नेपालमा सवारी दुर्घटनाबाट दैनिक सात जनाको मृत्यु हुने गरेको देखिएको छ। सवारी दुर्घटनाबारे पछिल्लो तथ्यांकले यस्तो देखाएको हो। केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले शुक्रबार दिएको जानकारीअनुसार दैनिक ६५ वटा सवारी दुर्घटनामा सरदर सातजनाको मृत्यु हुने गरेको छ भने ८३ जना घाइते हुने गरेका छन्।
सवारी दुर्घटनाको यस्तो डरलाग्दो तथ्यांक सार्वजनिक भएकै भोलिपल्ट अर्थात् शनिबार अर्को डरलाग्दो दुर्घटना भएको छ। काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा त्यसमा सवार एकै परिवारका पाँच जनाको मृत्यु भयो।
दुर्घटनामा परी गोरखा नगरपालिका–७ का नौ वर्षीय आगमन नगरकोटी, ७० वर्षीया जुनकिरी रोका, २९ वर्षीया अन्जना रोका, ४१ वर्षीया हरिमाया रोका र ३२ वर्षीय अर्जुन सिमलको मृत्यु भएको मुग्लिनस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा एकजना बेपत्ता छन्। नौ वर्षीय बालकदेखि ७० वर्षीया वृद्धासम्मको मृत्युको दृश्य कारुणिक थियो। तर यो बढ्दो सवारी दुर्घटनाको अन्तहीन शृंखलाको एक कडी मात्र हो। दुर्घटनाका कारण बर्सेनि हजारौंले जीवन गुमाएका छन्। लाखौं घाइते भएका छन्। गम्भीर दुर्घटनाको कारण पत्ता लगाएर न्यूनीकरणको बाटोमा पुग्न राज्य अझै गम्भीर बन्न सकेको छैन।
सडक इन्जिनियर आशिष गजुरेल सरोकारवाला निकायले कामभन्दा पनि कुरा मात्र गर्ने प्रवृत्तिले दुर्घटनामा कमी आउन नसकेको सुनाउँछन्। ठुला दुर्घटनापछि ठुलै कुरा गर्ने र केही दिन बितेपछि बिर्सने प्रवृत्तिले दुर्घटनामा ब्रेक नलागेको उनको भनाइ छ। दुर्घटना न्यूनीकरणमा थुप्रै काम गर्नुपर्छ। तर तत्कालका लागि केही कामको थालनी गरिहाल्नुपर्ने उनी सुझाउँछन्। ‘तत्कालका लागि कम्तीमा यही बजेटमा पहाडी सडकमा बलिया रेलिङ राख्नुपर्यो,’ त्रिशूलीमा बस खसेका समाचार बारम्बार आएपछि उनले प्रतिक्रिया दिए, ‘त्यसो भयो भने कम्तीमा बस नदीमा खस्न पाउँदैन। जनधनको क्षतिमा कमी आउँछ।’
उनले चौबिसै घण्टा सवारीसाधनचाहिँ चल्ने तर सडक सुरक्षा हेर्ने जिम्मेवार निकायको अभाव रहने अवस्था दुःखद भएको उनले सुनाए। ‘एकले अर्कोलाई दोष देखाएर पन्छने चलन छ,’ उनले भने, ‘तर यसको जिम्मेवार पक्ष भनेको राज्य हो।’
गजुरेल नेपालमा हुने अधिकांश सवारी दुर्घटनाका कारण लापरबाही रहेको बताउँछन्। योजनाबद्ध तवरमा काम नगरिने भएक कारण दुर्घटनाको दीर्घकालीन समाधान निस्कन नसकेको उनको बुझाइ छ।
उनले भनेजस्तै सवारी नियमन गर्ने निकाय पनि प्रभावकारी बन्न सकेको छैन। नेपालमा जम्मा ६२ लाख ३८ हजार ३०१ सवारीसाधन दर्ता भएका छन्। ट्राफिक प्रहरीको संख्या २ हजार ७७० छ। अहिलेको हिसाबमा एउटा ट्राफिक प्रहरीले २ हजार २५२ वटा सवारीसाधन हेर्नुपर्ने अवस्था छ। एकातिर प्रहरीको संख्यामा कमी अर्कातिर प्रविधि प्रयोगमा उदासीनता देखिनु दुर्भाग्यपूर्ण रहेको कतिपयको बुझाइ छ।
त्यस्तै नेपालको सडकको अवस्था पनि सन्तोषजनक छैन। कच्ची सडक कमजोर र पक्की सडक साँघुरा र घुमाउरा भएकाले जोखिम उस्तै रहेको देखिन्छ। ‘यही जोखिमयुक्त सडकमा पनि सवारी चलाउन तँछाडमछाड हुन्छ,’ गजुरेलले भने, ‘चलाउनेमा चेतनाको अभाव र सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल भने सवारी दुर्घटनाका मुख्य कारक ‘मानवीय सीमितता’लाई ठान्छन्।
