छोरीलाई ‘लक्ष्मी’ पनि मानेर सम्मान गर्ने चलन हाम्रो परम्पराको सुन्दर पक्ष हो। तर विवाहको समयमा यही ‘लक्ष्मी’ ले नपुगेर उनको घरपरिवारलाई समेत दाइजोका नाममा लुट्ने क्रूर परम्परा अझै कायम छ। यसको पछिल्लो उदाहरण वीरगन्जमा देखिएको छ।
केटी पक्षले सबै कुरा दिँदादिँदै पनि दाइजोमा सुनको सिक्री नपाएको निहुँमा सोमबार वैवाहिक कार्यक्रम नै भाँडियो। विवाह नै रद्द गर्ने बेहुलासहित पाँचजनालाई मंगलबार पर्सा प्रहरीले नियन्त्रणमा लिए पनि सामाजिक कुरीतिका थुप्रै पात्र अझै नियन्त्रणबाहिर छन्।
कन्या पक्षले ऋण–धन गरेर बेहुला पक्षको सबै माग पूरा गरे पनि लालचको घडा नभरिएपछि सुनको सिक्री नपाएको निहुँमा बन्दै गरेको पवित्र सम्बन्ध भाँडिएको थियो। वीरगन्ज महानगरपालिका– २४, रामगढवामा सोमबार राति वैवाहिक कार्यक्रम चलिरहेकै समयमा सिक्री नपाएको भन्दै बेहुला पक्षले विवाह नगर्ने धम्की दिएको थियो। त्यसपछि वडा प्रहरी श्रीपुरले बेहुलासहित पाँचजनालाई नियन्त्रणमा लिएको हो।
दाइजोमा सुनको सिक्री नपाएको निहुँमा बेहुला पक्षले वीरगन्ज– २४, रामगढवाका सुखल साहकी छोरी रमिता कुमारीको बिहे भाँड्नु सामान्य घटना होइन। रमिताको बिहे बाराको कलैया उपमहानगरपालिका– ४ सिनेमाचोकका उमेश साहसँग हुँदै थियो। भनेजति दाइजो बेहुली पक्षले पुर्याएको थियो।
विवाहमण्डपबाट सुनको सिक्री नभए बिहे अघि नबढाउने अड्डी बेहुला पक्षले राख्यो। सिक्री नपाएको भन्दै बेहुला पक्ष बिहे कार्यक्रम छाडेर हिँड्यो, बिहे भाँडियो। ‘यो वीरगन्जकी सुखल साहकी छोरी रमिताको मात्र कथा होइन,’ मधेस प्रदेशका पूर्वमहान्यायाधिवक्ता दीपेन्द्र झा भन्छन्, ‘दहेजको नाममा समाजमा सुषुप्त अवस्थामा रहेका विकृतिको पछिल्लो रमिता हो यो।’
बार्गेनिङ गरेर मागिने दहेज अर्थात् दाइजो मानवताविरुद्धको अपराध भएको बताउँदै उनले दोषीलाई कडाभन्दा कडा सजाय दिनुपर्ने धारणा राखे। ‘अहिले पक्राउ परेकालाई कम्तीमा ५ वर्ष जेल सजाय हुनुपर्छ भन्ने मेरो मान्यता छ,’ उनले भने, ‘यस्ता घटनालाई ढिसमिस पारिए समस्या झन् बल्झिन्छ।’
समाजमा दाइजोको समस्या नयाँ होइन। विगतमा पनि दाइजोका कारण थुप्रै विवाह भाँडिएका छन्। त्यस्तै कम दाइजो ल्याएका कारण हत्या भएका घटना पनि सार्वजनिक भएका छन्। विगतमा तराईमा दुलाहाको मूल्य (दाइजो पाउनुपर्ने रकम) नै तोकिएको समाचार पनि आएको थियो।
जस्तो कि दुलाहा डाक्टर भए उसको मूल्य ५० लाख, इन्जिनियर भए ४० लाख, वकिल भए ३० लाख, शिक्षक भए २० लाख। सामान्य भए पनि उसको मूल्य तोकिन्थ्यो। किनकि ऊ केटा हो। तर पछिल्लो समय यस्ता प्रवृत्तिमा केही कमी आएको टिप्पणी कतिपयले गरे पनि त्यो साँचो नरहेको झा बताउँछन्
