१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वडाका सिफारिस साइबर जाने बाध्यता

घोराही उपमहानगरपालिका–१२ का भेगबहादुर बोहरा केही दिनअघि श्रीमती तथा छोरासँगको नाता प्रमाणित प्रतिलिपिका लागि वडा कार्यालय पुगे। वडा कार्यालयका कर्मचारीले उनलाई सोधे, ‘अंग्रेजीमा कि नेपालीमा?’ वडा कार्यालयबाट नेपाली तथा अंग्रेजी माध्यमबाट नागरिकले सिफारिस पाउने प्रावधान छ। अंग्रेजी माध्यमबाटै नाता प्रमाणितको प्रतिलिपी माग गरेका ती सेवाग्राहीलाई वडा कार्यालयले भन्यो, ‘साइबरमा जानुस्।’

ती कर्मचारीका अनुसार यो वडा कार्यालयमा अंग्रेजी माध्यमबाट कागजात बनाउन सक्ने दक्ष जनशक्ति रहेनछ। त्यसकारण नै वडाले अंग्रेजी माध्यमबाट बनाउनुपर्ने हरेक कागजातका लागि साइबरमै जान भन्दो रहेछ। सोहीअनुसार बोहरा पनि अंग्रेजी सिफारिस लिन वडा कार्यालयबाट साइबरमा पुग्नुप¥यो। बोहरा मात्रै हैनन्, यो वडामा अंग्रेजी सिफारिस लिन आउने हरेक सेवाग्राहीले वडाबाट नभई साइबरबाट सिफारिस पाउँछन्।

‘हाम्रो वडा कार्यालयमा अंग्रेजी माध्यमबाट सिफारिस वा कुनै पनि कागजातका लागि आउने हरेक सेवाग्राहीलाई हामीले वडाबाटै यो सुविधा दिन सकिरहेका छैनौं,’ यो वडाका वडाध्यक्ष द्रोण बहकरीले भने, ‘हामीहरूले साइबरमा जान भनेर सल्लाह दिन्छौं।’

वडाध्यक्ष बहकरीका अनुसार वडा कार्यालयले वडाको लेटरप्याड सेवाग्राहीलाई लिन्छ। अनि उनीहरू साइबरमा पुगेर अंग्रेजीमा सिफारिसको व्यहोरा लेख्न लगाउँछन्। साइबरले तयार पारिदिने सिफारिसपत्र बोकेर सेवाग्राही पुनः वडा कार्यालय पुग्छन् र वडाध्यक्षले उक्त सिफारिसलाई प्रमाणित गरिदिन्छन्।

‘साइबरबाट सिफारिस लेखेर सेवाग्राहीले ल्याएपछि वडाले त्यसलाई प्रमाणित गरिदिन्छ,’ वडाध्यक्ष बहकरीले भने, ‘के गर्नु वडावासीलाई साइबरमा पठाउनुपर्ने हाम्रो बाध्यता नै हो।’ यो वडाबाट अंग्रेजी माध्यमको सिफारिस लेख्न पायक पर्ने थलो भनेकै नारायणपुर वा घोराही बजार हो।

सुरुमा सिफारिसका लागि वडा कार्यालयमा पुग्ने सेवाग्राहीलाई त्यहाँबाट सिफारिस लेख्न घोराही वा नारायणपुर पुग्नै पर्छ। ‘सिफारिस लेख्न लगाउनकै लागि घोराही या नारायणपुर पुग्नु पर्दोरैछ,’ सेवाग्राही भन्छन्, ‘एक दिनको पुरै समय त यताउता गर्दा गर्दैमा सकिन्छ नि!’

घोराही उपमहानगरपालिका–११ ले पनि अंग्रेजी माध्यमबाट लेखिएको कुनै पनि सिफारिसका लागि साइबर पठाउँदै आएको छ। यो वडामा पनि अंग्रेजी माध्यमबाट लेखेर दिनसक्ने दक्ष जनशक्तिको व्यवस्थापन हुन सकेको छैन। साईबरले सिफारिस तयार पारिदिएपछि मात्रै सेवाग्राहीले यो सुविधा पाउँछन्।

‘वडामा यो खालको जनशक्ति नहुँदा वडावासीलाई सास्ती भइरहेको छ,’ यो वडाका वडाध्यक्ष कुलबहादुर लामिछानेले भने, ‘यो हाम्रो बाध्यता हो, नागरिकलाई सास्ती दिन मन नभए पनि बाध्यताले यसो गरिरहनु परेको छ।’

