२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बिहेको २५ वर्षपछि सन्तान काखमा पाउँदा...

धर्मपुत्र पाएको दम्पती। तस्बिर: भीम/नागरिक

इलामको माई नगरपालिका–१०, चिसापानीका शिक्षक ठहरसिंह बस्नेत र उनकी पत्नी विष्णुमाया चौंलागाईंको बिहे भएको २५ वर्ष बित्यो। तर, कुनै सन्तान भएनन्।

बिहेको अढाई दशकपछिको एक दिन (बिहीबार) भने उनीहरूको मुहारमा बेग्लै खुसी छचल्किएको देखियो। जब, उनीहरूको हातमा करिब दुई महिने शिशु छोराका रूपमा राखियो, दम्पती औधी रमाए, आँखामा हर्षका आँसु टिल्पिलाए।

विष्णुमायाले काखमा लिएर छोराको अनुहार हेरिन्। ठहरसिंहले पत्नी र छोराको अनुहार नियाले। दम्पती मुस्कुराए। यो दृश्य हेरिरहेका सहभागीबीच फोटो खिच्ने होडबाजीझैँ भयो। पालैपालो सबैले फोटो, भिडियो खिचे। कुनै नयाँ घटनाका रूपमा सामाजिक सञ्जालमा समेत पोस्ट्याइदिए।

गत पुस अन्तिम साता माइजोगमाई गाउँपालिका–३, गिद्देभिरको ढुङ्गाको च्यापमा बेवारिसे अवस्थामा फेला परेका नवजात शिशु गाउँपालिकाले बस्नेत दम्पतीलाई प्रदान गरेको हो।

फेला परेयता इलाम अस्पतालमा रहेका शिशुलाई कानुनी प्रक्रिया पूरा गरी अस्पतालबाटै धर्मपुत्रका रूपमा बस्नेत दम्पतीलाई दिएको छ। शिशु लिँदै गर्दा बस्नेत दम्पतीले खुसीसाथ १४ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। र, बेवारिसे अवस्थामा भेटिएको शिशुलाई पालिकाले कार्यविधि नै बनाएर अभिभावकलाई कानुनी रूपमा जिम्मा लगाउने इलामको यो पहिलो घटना पनि हो।

‘जीवनको पहिलो खुसी पाएको छु,’ सम्झौता पत्रमा हस्ताक्षर गर्दै आजै बाबु बनेका ठहरसिंहले भने, ‘हामी यति हर्षित भएका छौं कि, व्यक्त गर्ने कुनै शब्द छैन। यो शिशु जिम्मा बुझ्दै गर्दा हामीले गरेका लिखित–अलिखित सबैखाले प्रतिबद्धता पूरा गर्नेछौं।’

गाउँपालिकाका अनुसार बस्नेतका तीन दाजु–भाइमा पनि तीनै जनाका सन्तान छैनन्। ठहरसिंह दम्पतीले सन्तानोत्पादनबारे चिकित्सकसँग पनि सल्लाह नलिएका होइनन्। तर, डाक्टरले प्रमाणित गरिदिए–उनीहरू दुवैजनाबाट कुनै सन्तान जन्मिँदैनन्।

बिहेपछि सन्तान, घर–परिवार, नातागोता नेपाली समाजको परम्परा र प्राकृतिक पक्ष पनि हुन्। बस्नेत र चौंलागाईंको पनि बिहेको सामाजिक योजना अरूको भन्दा फरक थिएन। तर, यो योजना पूरा हुन नपाएकामा उनीहरूमा रहेको चिन्ता अब खुसीमा परिणत भएको छ।

माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले बेवारिसे शिशु फेला परेपछि त्यसको कार्यविधि नै निर्माण गरी पालिकाले अरूभन्दा फरक काम गरेको बताए।

‘हामीले बेवारिसे शिशु व्यवस्थापनमा बेग्लै कार्यविधि बनाऔं, अदालतबाट समेत सुझाव लिएर कानुनी रूपमा नै ती शिशु हस्तान्तरण गरेका छौं,’ उनले भने, ‘यो शिशु जिम्मा लिन पालिकामा ११ दम्पतीले निवेदन दिएका थिए। सबैभन्दा उपयुक्त आधारसहितको निवेदकलाई शिशु प्रदान गर्ने निर्णय कार्यपालिका बैठकले गरेको हो।’

गाउँपालिका उपाध्यक्ष प्रविना राईले शिशुलाई राम्रोसँग हेरचाह र पालनपोषण गर्न बस्नेत दम्पतीलाई आग्रह गरिन्। ‘यी शिशुको पालनपोषण, शिक्षा–दीक्षामा कमी हुनेछैन भन्ने गाउँपालिकाको विश्वास छ,’ उनले भनिन्, ‘हामी बेला–बेला अनुगमन पनि गर्नेछौं।’

इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रभु साहले शिशुको स्वास्थ्य राम्रो रहेको बताए। उनले शिशुलाई बाहिरी संक्रमणबाट बचाउन र स्वास्थ्यमा ख्याल राख्न उनका नवअभिभावकलाई आग्रह पनि गरे।

अन्दाजी तीन–चार दिनको जस्तो देखिने शिशु (छोरा) स्थानीयले घाँस काटेर फर्किनेक्रममा फेला पारेका थिए। प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरेको थियो।

प्रकाशित: २४ फाल्गुन २०८० १६:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App