‘कमी भएको होइन, बरु यसको स्वरूपमा परिवर्तन भएको छ,’ झाले भने, ‘त्यसैले यो कुप्रथाविरुद्ध सिंगो समाज एक हुनु जरुरी छ।’ उनको भनाइमा सहमत छिन् अधिकारकर्मी तथा अधिवक्ता रेखा झा। सिधै पैसा माग गरिने तिलकको स्वरूप परिमार्जित हुँदै दाइजोमा परिणत हुन थालेको उनी बताउँछिन्। ‘पहिला तिलक भनेर सिधै केटाका अभिभावकले पैसा बुझ्थे,’ उनले भनिन्, ‘अहिले यस्तोमा कमी आएको छ तर दाइजोको बहानामा सम्पत्ति माग्ने काम रोकिएको छैन।’
तिलकको यो परिवर्तित स्वरूपमा हजारौं चेलीले यातना झेल्दै गरेको र सयौंले ज्यान गुमाउनुपरेको उनी बताउँछिन्। ‘विवाहमा दाइजोका लागि बार्गेनिङ गर्ने लालचीले जीवनभर ससुरालबाट अपेक्षा गरिरहन्छ,’ उनी भन्छिन्, ‘त्यो पूरा भएन भने बिहे भएको वर्षपछि पनि दाइजोको नाममा यातना दिन सुरु हुन्छ।’
वीरगन्जको घटनापछि सामाजिक सञ्जालमा केटा पक्षको निकै आलोचना भएको छ। दाइजोलाई समाज डस्ने सर्प भन्दै एक दिन यसले सबैलाई डस्ने धारणा सामाजिक सञ्जालमार्फत आइरहेका छन्। ‘दहेज ऐसन साप ह, एक दिन सबको डसेला,’ सामाजिक सञ्जालमा नगेन्द्र राउत लेख्छन् , ‘सब मिल्के यी सापको मारेको पडी।’
त्यस्तै दाइजो प्रथाले छोरीप्रति नै अन्याय गरेको कतिपयको बुझाइ छ। ‘दाइजोका कारण विवाहपछि मात्र होइन, जन्मनुअघि पनि छोरीको हत्या हुने गरेको छ,’ सामाजिक सञ्जालमा विनय कुशवाह लेख्छन्, ‘छोरीलाई माया गर्ने हरेक बाबुले दहेज प्रथाको विरोध गर्नु जरुरी छ।’
इन्सेकको वार्षिक प्रतिवेदन–२०८० अनुसार मधेस प्रदेशमा एक वर्षको अवधिमा दाइजोसम्बन्धी ४५ घटना भएका छन्, जसमा सातजनाको ज्यान गएको छ। यी त केही सार्वजनिक घटनाका आधारमा संकलित तथ्यांक मात्र हुन्। अधिकारकर्मी झा कानुनी समस्याका कारण यस्ता सयौं घटना गुपचुप रहने गरेको बताउँछिन्। ‘कानुनले तिलक दिनेलिने दुवै दोषी भनेको छ,’ उनी भन्छिन्, ‘यस कारणले घटना सार्वजनिक हुँदैनन्।’
तिलक तथा दाइजोका कारण समाजमा विकृति फैलाउनेलाई कडा कारबाही गर्नुपर्ने दीपेन्द्र झा बताउँछन्। ‘अपराधीलाई कडा कारबाही गर्नु जरुरी छ,’ उनी भन्छन्, ‘यसो भयो भने यसखाले आपराधिक काममा केही कमी आउन सक्छ।’
तिलक अथवा दाइजोको समस्या तराईमा मात्र सीमित छैन। राजधानी काठमाडौंलगायत सहरमा पनि यसका विभिन्न स्वरूप भेटिने गरेका छन्। ‘सिधै नमागे पनि लमीमार्फत माग्ने गरिन्छ,’ भक्तपुर लोकन्थलीका अनुप खड्का भन्छन्, ‘केटा पक्षका कसैले गाडी त कसैले मोटरसाइकलको चाहना राखेको भेटिन्छ।’
उनले भनेजस्तै पछिल्लो समय तराई होस् या पहाड सबैतिर दुलाहा पक्षले मोटरसाइकलको माग बढी गरेको पाइएको छ। केही समयअघि पोखरामा त मोटरसाइकललाई नै दुलही बनाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो। ‘त्यो तस्बिरबाटै आकलन गर्न सकिन्छ, अझै पनि दुलहीभन्दा बढी दाइजोलाई महŒव दिने समाज बाँकी छ,’ खड्काले भने, ‘यसबाट बुझिन्छ कि लालचको कुनै भूगोल र जात हुँदैन।’
प्रकाशित: १ चैत्र २०८० ०७:०७ बिहीबार