२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गोली लागेको अवस्थामा मृत भेटियो बाघ, एउटै क्षेत्रमा डेढ महिनामा ४ वटा बाघ मरे

पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएका वनमा विश्वकै दुर्लभ वन्यजन्तु पाटे बाघ मर्ने र मारिने क्रम बढ्न थालेको छ। मंगलबार मात्रै एउटा बाघ गोली लागेको अवस्थामा मृत फेला परेको स्थानीय वन प्रशासनले जानकारी दिएको छ।

उक्त बाघ कोल्हवी नगरपालिका–२ अमाव महादेवस्थान बारामा मृत अवस्थामा भेटिएको हो। योसहित निकुञ्जसँग जोडिएका वन क्षेत्रमा मरेका र मारिएका बाघको सङ्ख्या ४ पुगेको छ। पछिल्लो यी घटनाले दुर्लभ बाघको संरक्षणमा चुनौती थपेको छ। 

मंगलबार भेटिएको बाघको उमेर दुई वर्षको हुनसक्ने अनुमान वन प्रशासनको छ। बाघको कन्चटमा घाउ लागेको देखिएकाले उसलाई गोली हानिएको हुनसक्ने आंकलन प्रशासनले गरेको हो।

कोल्हवी सब–डिभिजन वन कार्यालय अन्तर्गतको वन क्षेत्रमा मृत अवस्थामा फेला परेको पोथी बाघको कन्चटमा घाउ देखिएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले पुष्टि गरेका हुन।

योसँगै विगत डेढ महिनाको अन्तरालमा यस क्षेत्रमा ४ वटा बाघ मरेको उनले जानकारी दिएका छन्। गत फागुन २२ मा निजगढ नगरपालिका–४ मा पोथी बाघ, फागुन १६ गते पर्साको सखुर्वा प्रसौनी गाउँपालिकाको मनवा भन्ने स्थानमा भाले बाघ, माघ १९ गते सखुवा प्रसौनी– २ मा पोथी बाघ मरेको अवस्थामा भेटिएका थिए।

पर्सा राष्ट्रिय निकुञ्जका रेन्जर जयराम न्यौपानेले डेढ महिनाको अन्तरालमा पर्सा राष्ट्रिय निकुञ्ज र यससँग जोडिएका वनमा ४ वटा बाघ मरेको अवस्थामा भेटिएको पुष्टि गरेका हुन। उनका अनुसार मृत भेटिएका बाघमध्ये २ वटा पोथी र २ वटा भाले छन्।

पर्सा निकुञ्जको वन क्षेत्रबाहेक यससँग जोडिएका वरपरका वनमा बाघको गतिविधि पछिल्ला वर्षहरूमा बढेको निकुञ्ज प्रशासनले जानकारी दिएको छ।

त्यसैले यस क्षेत्रमा मानव र वन्यजन्तुबिचको द्घन्द पछिल्ला वर्षहरूमा बढेको छ। बाघको आक्रमणबाट मान्छे मारिने र मान्छेले बाघ मारिरहेका घटनाहरू बढ्न थालेका छन्। गत सोमबार मात्र पर्साको ठोरीमा बाघले एक महिलाको ज्यान लिएको थियो।

पर्सा निकुञ्ज ६ सय २७ दशमलव ३९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस निकुञ्जमा सन २०२२ को गणनामा ४१ वटा बाघ भेटिएका थिए। यो निकुञ्ज बाघको तेस्रो ठुलो वासस्थानको रूपमा परिचित भइसकेको छ।

चितवन, बर्दियापछि बाघको धेरै सङ्ख्या पर्सामा छ। यसपछि शुक्लाफाँटा र बाँके निकुञ्ज पनि बाघका पाइने संरक्षित क्षेत्रमा छन्। यी क्षेत्र पनि बाघको नयाँ वासस्थानको रूपमा संरक्षण भइरहेको छ।

सन् २०२२ को गणना अनुसार उल्लेखित संरक्षित क्षेत्रहरूमा गरेर बाघको कुल सङ्ख्या ३५५ छ।

प्रकाशित: ७ चैत्र २०८० १४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App