१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अनुदानको चामलका गोदाम रित्तै : बर्सेनि अभाव झेल्दै जुम्लावासी

अनुदानको चामल बेच्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाम रित्तिएका छन्। चालु आर्थिक वर्षको कोटाअनुसारको चामल सकिएपछि खाद्य व्यवस्था कार्यालयका गोदामहरु रित्तिएका हुन्।

वार्षिक ६ हजार क्विन्टल चामल आउने गरेर कोटा तोकिएकोमा सबै चामल आइसकेको छ, तर ५ सय २ क्विन्टल मात्रै मौज्दात छ। अहिलेको मागअनुसार मौज्दात चामल एक हप्ताका लागि पनि नपुग्ने कम्पनी लिमिटेडका सहायक लक्ष्मण शर्माले बताए।

प्रति बाेरा २ हजार ३ सय रुपैयाँ पर्ने स्टिम जिरा चामल गोदाममा भए पनि पर्याप्त छैन। प्रतिकेजी ९२ रुपैयाँमा यो चामल किनबेच भइरहेको छ। दैनिक ५० देखि ६० जना अनुदानको चामल लिन आउँछन्।

मौज्दातका आधारमा एकजनालाई २५ केजी मात्रै दिने गरिएको छ। अरुवा मोटा चामलको सबैभन्दा धेरै माग छ, तर त्यही चामल पनि गोदाममा छैन। ग्राहकको मागका आधारमा थप ४ हजार कोटा चामल माग गरिएको छ। थपिएको चामल ल्याउने तयारी भइरहेको सहायक शर्माले बताए।

खड्का एन्ड सन कन्ट्रक्सन प्रालिले चामल ओसार्ने जिम्मेवारी पाएको छ। थपिएको चामल आउनेवित्तिकै चालु आर्थिक वर्षको असारसम्म अनुदानको चामल सेवाग्राहीले सहजै रुपमा पाउनेछन्।

स्टिम जिरा, सोना मन्सुली, अरुवा मोटा र अरुवा मध्यम चामल कम्पनीले बेचिरहेको छ, तर अहिले यी जातका कुनै पनि चामल गोदाममा छैन। जुम्लामा राजापुर, नेपालगञ्ज र सुर्खेतदेखि चामल आउने गरेको छ।

गुणस्तरीय र बजार मूल्यभन्दा कम मूल्यमा चामल पाइने भएकाले सेवाग्राहीको घुइँचो पनि खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको कार्यालयमै लाग्ने गरेको छ। खलंगामा रहेको कम्पनीको कार्यालयसँगै जुम्लाकोट र धापा डिपो पनि खाली छन्। यी डिपोमा लामो समयदेखि चामल बेच्ने काम भइरहेको छैन।

चालु आर्थिक वर्षमै २ सय ७६ क्विन्टल ५० केजी चामल जुम्लाकोट डिपोले बेचेको थियो। ३ सय ४० क्विन्टल चामल धापा डिपोले बेचेको हो। पातरसांघु र बाजागाड बिक्री केन्द्रबाट ७ सय क्विन्टल चामल बिक्री भएकोमा अहिले खाली नै छन्। लुम बिक्री केन्द्रबाट चामल नै किनबेच भइरहेको छैन।

सबैभन्दा बढी पातारासी र सबैभन्दा कम चामल सिंजा, हिमा, कनकासुन्दरी र तिला गाउँपालिकामा जाने गरेको खाद्य व्यवस्था कार्यालय जुम्लाले जनाएको छ। ‘चामलको माग अधिक छ। गोदाममा चामल छैन’, सहायक शर्माले भने, ‘ढिलो गरी चामल आयो भने त संकट नै आइपर्ने देखिन्छ।’  

विपद् र कुनै घटना भइहालेमा उपलब्ध गर्नुपर्ने चामल पनि नरहने स्थिति रहेको उनले बताए। सुलभ मूल्यको कम्पनीको चामल खाइरहेका जुम्लाबासीले चामल अभावसँगै बजारको महँगो चामल उपभोग गर्न बाध्य छन्। थप कोटाको चामल तत्काल ढुवानी गरेर ल्याउन जुम्लाबासीले माग गरेका छन्।

सदरमुकाम खलंगामा सस्तो कम गुणस्तरको चामल २ हजार रुपैयाँदेखि २ हजार ५ सय रुपैयाँसम्म किनबेच भइरहेको छ। कम कोटा निर्धारण गर्दा बर्सेनि जुम्लाबासीले अनुदानको चामल अभाव झेलिरहनु परेको छ।

प्रकाशित: २६ चैत्र २०८० ०९:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App