अहिले भएका दुर्घटनामा ९५ प्रतिशत मानवीय त्रुटि देखिनाले मूल कारक नै मानवीय सीमितता भएको उनको बुझाइ छ। ‘यसबाहेक सडक, सवारीसाधन र चालकको अवस्था पनि दुर्घटनाका कारण हुन्,’ उनी भन्छन्, ‘यसलाई नियन्त्रण गर्न हामी आफ्ना तर्फबाट लागिपरेका छौं।’ सडकमा रेलिङ राख्ने कुरा स्वाभाविक भएको बताउँदै यसले कम्तीमा जनधनको क्षति कम हुने उनको बुझाइ छ। ‘पछिल्लो समय हामीले नागढुंगा–मुग्लिन सडकखण्ड र कमला–बागमती सडकखण्डमा सुरक्षाका उच्चतम विधि अपनाउँदै निर्माण अगाडि बढाएका छौं,’ उनी भन्छन्, ‘यसको प्रभावकारिताका आधारमा अन्य सडकमा पनि सडक सुरक्षामा ध्यान दिनेछौं।
’सडकको अवस्था कमजोर हुनु, बाटोको सुरक्षामा आधारहरू मापन नहुनु, अनुमति नै नभएको अर्थात् तयार नै नभएको बाटोमा सवारी चलाउनु, प्राकृतिक प्रकोप र मौसमका कारण निम्तिने विभिन्न समस्याले सवारी दुर्घटना भइरहे पनि त्यसतर्फ गम्भीर ध्यान जान सकेको छैन।
त्यस्तै उनले र नेपालमा सडक सुरक्षाका लागि छुट्टै कानुन नहुनु, कार्यक्रममा लगानी नहुनु र कार्यान्वयनको पाटोसमेत फितलो भएका कारण दुर्घटनाको क्षति बढेको ढकालले सुनाए। ‘चेतनाको पनि अभाव छ,’ उनले भने, ‘यसतर्फ पनि सरोकारवालाको ध्यान जानु जरुरी छ।’
दुर्घटनाको दर बढ्दै गएको अवस्थामा उनले सन् २०३० सम्ममा सवारी दुर्घटना ५० प्रतिशत घटाउने लक्ष्य लिएका छन्। तर सडक विज्ञ भने यसका लागी निकै मिहिनेत गर्नुपर्ने बताउँछन्।
सवारीचालकलाई काउन्सेलिङ गर्नुपर्ने, सडकमा स्पिड मापन यन्त्र जडान गर्नुपर्ने र सडकको अवस्थामा व्यापक सुधार गर्नुपर्ने सडक विज्ञ गजुरेल सुझाउँछन्। ‘कुनै एक पक्षको मात्र होइन, समग्र पक्षको व्यवस्थापनले नै सुरक्षित यात्राको प्रत्याभूति दिलाउँछ,’ उनले भने, ‘होइन भने यात्रु यात्रा त गर्छन् तर गन्तव्य अनिश्चित हुने गर्छ।’
सडकको डाटा हेर्दा नेपालमा ७७ हजार ३०२.६८ किलोमिटर सडक रहेको देखिन्छ। यी सडकका लागि ६२ लाख ३८ हजार ३०१ सवारीसाधन दर्ता भएका छन्। नेपालमा सडक दुर्घटना हुने प्रमुख कारणहरूमा पहिलो सडकको, दोस्रो सवारीसाधनको र तेस्रोमा सवारी चालकको अवस्थालाई लिने गरिन्छ।
त्यस्तै अन्य कारणहरूमा बाटो काट्ने पैदल यात्रु, अन्य सवारी, जनावर पनि दुर्घटनाका कारण बन्ने गरेको पाइन्छ। त्यसैले सवारी दुर्घटना कम गर्न कुनै एक पक्ष मात्रै नभएर यसमा सरकार, निजी क्षेत्र तथा आम जनताको साथ र सहयोग आवश्यक पर्ने गजुरेलको बुझाइ छ।
त्यसबाहेक प्रायः ग्रामीण भागका सडक निर्माण गर्दा इन्जिनियर प्रयोग नगरिनु र त्यस्ता सडकमा बिनाअनुगमन सवारी सञ्चालनको अनुमति दिँदा जोखिम बढ्दै गएको उनको बुझाइ छ। अझ त्यसमा पनि थोत्रा गाडी कमजोर सडकमा गुड्दा थप जोखिम हुने गरेको उनी सुनाउँछन्। ‘सहरबाट विस्थापित पुराना गाडी दूरदराजका कमजोर सडकमा छतभरि मान्छे राखेर कुद्छन्,’ गजुरेलले भने, ‘यो नै सडक दुर्घटनाको जोखिमको गतिलो उदाहरण हो।’
प्रकाशित: १९ चैत्र २०८० ०७:१८ सोमबार