२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बन्न सकेन पालिकासँग जोडिएको जीर्ण पुल

बाढीले क्षत् विक्षत् पारेकाे हिमा नदी पुल। तस्बिर : नागरिक

रजमा ओड जुम्लाको सिंजा गाउँपालिका– २ चुलेल गाउँकी बासिन्दा हुन्। उनलाई हिमा नदीमाथिको जीर्ण अवस्थामा रहेको पुल ओहोरदोहोर गरिरहनुपर्छ। त्यतिबेला उनलाई डर लाग्छ। गाउँपालिकामा सेवा लिन जाँदा होस् या दैनिक उपभोग्य सामान खरिदका लागि पसल जान। उनका लागि यो पुलको विकल्प छैन।

दुई वर्षअघि कात्तिकमा परेको अविरल वर्षाका कारण आएको बाढीले पुल क्षत् विक्षत् पारिदियो भने पुलवरिपरिको भाग कटान गर्‍यो।। पुल त नदीका बीचमा ठिंङ उभिएजस्तो मात्र देखिन्छ। खालीजस्तो भागमा काठको फड्के हालिएको छ।

‘यस्तो पुलबाट न भारी बोकेर ओहोरदोहोर गर्न सकिन्छ, न त ढुक्कका साथ वारपार गर्न सकिन्छ’, रजमाले भनिन्, ‘स्थानीय सरकार धराप पुलसँगै जोडिएको छ, तर उसले जनसरोकारसँग जोडिएको पुल देखेन। हाम्रो समस्या बुझेन।’

स्थानीय जनप्रतिनिधि र कर्मचारीले दैनिक फड्केबाट आउजाउ गरेर पनि यसप्रति कुनै चासो नदेखाएकोमा आफूलाई दुःख लागेको उनले बताइन्। भनिन्, ‘हामी सर्वसाधारणका मर्का को बुझ्न्या ?’

पुल बनाइदिनका लागि स्थानीय सरकारसँग पटकपटक माग गर्दा पनि सुनुवाइ नभएको सर्वसाधारणले बताए। उनीहरू भन्छन्, ‘बाढीले पुल क्षतविक्षत् पारिदिएपछि पुलको अवस्था फेरिन सकेको छैन।’

हिमा नदीमा आएको बाढीले पुल बताएपछि अहिले डेढदुई घन्टा हिँड्नुपर्ने बाध्यता आइपरेको स्थानीय कृष्णप्रसाद चौंलागाईंले बताए। उनले भने, ‘हिउँदमा नदीको बहाब कम हुने भए पनि अत्यधिक चिसोले नदी तर्न सकिँदैन। बर्खामा भेलबाढी आउने भएकाले नदी तर्ने सम्भावना छैन।’ चौंलागाईं भन्छन्, ‘बाढीले गाडी चढेर ओहोरदोहोर गर्ने सपना तुहाइदियो।’

आर्थिक वर्ष २०७८-८९ मा गाउँपालिकाले ५२ लाख रुपैयाँ निकासा गरेर पक्की पुल बनाएको सिंजा– २ का पूर्व वडाध्यक्ष नविन शर्माले बताए। उनले भने, ‘गत कात्तिक महिनामा आएको बाढीले बगाएपछि पुलको यस्तो अवस्था आएको हो। पुल मर्मत गरेर न सञ्चालन गर्न सकिने अवस्थामा छ, न त नयाँ पुल बनाउन सकिने अवस्था छ।’  

सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल अघिल्लो सरकारको गैरजिम्मेवारीले पुलको यस्तो अवस्था निम्तिएको बताउँछन्। ‘पुल बनाउने क्रममा विगत, वर्तमान र भविष्य केलाएर बनाउनुपर्नेमा त्यसो गरिएन। पालिकाको ५२ लाख रुपैयाँको लगानी बालुवामा पानीजस्तै बन्यो।

पालिका अध्यक्ष धितालले हिमा नदीमा पक्की पुलका लागि डिपीआर बनिसकेको बताए। सिंजालीहरूको नदी तर्नुपर्ने कष्टकर समय सकिन लागेको उनले बताए।

प्रकाशित: १ चैत्र २०८० १२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App