२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कर्णाली पुल खुल्न अझै कम्तीमा ३ दिन लाग्ने

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलाली र बर्दिया जोड्ने चिसापानीको कर्णाली पुलमा आगलागी पछि सवारी साधन ओहोर दोहोर बन्द गरिएको छ।

सोमवार आगलागीबाट भएको क्षतिका कारण बन्द गरिएको सवारीसाधन सुचारु हुन अझै केही दिन लाग्ने भएको छ। सोमवार आगलागीले क्षति भएपछि प्राविधिकको जाँच पछि मात्र सवारीसाधन सुचारु गर्ने भनेर रोक लगाइएको थियो। सोमवारदेखि कर्णाली पुल बाट सवारीसाधन ओहोरदोहोर पूर्ण बन्द गरिएको राजमार्ग सुरक्षा एवं ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक राजीव बस्नेतले बताए।

पुलमा सवारीसाधन ओहोरदोहोर बन्द भएपछि कैलालीको टिकापुरबाट बर्दियाको राजपुर हुलाकी राजमार्ग हुँदै सवारीसाधनहरू ओहोरदोहोर गरिरहेका छन्।

बुधवार प्राविधिक टोलीले कर्णाली पुलमा आगलागी बाट भएको क्षतिको जाँच गरेका थिए। प्राविधिक टोलीको जाँच पछि कम्तीमा ३ दिन सम्म सवारीसाधन सुचारु गर्न नसकिने भनेर पत्र आएको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए। यस अघि सोमवार यथाशीघ्र कर्णाली पुलमा आवागमन सुचारु गर्न निर्देशन दिएको बताएका थिए। तर पुलमा क्षतिको जाँच गर्न पनि दुई दिन पछि मात्र प्राविधिक टोली आएको छ। ‘३, ४ दिन सम्म बन्द राख्ने भनेर पत्र आएको छ,’उनले भने।

सुदूरपश्चिमलाई देशका अन्य भाग सँग जोड्ने पूर्वपश्चिम राजमार्गको पुलमा सवारीसाधन आवतजावत बन्द भएर यहाँको जनजीवन कष्टकर हुदाँ पनि खुला गर्न ढिलासुस्ती भएको स्थानीयको गुनासो छ। आगलागी भएर सवारीसाधन ओहोरदोहोर बन्द भएको दुई दिन पछि मात्र प्राविधिक टोलीले जाँच गर्नु र अझै ३, ४ दिन सम्म खुल्ने अनिश्चित हुनुमा राज्यको चरम लापरबाही भएको स्थानीयले दुःखेसो पोखेका छन्।

प्राविधिकले जलेको केबुलको तार लगायतको क्षति भएको भागको अध्ययन गरेको र क्षति भएकोलाई मर्मत गर्न केही समय लाग्ने बताएका छन्। विज्ञहरूको सँग सल्लाहमा क्षति भएको ठाउँमा मर्मत गरिने उनीहरूको भनाई छ। आवश्यक समान जुटाउन अलि समय लाग्न सक्ने उनीहरूको भनाई छ।

सुदूरपश्चिमका धनगढी, महेन्द्रनगर लगायत ९ जिल्लाबाट काठमाडौँ लगायत विभिन्न ठाउँमा ओहोरदोहोर गर्ने सयौँ सवारीसाधन र हजारौँ यात्रु कर्णाली पुल बन्न हुँदा प्रभावित भएका छन्।

वीरगन्जबाट कञ्चनपुर तर्फ आइरहेको लाइटर बोकेको ना ५ ख ५२९७ नम्बरको गुडिरहेको ट्रकमा सोमवार साढे ४ बजेतिर एक्कासि आगलागी भएको थियो। गुडिरहेको लाइटर बोकेको ट्रकमा सोमवार एक्कासि आगलागी हुँदा आगो पुलको लठ्ठामा सल्केको थियो। आगोले ट्रक पुरै जल्दा ट्रक तल रहेको पुलको भागमा समेत क्षति हुन पुगेको थियो।

आगलागीले भएको क्षतिका कारण पुलमा सवारीसाधन चलाउन बन्द गरिएको थियो। नेपालको सबैभन्दा लामो पुल मध्येको एक रहेको कर्णाली पुलले सुदूर पश्चिम प्रदेशलाई देशको अन्य भाग सँग जोड्ने गर्दछ। बीस २०५१ सालमा बनेको कर्णाली पुल तार पुल हो। यसको बिचमा ठूलो खम्बा छ र यसमा स्टिलका तारहरू बाँधेर ट्रस लाई अड्याइयाको हुन्छ। यो सय मिटर लामो तथा १० मिटर चौडाइ छ।

बिचको खम्बाको एक भाग तिर ३ सय २५ मिटर छ भने अर्को भाग तिर १ सय ७५ मिटर छ। यो पुलको  निर्माणमा ३ हजार ८ सय ७० टन स्टिल प्रयोग गरिएको बताइएको छ । यसको निर्माण जापानको कावासाकी हेवी इन्डस्ट्रिजले गरेको हो। कर्णाली पुल बन्नु अघि सुदूरपश्चिमका बासिन्दा काठमाडौँ लगायतका देशका अन्य भूभागमा ओहोरदोहोर गर्न भारतको बाटो प्रयोग गर्ने गरेका थिए। जीर्ण बन्दै गइरहेको अवस्थामा कर्णाली पुलमा आगलागीले पनि क्षति पुगाएपछि स्थानीय चिन्तित बनेका छन्। 

प्रकाशित: ३० फाल्गुन २०८० १९:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App