१० असार २०८१ सोमबार
image/svg+xml
समाज

बेलकामा अवैध दर्जन सालका रुख फडानी

तस्कर समुहले काटेको चिरान काठ स्थानीयको घरछेउमा सुरक्षित गरेको अवस्थमा। तस्बिर : नागरिक

उदयपुरको बेलका नगरपालिकास्थित राष्ट्रिय तथा सामुदायिक वन समूहको जंगल क्षेत्रमा दर्जन हाराहारी सालका रुख अवैध रुपमा फडानी गरी बिक्रीवितरण भइरहेको पाइएको छ। बेलका ६ बबलास्थित जङ्गलमा जताततै काँचो सखुवाका रुख ढालेर चिरान र गोलिया बनाई बेच्दै आएको अवस्थामा वन गस्ती टोलीले फेला पारेको हो।

रुखको अवैध कटान र बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटेको डिभिजन वन कार्यालय उदयपुरको टोलीले गत बिहीबार एक युवालाई रंगेहात समातेको थियो।

निमित्त डिभिजन वन अधिकृत रामभगत यादव नेतृत्वको टोलीले घटनास्थलमा जताततै रुख ढालेर गोलिया काठ चिरान गरिराखेको अवस्थामा भेटेपछि सोही वडाका ३१ वर्षीय हिरण विश्वकर्मालाई पक्राउ गरेको थियो।

यादव नेतृत्वको टोली विश्वकर्मालाई नियन्त्रणमा लिएर फर्केको तर डिभिजन र सब डिभिजन मैनामैनीको संयुक्त गस्ती टोलीले अहिले पनि सर्च अप्रेसन जारी राखेको छ। सो क्रममा शुक्रबार र शनिबार पनि थप ढालिएका रुख, गोलिया र चिरान काठ बरामद गरेको छ। डिएफओ यादवका अनुसार अहिलेसम्म नौवटा सालका रुख ढालेको, गोलिया बनाई  चिरान काठ फेला परिसकेको छ।

घना जंगल र अप्ठेरो भीरका बडेमानका सखुवाका रुख ढालेर गोलिया बनाई चिरान गर्ने गरेको भेटिएको उनले बताए। हालसम्म ५ ट्र्याक्टर चिरान काठ सदरमुकाम ल्याइसकिएको छ। हातहतियारसहितको वन गस्ती टोलीलाई तीन दिनयता जंगलमै राखेर सर्च अप्रेसन कार्य जारी राखिएको छ। यादवले हालसम्म चिरान काठ ५ ट्र्याक्टर संकलन भएको तर अझै थप भेटिने सम्भावना रहेको बताए।

बरामद चिरान काठको परिमाणा अनुमानित ४ सय क्युफिटभन्दा माथि रहेको तर अरु पनि भेटिन सकिने उनले बताए। काठको यकिन परिमाण भने नापजाँचपछि मात्र गर्ने उनले बताए।

 काठ ल्याउने क्रम जारी रहेको तथा शुक्रबार र शनिबार शिवरात्रि र सार्वजनिक विदा परेकाले काठको नामजाँच गर्न बाँकी रहेको छ। यादवका अनुसार चिरान काठ सजिलो ठाउँमा राखेको भए पनि गोलीया काठ अत्यन्त भिरालो ठाउँमा रहेकाले त्यही आरा लगेर चिरान गरेपछि मात्र ल्याउन सकिने अवस्था छ।

शुक्रबार डिभिजन सहायक वन अधिकृत राजकुमार श्रेष्ठ नेतृत्वको टोली सर्च अपरेसनमा परिचालन भई आसपासका सबै क्षेत्रमा ढालिएका रुख र चिरान काठ तथा ठुटा र जरा नापजाँच गरेको उनले बताए। टोलीले काठसहित घटनास्थलबाट बञ्चरो र काठ चिर्ने आरासमेत दसी प्रमाणका रुपमा फेला पारेको छ। बरामद काठ ट्र्याक्टरबाट ढुवानी गरी सुरक्षित ठाउँमा राख्दै सदरमुकाम ल्याउने प्रबन्ध मिलाइएको छ।

ढालेका रुख, चिरान र ठुटा तथा जरासमेतको सबै विवरण प्राप्त भएपछि मात्र क्षतिको बिगो मूल्यांकन गरी अपराधमा संलग्नहरुको खोजतलास थालिने छ। पक्राउ विश्वकर्माविरुद्ध बयान लिने काम भइरहेको र वन ऐन् २०७६ बमोजिम कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ। फँडानी, चिरान र बिक्रीवितरणमा संलग्न अन्यमाथि पनि सोही प्रकृतिको कारबाही हुने डिएफओ यादवले बताएका छन्।

प्रकाशित: २७ फाल्गुन २०८० १०:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App