२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

‘नास्तिकता प्रवर्द्धन’ मा अमेरिकी रकम खर्च गरेको प्रमाणित गर्न चुनौती

मानववादी समाज (सोच) नेपालले धर्म परिवर्तन र अनास्था फैलाउने प्रयोजनमा अमेरिकी रकम खर्च गरेको प्रमाणित गर्न चुनौती दिएको छ। सोच नेपालका अध्यक्ष उत्तम निरौलाले एक विज्ञप्ति सार्वजनिक गर्दै यस्तो चुनौती दिएका हुन्। 

नास्तिकता प्रवर्द्धन गर्न अमेरिकी सरकारको करोडौँ रकम सोच नेपालमार्फत नेपालमा खर्च भएका समाचार पछिल्लो समय प्रकाशित भएका थिए। तीनै समाचारको खण्डन गर्दै निरौलाले यस्तो चुनौती दिएका हुन्।

‘सोच नेपाल नेपालको संविधान, कानून, मानवअधिकार र मानवीय मूल्य मान्यताविरुद्धको कार्य र व्यक्तिको आस्थामा प्रहार गर्ने कुराको कल्पना पनि गर्न सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘उल्लिखित कुनै पनि कार्य नगरे नगराएको हुँदा, गरे गराएको प्रमाणित गर्न चुनौती दिन्छौँ।’

अमेरिकी संसद्मा एक सांसदले बोलेको कुराको सत्यतथ्य खोजबिन गरेर गहिराइमा जानुको सट्टा अनर्गल प्रचारप्रसारमा संलग्न रहनु दुःखद रहेको सोच नेपालको विज्ञप्तिमा उल्लेख छ।

‘संस्थासँग सम्बद्ध कुनै पनि सूचना समाचार सामग्रीका रुपमा प्रस्तुत गर्नुअघि सम्बद्ध संस्थासँग सम्पर्क गर्नु आवश्यक छ। सञ्चार माध्यमका सामान्य सिद्धान्त शुद्धता, सन्तुलन र विश्वसनीयतासमेतलाई पालना गरेर सञ्चार माध्यमको विश्वसनीयता कायम राख्न सादर अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा आफूहरू १७ वर्षदेखि मानववाद, मानव अधिकार र सुशासनको क्षेत्रमा देशव्यापी काम गरिरहेको उल्लेख गर्दै संस्थाको मुख्य उद्देश्य अहिंसा, सहअस्तित्व, सहकार्य, मैत्री भावलाई प्रवर्द्धन गर्नु रहेको उल्लेख छ। मानवद्वारा कुनै पनि धर्म, संस्कार र संस्कृतिका नाममा थोपरिएका अन्धविश्वास, रुढिवाद, जातीय छुवाछुत, र कुरीति विरुद्ध कार्य गर्नु पनि आफ्नो उद्देश्य रहेको विज्ञप्तिमा उल्लेख छ।

मानवीय आत्मसम्मानको प्रवर्द्धनमा मार्गदर्शन गर्ने पूर्वीय दर्शनका चिन्तकहरू कपिल, गौतम बुद्ध, जयपृथ्वीबहादुर सिंहले सुरु गरेको मानववादी दृष्टिकोण प्रवर्द्धनमा आफूहरू क्रियाशील रहेको सोच नेपालको दाबी छ। विज्ञप्तिमा भनिएको छ, ‘यी चिन्तकले सुरु गरेको अभियानलाई निरन्तरता दिनु धर्मविरुद्धको क्रियाकलाप कसरी हुन सक्छ रु हामी आश्चर्यमा परेका छौँ।’

पछिल्ला समाचार र घटनाले संस्था र आबद्ध पदाधिकारी एवम् पूर्व पदाधिकारीसमेतको प्रतिष्ठामा आँच पुगेको र सुरक्षासमेतमा आघात पुगेको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: २० चैत्र २०८० १२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App