४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

एनआइएमबी सञ्चालक समितिको निर्वाचन प्रक्रिया रोक्न आदेश

नेपाल इनभेस्टमेन्ट मेगा बैंक (एनआइएमबी) लिमिटेड सञ्चालक समिति चयनका लागि यही चैत २० गते गर्ने भनिएको निर्वाचन सर्वोच्च अदालतबाट आइतबार जारी अल्पकालीन अन्तरिम आदेशका कारण रोकिएको छ।

उक्त बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीका तर्फबाट चार र सर्वसाधारण शेयरधनीतर्फबाट दुई सदस्य निर्वाचित गर्न यही चैत २० गतेको मिति तोकिएको थियो। निर्वाचन कार्यक्रमअनुसार सञ्चालक पदमा उम्मेदवारी दिएका अन्य उम्मेदवारको योग्यतामा प्रश्न उठाउँदै सञ्चालक पदका उम्मेदवार वरिष्ठ अधिवक्ता एवं प्राध्यापक ताराप्रसाद सापकोटाले निर्वाचन अधिकृतसमक्ष दाबी विरोध निवेदन पेस गरेका थिए। निर्वाचन अधिकृतले दाबी विरोध निवेदनको सुनुवाइ नगरी अयोग्य भनिएका उम्मेदवारको नामसमेत राखेर अन्तिम नामावली प्रकाशन गरेपछि विवाद उत्पन्न भएको थियो।

निर्वाचन अधिकृतले प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावलीमा प्रश्न उठाउँदै न्यायिक निरूपणका लागि प्राध्यापक सापकोटाले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासबाट तत्काल निर्वाचन प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी भएको हो।

अल्पकालीन अन्तरिम आदेश अर्को आदेश नभएसम्मका लागि हुन्छ। त्यसैले अर्को आदेश नहुँदासम्म निर्वाचनका सबै प्रक्रिया रोकिने छ।  सर्वोच्च अदालतमा निवेदकका तर्फबाट निवेदक स्वयं सापकोटा, वरिष्ठ अधिवक्ताहरू गुणानिधि न्यौपाने, उपेन्द्रराज पौडेल, दिनेश त्रिपाठी, गोपालकृष्ण घिमिरे, अधिवक्ताहरू केशरमणि अर्याल, अवतार न्यौपानेसमेतले बहसपैरवी गरेका थिए।

प्रकाशित: १९ चैत्र २०८० १०:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App