९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

फोहरको वर्गीकरण गरी बन्चरेडाँडामा कम विसर्जन गरिने

सहरी विकासमन्त्री धनबहादुर बुढाले काठमाडौं उपत्यकाको फोहरमैलाको वर्गीकरण गरी बन्चरेडाँडास्थित ल्याण्डफिल साइटमा जाने फोहरको परिमाणलाई कम गर्ने गरी स्थानीय तहसँग समन्वय गर्ने बताएका छन्।

मन्त्रालयमा आज भएको बैठकमा मन्त्री बुढाले बन्चरेडाँडामा फोहर विसर्जन गरिरहेका सबै स्थानीय तहलाई यथाशीघ्र फोहरमैला वर्गीकरण गरी ल्याण्डफिल साइटमा जाने फोहरको परिमाण कम गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन कार्ययोजनासमेत कार्यान्वयन गर्न पनि मन्त्री बुढाले निर्देशन दिएका छन्।

दीर्घकालीन कार्ययोजना अन्तर्गत ल्याण्डफिल साइट प्रभावित क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षमा आवश्यक बजेट तथा कार्यक्रम विनियोजनमा प्राथमिकता दिन सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरिने मन्त्री बुढाले बताए।

बैठकले बन्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले घोषणा गरेको आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिन र वार्ताबाट समाधान खोज्न समेत आग्रह गरेको छ।

बैठकले फोहरमैला व्यवस्थापनका सन्दर्भमा नेप वेष्टको प्रस्तावमाथि कानुनबमोजिम शीघ्र निर्णय गरी टुङ्ग्याउन लगानी बोर्डलाई अनुरोध गर्ने निर्णय गरेको मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिए।

प्रकाशित: १४ चैत्र २०८० २२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App