१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सेना बढाउँदै रुस, चिन्तामा नेपाली

रूसी सेनामा रहेका नेपालीको उद्धार गर्न, मृतकका परिवारलाई राहत दिन र सम्पर्कविहीनहरूको अवस्था जानकारी गराउन माग राखेर काठमाडौंस्थित रुसी दूतावासनजिकै बालुवाटारमा गरिएको प्रदर्शन। फाइल तस्बिर: नागरिक

दुई वर्षदेखि युक्रेनसँग युद्धमा रहेको रुसले सैन्य भर्तीलाई तीव्र पारेको छ। मार्च २२ मा १४४ जनाको ज्यान जानेगरी मस्कोस्थित सिटी हलमा भएको हमलापछि रुसले सैनिक भर्नालाई तीव्रता दिएको हो। मस्कोमा भएको उक्त हमला पछिल्लो दशकको सबैभन्दा घातक मानिएको छ।

उक्त हमलाको जिम्मा इस्लामिक स्टेट (आइएस) ले लिएको छ। रुसी राष्ट्रपति भ्लादमिर पुटिन भने यसलाई स्किार्न तयार छैनन्। उनले हमलामा युक्रेनको हात रहेको दाबी गर्दै आएका छन्। राजधानीमै भएको घातक हमलापछि सैन्य जनशक्ति बढाउन रुसले भर्ना अभियानलाई तीव्र्रता दिएको बताइएको छ।

रुसको रक्षा मन्त्रालयले उक्त हमलापछि सेनामा भर्ना हुन चाहनेको संख्या बढेको जनाएको छ। मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा ‘पछिल्लो डेढ सातामा सैन्य भर्ती केन्द्रहरूमा युक्रेनविरुद्धको विशेष सैन्य अभियानमा भाग लिन चाहनेको संख्या उल्लेख्य रूपमा बढेको छ।’

पछिल्ला १० दिनमा १६ हजारजनाले करार सैनिकमा भर्ना हुन हस्ताक्षर गरेको मन्त्रालयले जनाएको छ। सन् २०२४ का तीन महिनामा एक लाख जना भर्ती भइसकेको तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको छ।

‘धेरैले सैन्य भर्ना सम्झौतामा हस्ताक्षर गर्नुको मुख्य कारण मार्च २२ मा मस्कोमा भएको त्रासदी हमला हो। उनीहरूमा बदला लिने इच्छा छ,’ रक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। क्रेमलिनका प्रवक्ता दामित्री पेस्कोभले सेनामा भर्ना हुनेको संख्या बढ्नुले रुसी समाजले पुटिन र युक्रेनमाथिको आक्रमणलाई समर्थन गरेको रूपमा अर्थ्याएका छन्। रुसी राष्ट्रपति पुटिनले गत वर्ष युक्रेन आक्रमणमा रुसका ६ लाखभन्दा बढी सैनिक परिचालित भएको बताएका थिए। उनले यो संख्यालाई बढाएर १३ लाख २० हजार पुर्‍याउन सेनाका अधिकारीहरूलाई आदेश दिएका थिए।

रुसका रक्षामन्त्री सर्गेई सोइगुले २०२४ मा ७ लाख ४५ हजार करार सैनिक थपेर युक्रेनविरुद्ध युद्धमैदानमा पठाउने योजना रहेको बताएका थिए। उनले गत महिना यस वर्षको अन्त्यसम्ममा रुसी सेनालाई थप बलियो बनाउने उद्घोष गरेका थिए।

रुसले यसरी सेनामा भर्ना अभियानलाई तीव्रता दिँदा नेपालमा भने चिन्ता बढेको छ। पहिला नै रुसी सेनामा भर्ना भएका नेपालीका कारण सरकारको टाउको दुखिरहेको छ। त्यसमाथि रुसले सेनामा भर्ती अभियानलाई तीव्रता दिएपछि त्यसको थप असर नेपालमा पनि पर्नेछ।

 रुसी राष्ट्रपति पुटिनले सन् २०२२ मा विदेशी नागरिकलाई आफ्नो सेनामा भर्ती हुने बाटो खुला गरेका थिए। उनले रुसी सशस्त्र बल, सेना वा सैन्य समूहमा न्यूनतम एक वर्ष सेवा गर्ने विदेशी नागरिकलाई सहज रूपमा रुसी नागरिकता दिने, आकर्षक तलब, सुविधा दिने र उनीहरूका परिवारलाई आवासीय अनुमतिपत्र समेत दिने व्यवस्था गरिएको बताएका थिए।

रुसले विदेशीका लागि आकर्षक योजना ल्याएपछि नेपाल, श्रीलंकाजस्ता देशका विपन्न परिवारका युवा त्यहाँको सेनामा भर्ना हुन गएका छन्। भारतीयसमेत रुसी प्रलोभनमा परेका छन्।

सयौं नेपाली विभिन्न मुलुक हुँदै रुसमा पुगेर सेनामा भर्ती भएका छन्। रुसमा भर्ना भएको नेपालीको यर्थाथ विवरण अहिलेसम्म प्राप्त हुन भने सकेको छैन। नेपाल सरकारले पटकपटक कूटनीतिक नोट पठाउँदा पनि रुसले कुनै तथ्यांक उपलब्ध गराएको छैन।

रुसी सेनाबाट युक्रेनविरुद्धको लडाइँमा खटिएका १९ नेपालीको ज्यान गएको नेपाल सरकारले पुष्टि गरिसकेको छ। मृत्यु भएका थप १५ नेपालीको पहिचान पुष्टि गर्न रुसले सम्बन्धित परिवारका सदस्यको डिएनए नमुना संकलन गरेको छ।

रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता ल्याउन उनीहरूका परिवारसँग समन्वय गर्दै आएकी अभियन्ता कृतु भण्डारी युक्रेनसँगको युद्धमा ज्यान गुमाएका ३९ नेपालीको किरिया भइसकेको बताउँछिन्। ‘घाइते भएका ११७ जना नेपाली त हाम्रो प्रत्यक्ष सम्पर्कमै छन्,’ उनले भनिन्।

परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा अढाई सयभन्दा बढीले रुसी सेनामा गएका आफन्त सम्पर्कबिहीन भएको भन्दै खोजीका लागि निवेदन गरेका छन्। रुसी सेनामा भर्ना भएका कतिपयले उद्धारका लागि सरकारलाई आग्रह गरिरहेका छन्।

रुस सरकारको असहयोगले युद्धभूमिमा रहेका नेपालीको उद्धार हुन सकेको छैन। ‘उनीहरूलाई देश फर्काउने सरकारको प्रयास निष्प्रभावी छ,’ अभियन्ता भण्डारी भन्छिन्, ‘यस्तोमा रुस जान नरोकिए थप जोखिम बढ्छ। रुसले सैन्य भर्तीलाई तीव्रता दिएका बेला नेपालले त्यहाँका लागि रोकिएको श्रम स्वीकृति खोलेको छ। यो निकै गैरजिम्मेवार कदम हो।’

प्रकाशित: २३ चैत्र २०८० ०७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App