वडा तहबाटै अंग्रेजी माध्यमबाट सिफारिस दिने व्यवस्था नहुँदा नागरिकले स्थानीय तहबाटै अनावश्यक सास्ती बेहोर्नु परिरहेको छ। अझ विकटका वडाका नागरिकहरूलाई त यो दुःख झनै छ। घोराही उपमहानगरपालिकाको १९ नम्बर वडा सबैभन्दा बिकट वडा हो। यहाँको वडा कार्यालयले पनि अंग्रेजी सिफरिस आफैंले लेखेर दिन सकिरहेको छैन। यसले पनि सेवाग्राहीलाई साइबरमै पठाउँछ। तर यो वडामा कतै पनि साइबर सेन्टरहरू छैनन्। सिफारिसका लागि साइबर खोज्दै स्थानीयलाई झर्नुपर्ने भनेकै घोराही बजार हो।

सिफारिस लेखाउनकै लागि अटोमा आउनुपर्ने बाध्यतामा रहेका यहाँका स्थानीयको सिफारिस लेख्न लगाउनकै लागि थप पाँच सय रूपैयाँ अटो भाडामा मात्रै खर्च हुन्छ। ‘हाम्रो वडामा अंग्रेजी माध्यमबाट सिफारिस दिन सकिरहेका छैनौं,’ यो वडाका वडाध्यक्ष ज्ञानबहादुर रायमाझीले भने, ‘सिफारिस लेखनका लागि घोराहीमा रहेका साइबरमा सेवाग्राही पुग्नुपर्ने बाध्यता छ, आउँदा–जाँदा मात्रै झन्डै पाँच सय रूपैयाँ त भाडा नै खर्च हुन्छ।’

रायमाझीले कतिपय वडावासीको कागजात त घोराहीमै पुगेर प्रमाणित गरिदिने गरेको समेत बताए।

सिफारिसका लागि वडा कार्यालयमा पुग्ने सेवाग्राहीहरूलाई अंग्रेजी माध्यमका लागि फेरी साइबर धाउनको सास्ती त छँदैछ, त्यसमा पनि स्थानीय तहकै कारण स्थानीयहरूलाई आर्थिक भार समेत थोपरिएको छ।

सिफारिसका लागि साइबर पुग्ने सेवाग्राहीले सिफारिस लेखिदिएबापत साइबरलाई थप रकम तिर्नु परिरहेको छ। घोराही–१४ का स्थानीय कुलराज पोखरेलले भने, ‘हामीले वडा कार्यालयमा सिफारिस दस्तुर बुझाइसकेपछि त त्यही रकममै सिफारिस पाउनुपर्ने हो, तर साइबरमा पुगेर थप रकम बुझाउनुपर्छ, यसले त स्थानीयलाई दोहोरो आर्थिक मार परिरहेको छ।’

उनले केही दिनअघि मात्रै अंग्रेजी माध्यमको सिफारिस लेख्न लगाएबापत थप एक सय ५० रूपैयाँ साइबरलाई तिर्नुपरेको बताए।

घोराही उपमहानगरका सबै वडामा रहेको यो समस्या उपमहानगरले समाधान गरेको भने छैन। उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले अंग्रेजी माध्यमको सिफारिसका लागि धेरै समस्या रहेको स्वीकार गरे।

‘अंग्रेजी माध्यमबाट पाउनुपर्ने सिफारिसका लागि नागरिकहरूले सास्ती बेहोर्नु परिरहेको छ,’ चौधरीले भने, ‘यो समस्या कसरी समाधान गर्ने भनेर योजना बनाइरहेका छौं।’ प्रमुख चौधरी स्वयं यो समस्या आफूले पनि भोग्नुपरेको बताए।

अमेरिकामा रहेकी छोरीका लागि अंग्रेजी माध्यमको कागजात तयार पार्नुपर्ने थियो। ‘यो समस्याबाट मै पनि पीडित भएको छु भन्दा पनि हुन्छ,’ उनले भने, ‘मैले पनि एउटा सिफारिस बनाउनुपर्ने थियो, सिफारिसमा गलत लेखिदिएछन्।’

उनले अब हरेक वडामा अंग्रेजी माध्यमबाट दिइने हरेक सिफारिसको नमुना तयार पारेर दिने र सोही आधारमा वडाबाटै नागरिकले सेवा पाउने वातावरण निर्माण गरिने बताए। ‘वडाबाट हुने सबै खाले सिफारिसको अंग्रेजी नमुना वडालाई दिइने र सोही आधारमा सेवाग्राहीलाई वडाबाटै सेवा प्रदान गर्ने गरि काम थाल्छौं,’ उपमहानगरका प्रमुख चौधरीले भने। विशेषगरी विदेश अध्ययन गर्न जाने नागरिकलाई अंग्रेजी माध्यमबाट लेखिएको सिफारिस आवश्यक पर्ने गरेको छ।

प्रकाशित: २५ चैत्र २०८० ०९:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App