख्या वृद्धिदर ०.९० प्रतिशत र एसियामा वृद्धिदर ०.८० प्रतिशत छ। स्वास्थ्य क्षेत्रमा भएको क्रमिक सुधारले पनि आयु लम्बिएर बुढ्यौली संख्या वृद्धि हुँदै गएको हो।
त्यस्तै सहरीकरणसँगै महिला आर्थिक क्रियाकलापमा सहभागी हुन थालेकाले सन्तान कम जन्माउन थाले। उनले भने, ‘अब नेपालको जनसंख्या नीतिमा पुनर्विचार गर्न आवश्यक छ।’
जनसंख्याविद् एवं त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रमुख प्राध्यापक योगेन्द्रबहादुर गुरुङका अनुसार जनगणनाको तथ्यांकले हरेक सूचकांकमा परिवर्तन ल्याएकाले अब राज्यले कुनै पनि क्षेत्रको नीति निमार्ण गर्दा जनसंख्याका विषयमा अध्ययन गर्न आवश्यक छ।
‘६५ वर्ष उमेरमाथिका मानिसको संख्या बढ्दै छ। त्यसैले अब उनीहरूका लागि बुढ्यौलीमैत्री नीति राज्यले ल्याउनुपर्छ,’ गुरुङले भने।
उनका अनुसार नागरिकको स्वास्थ्य सेवा र शिक्षामा पहुँच बढ्दै गएकाले मृत्युदर र जन्मदर घटेको हो। सन्तान कम जन्माउने क्रम पनि बढ्दै गएको छ। अब राज्यले जनसंख्या नियन्त्रण होइन, व्यवस्थापनको नीति लिनुपर्छ।
प्रकाशित: २७ वैशाख २०८१ ०७:४३ बिहीबार