२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कपिलवस्तु हात्तीपाइलेको उच्च जोखिममा

फाइल तस्वीर

१५औं चरणको औषधि खुवाइए पनि असफल बनेको कपिलवस्तुमा फेरि हात्तीपाइलेविरुद्धको महाअभियान सञ्चालन गरिने भएको छ। हात्तीपाइलेविरुद्ध जिल्लामा विगत १५ वर्षअघिदेखि नै अभियान सञ्चालन गरिए पनि नागरिकहरूले औषधि सेवन नगरी पोका पारेर राख्दा अभियान असफल हुँदै आएको छ।

१६ चरणको अभियान यही वैशाख १६ गते सुरु गरिने भएको हो। हात्तीपाइलेविरुद्ध नेपालमै सबैभन्दा बढी औषधि खुवाए पनि असफलको सूचीमा पर्ने जिल्ला कपिलवस्तु बनेको छ। कपिलवस्तुसहित सातवटा जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वाथ्य अधिकृत रामकुमार महतोका अनुसार हात्तिपाइले रोग निवारणका लागि जोखिम समूहमा रहेका कपिलवस्तुसहित सात जिल्लामा औषधि खुवाउने कार्यक्रम सञ्चालन हुन लागेको हो।

जनस्वास्थ्य अधिकृत महतोका अनुसार कपिलवस्तु, रसुवा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र झापा जिल्लामा आमऔषधि सेवन कार्यक्रम चल्ने छ। स्वास्थ्य कार्यालय कपिलवस्तुले तौलिहवामा राखेको अन्तरक्रिया कार्यक्रममा उनले यी जिल्लामा यो वर्ष औषधि खुवाइसकेपछि पुनः अध्ययन हुने र उक्त अध्ययनमा सकारात्मक नतिजा देखिए औषधि खुवाउने कार्यक्रम यसपटकको नै अन्तिम हुने उनले जानकारी दिए।

‘यस पटकको औषधि वितरण कार्यक्रम नै अन्तिम हुनेगरी हामीले काम अगाडि बढाएका छौं,’ उनले भने, ‘त्यसकारण यो अभियानलाई सफल बनाउन हामी सबैसँग आग्रह गर्छौं।

यसपटकको आम औषधि वितरण कार्यक्रम सम्पन्न भएपछि हामीले सर्भे गर्नेछौं। उक्त सर्भेमा हात्तीपाइले निवारणको सकारात्मक नतिजा आए अर्को पटकबाट औषधि वितरण कार्यक्रम नै गर्नु पर्दैन।’

यसपटक नया रणनीतिसाथ औषधि सेवन गराउने कार्यक्रम छ। जिल्लाका पालिका प्रमुख जनप्रतिनिधिलगायतकाको टोलीले भव्य कार्यक्रम राखेर औषधि सेवन गर्नेछन्। नागरिकलाइै औषधिबारेमा रहेको भ्रम चिर्दै औषधि खुवाइनेगरी कार्यक्रम अघि बढाइएको छ।

विगतमा ६० जिल्लामा हात्तीपाइले रोगको जोखिम थियो। सरकारले सन् २००३ देखि औषधि वितरण कार्यक्रम सुरु गरेसँगै जोखिम कम हुँदै गएको हो।

५३ वटा जिल्लामा औषधि वितरण कार्यक्रम बन्द भइसकेको छ। नेपालले सन् २०२० मा नै हात्तीपाइले निवारण गरिसक्ने लक्ष्य लिएको थियो। तर, लक्ष्यअनुसार उपलब्धि हाँसिल हुन नसकेपछि सन् २०३० भित्र निवारण गर्ने भनेर नयाँ लक्ष्य लिइएको छ।

हात्तीपाइले निवारण हुन राष्ट्रिय  जिल्लास्तरमा माइक्रोफाइलेरियाको दर एक प्रतिशतभन्दा कम वा एन्टिजेनेमियाको दर दुई प्रतिशतभन्दा कम हुनुपर्छ। हात्तीपाइले रोगविरुद्धको औषधि दुई वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घरोगी, एक हप्ता नपुगेका सुत्केरी र खाली पेटमा सेवन गर्न हुँदैन।

जिल्लाका सबै पालिकामा सबैपक्षको सहकार्यमा अभियानले अन्तिम नतिजान्मुख रहनेगरी अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख नारायणप्रसाद चौधरीले बताए।

हात्तीपाइले रोगविरुद्ध प्रयोग भइरहेका औषधिहरू डाइथाइलकार्बामाजिन १०० एमजी र ४०० एमजीको अल्बेन्डाजोल औषधि खुवाइने महतोले बताए। वैशाखमा सात वटा जिल्लाका ५० लाख ७८ हजार जनालाई औषधि खुवाउने लक्ष्य लिइएको छ। यसका लागि ६ हजार स्वास्थ्यकर्मी र पाँच हजार आठ सय स्वयंसेविका परिचालन हुनेछन्।

हात्तीपाइलेविरुद्धको औषधि पूर्णरूपमा सुरक्षित रहेको र ढुक्कसँग सेवन गर्न कपिलवस्तु अस्पतालका मेसु विपीन जैसवलाले आग्रह गरेका छन्। औषधिले साइड इफेक्ट गर्ने र धेरै चक्की एकैपटक खानुपर्ने भएकाले अधिकांशले औषधि सेवन नगर्दा अभियान नै असफल बन्न पुगेको छ।

खासगरी सहरीया र शिक्षित वर्गले नै औषधी सेवन नगरेको अध्ययनले देखाएको छ। किटजन्य रोग अनुगमन तथा तालिम केन्द्र हेटौंडाले गत पुसमा जिल्लाको चार पालिकामा गरेको आइडिए इनपेक्ट सर्भे पहिलो) नमुना परीक्षणबाट कपिलवस्तु हात्तीपाइलेमा असफल रहेको देखाएको थियो।

कपिलवस्तुको महाराजगन्ज र कृष्णनगर नगरपालिका तथा बाणगंगा र शिवराज नगरपालिकामा गरी एक हजार २५८ जनाको नमुना रक्त परीक्षण गर्दा १२ जनामा माइक्रो फाइलेरियाको जिवाणु फेला परेको स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन उदयचन्द्र चौरसियाले बताए।

हात्तीपाइले उच्चेरिया बाक्रोफटी नामको परजीविबाट लाग्छ। यो परजीवी एक व्यक्तिवाट अर्कोमा लामखुट्टेको टोकाइबाट सर्छ। हात्तीपाइले लागेकामा खुट्टा, यौनांग र हात सुन्निने गर्छ। 

प्रकाशित: २ वैशाख २०८१ १०:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App