भदौको पहिलो साता कपनको मिलनचोक पुग्दा बूढानीलकण्ठ–१० का ईश्वर महर्जन पसलमा छिरेको खहरेको भेल हेर्दे निराश देखिन्थे। चैतको दोस्रो साता उनको पसलमा पुग्दा उनी आकाशको बादल नियाल्दै निराश देखिए। कपनको चकुन्चा (खहरे) खोलेको सात महिना बित्दा पनि यसको व्यवस्थापन नहुँदा उनी निराश देखिएका हुन्।
‘छोपिएको खहरे त खोले, तर व्यवस्थापनमा ध्यान दिएनन्,’ उनले भने, अब त आकाशमा बादल लाग्दा पनि मनमा डरको भेल पसिहाल्छ।’ खुलेको खहरेमा फोहोर पानी बग्ने गरेको बताउँदै उनले दिनभर नाक थुनेर व्यापार गर्नु परेको गुनासो सुनाए। ‘फोहोरको दुर्गन्धले स्वास्थ्यमा पनि समस्या आएको छ,’ उनले भने, ‘वर्षापछि यो समस्या झनै बल्झिने छ।’
उनी मात्र होइन, खोलाको उत्खननपछि व्यवस्थापनमा ध्यान नदिएका कारण यस भेगका सयौं सर्वसाधारणले लामो समयदेखि सास्ती भोग्दै आएका छन्। हतारमा डोजर चलाएको काठमाडौं महानगरले कपनको चकुन्चा खहरेको व्यवस्थापनमा ढिलासुस्ती गर्दा सर्वसाधारण समस्यामा परेका हुन्।
उत्खननको क्रममा खहरे खोलाभन्दा उत्तरमा रहेका बूढानीलकण्ठका सर्वसाधारणले विरोध गरे पनि दक्षिणमा रहेका काठमाडौं महानगरपालिकातर्फका कतिपय सर्वसाधारण चुप रहेका थिए। तर फोहोरको दुर्गन्धले दुवैतिरका सर्वसाधारण समस्यामा परेपछि अहिले दुवैतिरबाट विरोधको आवाज निस्कन थालेको छ।
‘सुरुमा के के होला भन्ने धेरैमा रह्यो,’ दुर्गाविक्रम थापा भन्छन्, ‘अहिले यो लथालिंग अवस्था देख्दा दिक्क लाग्छ। कपनको खहरे खोला उत्खनन अरूका लागि रमिता भए पनि यहाँका स्थानीयका लागि जीवन–मरणको प्रश्न रहेको उनले बताए। ‘मानवीय, सामाजिक र आर्थिक सबैबाट यो क्षेत्रका मानिस समस्यामा छन्,’ थापाले भने, ‘तत्काल यसको समाधानको लागि सरोकारवाला लाग्नु जरुरी छ।’
बुढानीलकण्ठ–१० का वडाध्यक्ष नवराज भट्टराईले पनि काठमाडौं महानगरले हतारमा खहरे खोलेको तर व्यवस्थापनमा चासो नदेखाएका कारण समस्या थपिएको बताए। ‘यो त सर्वसाधारणलाई दुःख दिने काम मात्र भएको छ,’ उनले भने, ‘यसले हामी सबैलाई निराश बनाएको छ।’
वडाध्यक्ष भट्टराईले त्यति बेला महानगरले एकलौटी ढंगबाट अगाडि बढ्दा जोखिमको अवस्था सिर्जना हुन सक्ने अनुमान गरिएको सुनाए। ‘हामीले त्यति बेला नै पूर्व तयारीविना अगाडि बढ्न हुन्न भनेका हौं,’ उनले भने, ‘तर महानगरले सबै हामी जिम्मा लिन्छौं भन्ने हिसाबले अगाडि बढेको थियो।’
कपनका सर्वसाधारण कहरको अवस्थामा रहेको बताउँदै यो वर्षामा त झनै डरलाग्दो अवस्था आउन सक्ने भट्टराईको बुझाइ छ। त्यति बेलाको माहौलमा विरोध गर्ने अवस्था नरहेकाले यस्तो अवस्था आएको पनि उनले सुनाए।‘हामी विकास विरोधी थिएनौं, तर त्यति बेला विरोधी देखाउन खोजियो,’ उनले भने, ‘सम्भावित जोखिम हुने देख्दादेख्दै पनि चुप लाग्न बाध्य भयौं। हाम्रो आवाज दबाइयो।’
कपन क्षेत्रमा लामो समयदेखि छोपिएर रहेको चकुन्चामा अघिल्लो साउनमा काठमाडौं महानगरले डोजर प्रयोग गरेर उत्खनन गरेको थियो। खुला ठाउँमा मलमूत्र समेत मिसिएका कारण यो भेग दुर्गन्धित छ। अझ यसमा पनि प्लास्टिक लगायत अन्य फोहोरहरू पानीमा थुप्रेपछि पानी पनि जम्न थालेको छ। उत्खननपछि खहरेछेउमा पर्खाल लगाउन माग गरे पनि काठमाडौं महानगरपालिकाले बेवास्ता गर्दै आएको स्थानीय बताउँछन्।
यता काठमाडौं महानगरपालिका भने आफूहरूले काम सुरु गरेको बताएको छ। ‘हामी बर्खाको भेल नपस्ने गरी बनाउँदैछाैं,’ काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर भन्छन्, ‘काम अगाडि बढिरहेको छ।’ तर, सर्वसाधारण भने यो पत्याउन सकिरहेका छैनन्।
कामको गति देखेका उनीहरूले समस्याको समाधान नहुने सुनाउँछन्। ‘हामीले व्यवस्थापनका लागि जति आवाज उठाए पनि सुनुवाइ भएको छैन,’ स्थानीय विनोद पौडेल भन्छन्, ‘अब हामी समाधानको लागी भन्दा पनि अर्को विकराल समस्याको दुखद् प्रतीक्षामा छाैं।’
प्रकाशित: २२ चैत्र २०८० ०८:१३ बिहीबार