२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

डढेलोले बाख्रा फार्म ध्वस्त

लगातारको डढेलोले अघिल्लो दिन पाँच घर र आधा दर्जन गोठ जलेर नष्ट भएको भोलिपल्टै उदयपुरमा मंगलबार बाख्रा फार्म जलेर नष्ट भएको छ भने एउटा विद्यालय र केही बस्ती नै आगलागीको जोखिममा परेका छन्।  

प्रहरीका अनुसार डढेलोबाट उम्केको आगोले अघिल्लो दिउँसो बेलका नगरपालिका– ५ घुम्नेस्थित सन्तोष मगरको बाख्रा फार्म जलेर नष्ट भएको थियो। बेलका तरी जंगलमा लागेको डढेलोबाट उम्केको आगोले घुम्नेस्थित मगरको काठ र टाटी बेराले बारेको बाख्रा फार्ममा आगलागी हुँदा तीन लाख रूपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले बताए।  

एसपी थापाका अनुसार आगलागीबाट चौपाया र मानवीय क्षति भने हुन पाएन। दिउँसो १ः३० बजे सुरु भएको आगलागीबाट मगरको तीन लाख रूपैयाँबराबर क्षति भएको छ। स्थानीय प्रहरी चौकी लालबजारबाट खटेको टोलीले स्थानीय तथा दमकलको सहयोगमा दिउँसो २ः५० बजे आगो नियन्त्रणमा लिएको उनले बताए।  

उता डढेलोकै आगो सल्केर दुई घर, दुई मतान र तीन गोठ जलेर ध्वस्त भएका र पहाडी गाउँपालिका लिमचुङबुङ–५ मा तीन गाउँ जोखिममा पर्नेगरी डढेलो फैलिएको छ।

स्थानीयका अनुसार चार दिनअघि सुरु भएको हुरुङ्मा सामुदायिक वन उपभोक्ता समूहको जंगलको डढेलोबाट सल्केको आगोबाट साविक जाँते गाविस– ५ को चौलानेस्थित अशोक राई र बयानसिंह राईको घर, मतान र गोठ तथा कुमार राईको गोठ जलेर नष्ट भइसकेको छ।  

उनीहरूको उद्धार र राहत वितरण गर्न नभ्याउँदै सोही डढेलो फैलिएर टोड्के, चौतारे र खोस्टुङका २५ घरधुरी परिवार उच्च जोखिममा परेका छन्।

डढेलोले टोड्केस्थित जनता मावि (१–१२) रसुवा जाँते र आसपासका २५ भन्दा बढी घरधुरी जोखिममा परेको विद्यालयका शिक्षक कुम्भराज राईले बताए। त्यस्तै चौतारे र तल्लो चौतारेका ५ घर र खोस्टुङका २९ घरधुरी परिवार आगलागीको उच्च जोखिममा परेको पनि शिक्षक राईले बताएका छन्।

उनका अनुसार डढेलोको लप्काको ठूलो ज्वाला विद्यालयमुनिको जङ्गलमा लपेटिरहेको छ। आगलागीको जोखिमबाट सतर्क रहन शिक्षक, विद्यार्थी र अभिभावक सबैतिर परिचालन भएको पनि राईले बताए। अघिल्लो दिन पुरै नियन्त्रणमा आइसकेको डढेलो मंगलबार बिहान एक्कासि विद्यालय र गाउँ नै जोखिममा पार्नेगरी फैलिएपछि पुरै स्थानीय त्रसित हुन पुगेका छन्।  

आगो नियन्त्रणका लागि स्थानीय समुदाय प्रत्येक घरधुरीबाट कम्तीमा एकजना खटेर डढेलो नियन्त्रणको प्रयासमा लागेका छन्।  

आगलागीको जोखिममा परेपछि स्थानीयले सदरमुकामबाट प्रहरी र वन कर्मचारीको सुरक्षा माग गरेका छन्। स्थानीयको मागअनुसार इलाका प्रहरी कार्यालय लिमचुङबुङबाट टोली पठाएर आगो नियन्त्रणको प्रयासमा सहयोग गरिरहेको एसपी थापाले बताएका छन्।

गाउँलेको आग्रहअनुसार इप्रकाबाट टोली पठाएर आगो नियन्त्रणमा सहयोग गरिरहेको थापाले बताए। एसपी थापाका अनुसार सदरमुकामदेखि टोली पठाउँदा समय लाग्ने तथा पर्याप्त जनशक्ति नभएकाले गाउँकै प्रहरीमार्फत स्थानीय उपभोक्तालाई परिचालन गरी आगो नियन्त्रण गर्न लगाइएको हो।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले आगो नियन्त्रणका लागि स्थानीयले प्रहरी र वन कर्मचारीको माग गरेको पुष्टि गरेका छन्। उनले भौगोलिक रूपमा टाढा र विकट भएकाले सुरक्षाकर्मी परिचालन गर्न समस्या भएकाले स्थानीय प्रहरी चौकी र उपभोक्ताबाटै नियन्त्रण गर्न निर्देशन दिइएको सिडिओ घिमिरेले बताए।

‘टाढा र विकट भूगोल भएकाले सदरमुकामबाट पठाइएको प्रहरी टोली घटनास्थल पुग्दासम्म घटना भइसक्ने हुनसक्छ,’ सिडिओ घिमिरेले भने, ‘त्यसैले स्थानीय प्रहरी र गाउँलेकै पहलमा आगो नियन्त्रण गर्न प्रयास जारी राख्न उपयुक्त हुन्छ भन्ने लाग्छ।’

लिमचुङबुङ गाउँपालिका डिभिजन वन कार्यालय कटारीमातहत पर्छ। तर, डिभिजन कार्यालयले भने आगो नियन्त्रणको कुनै पहल नगरेको स्थानीयको गुनासो छ। चार दिनअघि डढेलो लागेदेखि नै नियन्त्रणमा सहयोग गर्न डिभिजनमा सम्पर्क गर्दा डिभिजन प्रमुख अनिरुद्धप्रसाद साहसँग फोन सम्पर्क हुन नसकेको उनीहरूको गुनासो छ।

डढेलो नियन्त्रणका लागि वन कर्मचारी मगाउन पटकपटक सम्पर्क गर्दा डिएफओले साहले सरकारी मोबाइल नम्बर नउठाएको उनीहरूको गुनासो छ। फोन नउठेको भन्दै सिडिओमार्फत डिएफओ साहलाई वन कर्मचारी पठाएर डढेलो नियन्त्रण गर्न निर्देशन दिनका लागि स्थानीयले आग्रह गरेको बताएका छन्।

व्यापक स्थानीयको सहभागितामा हाललाई डढेलो केही मत्थर हुनेगरी नियन्त्रणमा आएको तर चर्को हावाहुरी चलिरहेकाले कुनै पनि बेला उर्लेर गाउँमा क्षति गर्न सक्ने सम्भावना बाँकी नै रहेको स्थानीयले बताएका छन्। ३–४ दिनयता दिनरात लगातार डढेलो नियन्त्रण गर्ने काममा व्यस्त हुनुपर्दा मकै छर्ने समय नै भड्किन लागेको स्थानीयको गुनासो छ।

प्रकाशित: १२ वैशाख २०८१ ०८:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App