जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर– ४ ले नयाँ पुस्तालाई निगालोबाट घरेलु सामग्री बनाउने सिप सिकाइरहेको छ। जुम्लाका विभिन्न समुदायमा कामका लागि आवश्यक पर्ने निगालोका विभिन्न सामग्री बुन्ने व्यक्ति र सिप लोप हुन लागेको अवस्थामा वडा कार्यालयले युवा पुस्तालाई यस्तो तालिम दिन थालेको हो।
युवा पुस्ताको चाहनामै निगालोका सामग्री बनाउने सिप सिकाउ लागिएको वडाध्यक्ष अम्मरबहादुर रोकायाले बताए। ‘निगालोका सामग्री बनाउने सिप सिक्ने तालिममा सहभागीले स्याखु (घामपानी पर्दा ओड्ने एक प्रकारको घुम), सुपा, डाला, डोका, छाप्रीलगायत सामग्री बनाउन सिकेका छन्,’ उनले भने, ‘सिप सिक्न इच्छा गर्नेलाई सिकाउँदै छौं।’
तातोपानी–४ का खड्क सार्कीले परम्परागत सिप नै हराएर जाने अवस्था भएकाले आफूले पनि निगालोका सामग्री बनाउने सिप सिक्न थालेको बताए। ‘पहिला त निकै गाह्रो महसुस भएको थियो, सिक्दै जाँदा सहज हुँदोरहेछ,’ बनाएका सामग्री देखाउँदै उनले भने, ‘यस्ता सामग्री जुम्लाका सबै समुदायका लागि नभई हुँदैन, आवश्यकता पूरा गर्न आफैं बनाउन सक्ने भएको छु।’
उनीसँगै सिप सिकिरहेका पृथ्वी सार्कीले विभिन्न सामग्री बनाउन आए पनि थालनी गर्न र चोया काट्न अझै अभ्यास कम भएको बताए। उनले भने, ‘हामीले निगालाको चोयाबाट विभिन्न सामग्री बनाउन सिकिरहेका छौं।’
परम्परागत सिप युवा पुस्तामा हस्तान्तरणका लागि वडा नम्बर– ४ लाई सामाजिक विकास कार्यालय जुम्लाले आर्थिक सहयोग गरेपछि यहाँका युवाले यो सिप सिक्ने अवसर पाएका हुन्। जन्मदेखि मरणसम्म आवश्यक गर्ने सामग्रीसँगै सजावट र कलात्मक सामग्री बनाउने तालिम लिन पाउँदा खुसी लागेको सिकारुहरू बताउँछन्।
‘सामग्री देख्दा कसरी बुन्ने र उत्पादन गर्ने होला भन्ने खुल्दुली लागिरहेको थियो, अहिले आएर घरमै बसेर सिक्ने अवसर मिल्यो’, खड्कले भने, ‘यसले अब परम्परागत सामग्री बनाउनेसँगै व्यावसायिक बन्ने बाटो खुल्ने आत्मविश्वास बढेको छ।’
नयाँ पुस्तालाई परम्परागत सिप हस्तारण गर्न र संरक्षणका लागि १५ दिनको तालिम व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ। डोका, स्याखु, डाला छाप्रीलगायतका सामग्री बनाउने सिप सिक्दा आम्दानी पनि गर्न सकिने पृथ्वीले बताए। वडाका १० दलित युवाले यस्तो सिप सिकिरहेका छन्।
नयाँ पुस्तालाई आफ्नौ बारी र वनमा पाइने निागालोबाट विभिन्न सामग्री बनाउने सिप सिकाउन आर्थिक सहयोग गरेका सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाईंले बताए। परम्परा धानिने, सिप हस्तान्तरण हुने र आम्दानीसमेत गर्न सकिने भएकाले यस्तो सिप सिकाउने तालिम आयोजना गरिएको उनको भनाइ छ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले जंगलमा खेर गइरहेको निगालोको सदुपयोग हुने, परम्परागत सिप हस्तान्तरण हुने र आम्दानी पनि गर्न सकिने तालिमलाई निरन्तरता दिनुपर्ने बताए। उनले सिपमूलक कार्यक्रम सञ्चालन गरी युवालाई उत्पादनसँग जोड्ने र स्थानीय स्रोतको सदुपयोग हुनेगरी नीति बनाउन गाउँपालिकालाई आग्रहसमेत गरे।
तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले निगालोबाट विभिन्न सामग्री बनाउने सिप सिक्दा वनजंगल र बारीमा पाइने निगालोको सदुपयोग हुने र आयआर्जन पनि बढाउन सकिने बताए। निगालोबाट बन्ने सामग्रीको उत्पादन वृद्धि र व्यवसायीकरणका लागि पालिकाले ठोस नीति बनाएर लगानी गर्ने प्रतिबद्धता उनले गरे।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले परम्परागत सिप संरक्षण र आयआर्जन बढाउने खालका कार्यक्रममा लगानी बढाउनुपर्नेमा जोड दिए। इलम सिके गाउँमै रोजगारी पाइने र विदेश जानुनपर्ने उनले बताए। जुम्लाका आठवटै पालिकामा पर्याप्त मात्रामा निगालो पाइन्छ। तर निगालो सदुपयोग गरी युवालाई स्वरोजगारीमा बनाउन स्थानीय तहले पर्याप्त लगानी र तालिम दिन छैनन्।
प्रकाशित: १६ वैशाख २०८१ ०६:५८ आइतबार